७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पोखरा–जोमसोम ६ वटा उडान, तर, काठमाडौंका लागि हुन सकेन

काठमाडौंबाट पोखरा आएको बुद्धको जहाज भिजिविलिटी नपुग्दा ‘डाइभर्ट’

तुवाँलोले ढाकिएको पोखरा । तस्बिरः उमेश पुन÷नागरिक

बिहान खुलेको पोखराको मौसम पुन बिग्रेको छ । बिहान मौसम खुल्दा पोखरा–जोमसोम हवाई उडान भएपनि पछि मौसम बिग्रदा थप उडान हुन नसकेको पोखरा विमानस्थलले बताएको छ । बिहानपख ५ हजार मिटर भिजिविलिटी रहेको पोखराको मौसम पछि घट्दै आधामा झरेको विमानस्थलले बताएको छ ।  

विमानस्थल प्रमुख बिक्रमराज गौतमका अनुसार बुधबार बिहान पोखराको मौसम खुलेको थियो । भिजिविलिटी पुग्दा पोखरा–जोमसोम ६ वटा उडान भएको थियो । तर पोखरा–काठमाडौं रुटमा उडान भने उडान हुन सकेन । बुधबार पोखरा–जोमसोम समिट एयरले २ र ताराले ४ वटा उडान गरेको थियो । ‘पोखरा–जोमसोम उडान त भयो, तर काठमाडौंका लागि भने हुन सकेन,’ गौतमले भने ।  

काठमाडौंबाट बिहान उडेको बुद्धको जहाज पोखरा आउनै थाल्दा मौसम खराबीले अवतरण गर्न नसकेको उनले बताए । ‘बिहानको भिजिविलिटी ठिक थियो । पोखराबाट हवाई उडान हुन पाँचहजार मिटरको भिजिविलिटी आवश्यक पर्छ,’ गौतमले भने, ‘तरपनि बुद्धको जहाज यहाँ अवतरण गर्न सकेन । एकाएक भिजिविलिटी घट्यो ।’  

बिहान ७ः२५ मा बुद्धको जहाज काठमाडौंबाट पोखराका लागि उडेको थियो । तर, पोखरा नजिकै गगनगौंडाको आकाशमा आइसकेपछि भिजिविलिटी नपुगेको भन्दै जहाज काठमाडौं नै फर्केको बुद्ध एयरका पोखरास्थित स्टेशन म्यानेजर गौतम बरालले बताए । उनका अनुसार गगनगौंडाको आकाशमा आइसकेको जहाजले अवतरणका लागि प्रयास गरेपनि ड्याम्मै तुवाँलोले छेकेपछि डाइभर्ट भएको बरालले बताए ।  

‘४५ सय फिटमा झरेको जहाजले अगाडि केही नदेखेपछि डाइभर्ट हुनु परेको थियो । ४५ सय फिट भन्दा तल झर्न मिल्दैन,’ बरालले भने, ‘ड्याम्मै तुवाँलोले छेकेपछि डाइभर्ट गर्नुको विकल्प भएन ।’ पोखराबाट जोमसोमको रुट फरक पर्नु, सानो जहाज र उत्तरतिरको विहानको भिजिविलिटी राम्रो हुँदा उडान सम्भव भएपनि काठमाडौं रुटमा भने भिजिविलिटी नपुगेको उनले बताए । बुधवार बुद्धका नौवटा उडान भएपनि भिजिविलिटी नपुग्दा उडानको सम्भावना नरहेको बरालले बताए ।  

मध्यान्हपछि पोखराको भिजिविलिटी २५ सय मिटरमा ओर्लेको विमानस्थलले बताएको छ । गत शुक्रबारदेखि पोखरा–काठमाडौं रुटमा कुनैपनि उडान हुन सकेको छैन । दैनिक दुईदर्जन हाराहारीमा पोखरा–काठमाडौं रुटमा विभिन्न हवाई कम्पनिले उडान गर्दै आएका थिए । 

प्रकाशित: १८ चैत्र २०७७ ०७:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App