२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

डेढ करोडमा डेढ लाखलाई खानेपानी

भूकम्पपछि गाउँमा रहेको पानीको मुहान सुकेपछि टाढाबाट ल्याएर जोहो गरिरहेका गजुरीको पीडावासीले घरघरमा खानेपानी पाएका छन्। खानेपानीकै जोहो गर्न घन्टौं खर्चनुपर्ने स्थानीय बस्तुभाउ, सरसफाइ तथा खेतीकिसानीका लागिसमेत समस्या भोग्दै आइरहेका थिए। खानेपानीको चरम समस्या भोग्नुपरेपछि गजुरी गाउँपालिका–५ र ६ स्थित पीडाका स्थानीयले विभिन्न संस्थाको सहयोगमा आफैं श्रमदानमा जुटेर गाउँका घरघरमा खानेपानी पुर्‍याएका हुन्।  

वर्षौंदेखि पानीको हाहाकार रहेको गाउँमा घरघरै धारोमा पानी आएपछि स्थानीय खुसी भएका छन्। गजुरी गाउँपालिका–५ र ६ का गाउँबस्तीमा अहिले घरघरमै धाराको पानी झरेको छ। ‘गाउँमा भएका पानीको मुहान पनि सुक्यो, एक/डेढ घण्टा टाढा लिन जाँदा पालो पनि नपाउने, समय पनि धेरै खर्चनुपरेको थियो,’ गजुरी–५ की कल्पना भण्डारीले भनिन्, ‘पानीको समस्या टार्न हामी गाउँवासी श्रमदानमा जुट्यौं र अहिले घरघरमा पानी आएको छ, खुसी छौं।’  

गाउँदेखि १४ किलोमिटर पर ढुंगेनी र घाँसीखोलाका दुईवटा मुहानबाट पानी ल्याएर गाउँमा पानी वितरण गरिएको हो । ६ वटा रिजर्व ट्यांकीमा पानी जम्मा गरेर गाउँमा वितरण गरिएको छ। यो आयोजनाबाट गजुरी–५ र ६ का १ सय ५६ घरधुरीका ९ सय मानिस लाभान्वित बनेका छन्। मुहानदेखि २० किलोमिटर परको दूरीमा रहेको गाउँमा समेत पानी वितरण गरिएको पीडा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष दिनेश भण्डारीले जानकारी दिए।  आयोजना दिगो बनाउन स्थानीयले हेरालुको पनि व्यवस्था गरेका छन्। मिटर हिसाबले मासिक थोरै पैसा उठाएर हेरालुलाई तलबको व्यवस्था गरिएको उपभोक्ता समितिका अध्यक्ष भण्डारीले बताए। ‘सबै घरघरमा धाराबाटै स्वच्छ खानेपानी पुगेपछि स्थानीयमा खुसी छाएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘गजुरी–५ र ६ का घर–घरमा खानेपानी व्यवस्थापनपछि स्वास्थ्य तथा सरसफाइमा पनि उल्लेख्य सुधार आउनुका साथै महिलाको कार्यबोझसमेत घट्ने अपेक्षा छ।’  

आयोजनाबाट विशेषगरी गजुरी–६ को दोभाने, जोगिबिसौना र वडा नम्बर ५ को छापगाउँ, डाँडाटोल, कुर्लेचौर, भत्तेरचौरलगायत गाउँ लाभान्वित भएका छन्। अक्सफामको सहयोगमा प्रयास नेपाल धादिङले पूर्णिमा कार्यक्रमअन्तर्गत सञ्चालित योजनाबाट १ सय ५४ घरमा धारा, गजुरी पीडा माध्यमिक विद्यालयमा बालमैत्री धारा र २ वटा सामुदायिक हलमा गरी १ सय ५७ वटा धारा मार्फत सबै घरधुरीमा स्वच्छ खानेपानी उपलब्ध भएको छ। स्थानीयले पाइपलाइन खन्ने, धारा बनाउन स्थानीय सामग्रीको सहयोग गर्नेलगायत काम गरेका थिए।

प्रयास नेपाल, अक्सफाम र गजुरी गाउँपालिकाले निर्माण गरेको पीडा खानेपानी तथा सरसफाइ आयोजना स्थानीयलाई हस्तान्तरण गरिएको छ। आयोजनामा प्रयास नेपाल र अक्सफामको १ करोड ३ लाख २१ हजार ६ सय ५५ रुपैयाँ र गजुरी गाउँपालिकाको १४ लाख ६५ हजार रुपैयाँ लागत छ। उपभोक्ताले मात्रै श्रमदान ४८ लाख ७३ हजार १ सय १९ रुपैयाँ गरेका छन्। कुल १ करोड ६६ लाख ५९ हजार ७ सय लागतमा पानी धारोसमेत निर्माण गरी पानी वितरण गरिएको प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले जानकारी दिए।  

वर्षौंदेखि काकाकुल गाउँको नामले चिनिएको गाउँमा सम्पन्न खानेपानी आयोजनाको उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा संघीयता सांसद भूमि त्रिपाठीसहित स्थानीय जनप्रतिनिधि र प्रमुख राजनीतिक दलका नेता गाउँ पुगेका थिए। उद्घाटन कार्यक्रममा बोल्दै गजुरी गाउँपालिका अध्यक्ष राजेन्द्रविक्रम बस्नेतले आयोजना टिकाउ बनाउन स्थानीयलाई आग्रह गरेका छन्। गाउँपालिकाका अन्य वडामा पनि एक घर एक धारो अभियान ल्याउन पहल भइरहेकोे अध्यक्ष बस्नेतले बताए ।

उनका अनुसार गजुरी गाउँपालिकालाई तिर्खामुक्त बनाउने लक्ष्यअनुरूप खानेपानी जुटाउन लागिएको हो। ‘गजुरी गाउँपालिकाले एक घर एक धारा बनाउने लक्ष्य राखेको थियो, त्यो पूरा गर्दै छौं,’ अध्यक्ष बस्नेतले भने, ‘कामको गुणस्तरीयता र प्रभावकारिताका लागि बेलाबेलामा अनुगमन गर्दै आइरहेका छौं।’ सबै घरमा धाराबाटै स्वच्छ खानेपानी पुग्ने भएपछि गाउँलेमा खुसियाली छाएको छ। 

प्रकाशित: ८ वैशाख २०७८ ०१:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App