२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

निषेधाज्ञाले फेरि निर्माण क्षेत्र प्रभावित हुने

पूर्वाधार निर्माणको मुख्य सिजनमा नै सरकारले कोभिड १९ को संक्रमण नियन्त्रण तथा नियन्त्रणको लागि गरिएको निषेधाज्ञाले पूर्वाधार निर्माणको काम फेरि प्रभावित हुने भएको छ। नेपाल निर्माण व्यवसायी महासंघले बुधबार एक विज्ञप्ति जारी गरी निषेधाज्ञाको कारणले पूर्वाधार क्षेत्र फेरि जटिल मोडमा पुगेको जनाएको छ। महासंघका महासचिव रोशन दाहालले कोभिड १९ को कारण गत वर्ष झैं यसपटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण म्यादको समस्या अझै पेचिलो हुँदै जाने बताए।  

‘यसअघि नै वैज्ञानिक ढंगले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायी अहिलेको विषम अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको छ,’ उनले भने, ‘तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनाहरूमा व्यवहारिक रूपमा म्याद थप गरी व्यवसायीलाई राहत दिन  

अनुरोध गर्दछौं।’ महासंघले यसअघिको लकडाउन र त्यसपछिको बर्खा, चाडपर्व लगायत कारणले गर्दा व्यवसायीले गत वर्ष र यस वर्षसमेत निर्माण कार्य गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय (कन्सट्रक्सन होलिडे) मानी हाल सञ्चालित सम्पूर्ण निर्माण कार्यको लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनुपर्ने महासंघको माग छ।  

यसैगरी, निषेधाज्ञा अवधिमा सार्वजनिक निकायले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियामा निर्माण व्यवसायी सदस्यहरू एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेन्टी लगायत कागजात तयार गर्न नसकिने भएकोले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरी उक्त सबै बोलपत्रको म्याद कम्तीमा १५ दिन थप गरी दिन महासंघले जोडदार माग गरेको छ। कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीले पाउनुपर्ने अर्बौं रूपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजस्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रूपले धराशयी भएको महासंघले जनाएको छ।  

प्रकाशित: १६ वैशाख २०७८ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App