१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

धरानमा खानेपानीको चरम अभाव, बोर्डको बिल काउन्टरमा उपभोक्ताको धर्ना

खानेपानीको समस्याबारे जानकारी गराउँदै धरानका मेयर तिलक राइ। तस्बिर: नागरिक

धरानमा खानेपानीको चरम अभाव हुन थालेको छ। खानेपानीको माग गर्दै स्थानीय उपभोक्ता आन्दोलित भएका छन्। दीर्घकालिन खानेपानी व्यवस्थापन संघर्ष समितिको अगुवाइमा एक सातादेखि धरान उपमहानगरपालिका–१६ स्थित खानेपानीको बिल काउन्टरमा तालाबन्दी गरिएको छ, भने दिनहुँ धर्ना कार्यक्रम भइरहेको छ।

पौने २ अर्बको खानेपानी आयोजना सञ्चालन भएको धरानमा खानेपानी संस्थानको सम्पत्ति तथा दायित्व धरान खानेपानी व्यवस्थापन बोर्डले लिइसकेको छ। तर खानेपानी सहजरूपमा आपूर्ति हुन नसकेपछि धरानवासीहरू रूष्ट छन्। करोडौं ऋण लिएर खानेपानी आयोजना सञ्चालन गरिएपनि खानेपानीको समस्या समाधान हुन सकेको छैन।

एक दिनको फरकमा पानी विरतण गर्ने भनिएपनि खानेपानी व्यवस्थापन बोर्डले भनेअनुसार पानी वितरण गर्न सकेको छैन। यहाँका नागरिकले पानी मात्रै मागेको तर ऋण लिएको आयोजनाले समेत पानी खुवाउन नसक्दा आन्दोलनमा उत्रिनु परेको संघर्ष समितिका संयोजक हर्क साम्पाङले बताए। उनका अनुसार थप बिल काउन्टरहरूमा पनि तालाबन्दी गरिने छ। वैशाख १ गतेसम्म समस्या समाधान नभए मेयर तिलक राईको घर पनि घेराउ गर्ने कार्यक्रम रहेको उनले बताए। ‘जनताको आवाजको सुनवाई भएन। 

त्यसैले हाम्रो आन्दोलन जारी रहन्छ। अन्य बिल काउन्टर पनि बन्द गर्छौं,’ संयोजक साम्पाङले भने, ‘माग सम्बोधन नभए २ गते मेयरको घर घेर्ने कार्यक्रम रहेको छ।’ संघर्ष समितिले खानेपानी संस्थानको शाखालाई बोर्डमा समायोजन गरेकोमा समेत विरोध जनाएको छ। खानेपानी आयोजना सफल नभएकाले संस्थानलाई ब्यूँताएर त्यसमार्फत पानी वितरण गर्नुपर्ने स्थानीयको माग छ। स्थानीयको घरमा पानी वितरण गर्नुपर्ने र सहुलियत शुल्क हुनुपर्ने माग राख्दै आन्दोलन भइरहेको छ। ‘दैनिक १६ घन्टा पानी खुवाउने भनेर खानेपानी आयोजना ल्याइएको थियो,’ साम्पाङले भने, ‘एक घन्टा पनि राम्रो पानी दिन सकेको छैन हामी बाध्य भएर आन्दोलन गर्नुपरेको हो।’

खानेपानी खुवाउन नसकेको भन्दै चर्को आलोचना हुन थालेपछि खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर तिलक राईले आइतबार पत्रकार सम्मेलन गर्दै खानेपानीको वितरणलाई सहज बनाउने प्रयत्न भइरहेको बताए। संस्थानको बिग्रिएको २ वटा पम्प र मेनलाइन पाइप मर्मतको काम सम्पन्न भइसकेको हुँदा अब केही दिनभित्रै एक दिनको फरकमा भए पनि पानी वितरण गर्न सकिने उनको भनाइ छ। ‘खानेपानी वितरणलाई सहज बनाउनकै लागि दिनरात नभनी काम भइरहेको छ,’ मेयर राईले भने, ‘अब एक÷दुईदिन भित्रै धरानलाई २ क्षेत्रमा बाँडेर दिन बिराएर सहजरूपमा पानी विरतण गर्छौं।’  

भूमिगतरूपमा उत्पादन भएको पानीलाई रिजर्भ ट्यांकीसम्म पु¥याउन विभिन्न स्थानमा नन रिटर्न भल्भ राख्ने, लिकेज मर्मत गर्ने, पम्पहरू मर्मत गर्ने तथा नयाँ खरिद प्रक्रिया अघि बढाउने कार्य सुरु भएको बोर्डको भनाइ छ। खानेपानीलाई सहज बनाउन तत्काल गर्नुपर्ने र दीघकालिनरूपमा गर्नुपर्ने कामको पहिचान गरेर अघि बढेको उनले बताए।  

एसियाली विकास बैंक(एडिबि)को ऋण तथा अनुदान सहयोगमा सञ्चालित खानेपानी आयोजनाको डिजाइनमा जंगलमा ७ वटा वेल मात्र रहेको छ। १ वर्षभित्र काम सम्पन्न गर्ने गरि १५ जुलाई सन् २०१५ मा सुरु भए पनि विभिन्न कारणले समयमा काम सम्पन्न हुन सकेन। आयोजना अहिले पनि निर्माण र परिक्षणको चरणमै छ।

प्रकाशित: ३१ चैत्र २०७७ ०३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App