६ वैशाख २०८१ बिहीबार
अर्थ

तुँवालोले पोखराको हवाई उडानमा अवरोध, आइतबार ३२ उडान रद्द

सिमराको पहिलो उडान नै रोकियो

पोखराको आइतबारको भिजिविलिटी । भिजिविलिटी नपुग्दा यहाँबाट हुने सबै उडान रद्द भएका छन् । तस्बिरः उमेश पुन/नागरिक

धुँवा र धुलोका कणले भिजिविलिटी नपुग्दा पोखराबाट हुने हवाई सेवा तीनदिनदेखि प्रभावित भएको छ । आइतबार पनि प्रदूषण कम नहुँदा यहाँबाट हवाइजहाजको उडान हुन सकेनन् । शुक्रबारदेखि  पोखराबाट हुने हवाई सेवा प्रभावित भइरहेको छ । आइबार तय गरिएका ३२ वटा उडान रद्द भएका छन् । आइतबार पोखराबाट हेलिकप्टरका दुईवटा मात्र उडान भएका छन् ।  

पोखरा विमानस्थलका अनुसार यहाँको भिजिविलिटी आइतबार पनि निकै नै कम भएको थियो । विमानस्थलका सुचना अधिकारी देवराज सुवेदीका अनुसार भिजिविलिटी नपुग्दा शुक्रबार चारवटा उडान रद्द भएका थिए । शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएको भएपनि ती सबै उडान रद्द भएका थिए । आइतबारका ३२ वटा उडान पनि हुन नसकेको उनले बताए ।  

आइतबार तारा एयरलाईन्सले जोमसोमका लागि ५ वटा उडान तय गरेको तियो । त्यस्तै यतीले काठमाडौंका लागि ९ र सिमराका लागि तय गरेको एउटा उडान पनि रद्द भएका छन् । बुद्धका काठमाडौंका ९,  भैरहवा र भरतपुरका १–१ वटा उडान पनि रद्द भएका छन् । त्यस्तै श्री एयरलाइन्सको काठमाडौं हुने एउटा उडान पनि रद्द भएको छ । समिटले जोमसोमका लागि राखेको ५ वटा उडान पनि रद्द भएका छन् । ‘दुईवटा हेलिकप्टरले मात्र पोखराबाट आइतबार उडान भर्न सके । हेलिकप्टरलाई भिजिविलिटी एक किलोमिटर भए पुग्छ,’ सुवेदीले भने, ‘तर, जहाजका लागि कम्तिमा पाँच किलोमिटर भिजिविलिटी आवश्यक पर्छ ।’  

पोखरामा उडान हुन विमानस्थलको भिजिविलिटी ५ किलोमिटर हुनुपर्छ । तर आइतबार पोखराको भिजिविलिटी १५ सय मिटर रहेको थियो । शनिबार त मध्यान्हपछि भिजिविलिटी एक किलोमिटरमा झरेको थियो । उडान नहुँदा यात्रु भने मारमा परेका छन् । कनेक्टिङ उडान भएका यात्रु गाडी रिजर्भ गरेर हतारमा काठमाडौं जान बाध्य भएका छन् । तीनदिनदेखि उडान नहुँदा यात्रु व्यवस्थापन गर्न कठिनाई भएको एयरलाइन्सले बताएका छन् ।  

सिमराको पहिलो उडान नै रोकियो

तुँवालोका कारण हवाई उडान रोकिँदा आइतबारदेखि तय गरिएको पोखरा–सिमरा सिधा हवाई उडान पनि हुन सकेन । पोखरालाई वीरगञ्जसँगै जोड्दै भारतीय पर्यटकलाई पोखरा आउजाउमा सहजता दिलाउन भन्दै पोखरा–सिमरा सिधा उडानको तय भएपनि मौसम खराबीले उडान हुन सकेन । यती एयरलाइन्सले पोखरा–सिमरा उडानको तयारी गरिएको थियो ।  

पोखरा विमानस्थलमा सूचना अधिकारी देवराज सुवेदीका अनुसार मौसम नखुल्दा पोखराबाट हुने सबै उडान रद्द भए । सिमराको पनि पहिलो उडान हुन नसकेको उनले बताए । ‘पहिलो उडान रद्द भएपछि बैशाख पाँचगते पोखरा–सिमरा उडान गर्नेबारे छलफल भईरहेको छ । तर, मिति निश्चित भएको छैन,’ सुवेदीले भने । पोखरामा आन्तरिक पाहुना भित्र्याउनका लागि गण्डकीले सबै प्रदेशमा सिधा हवाई उडान थाल्ने योजना बमोजिम पोखरा–सिमराको उडान तय भएकोमा तुँवालोका कारण उडान हुन नसकेको सुवेदीले बताए ।  

प्रदेश सरकारका मुख्यमन्त्री, पर्यटनन्त्री सहित पदाधिकारी र कर्मचारी लिएर आइतबार जहाज पोखराबाट सिमरा जाने तयारीमा थियो । सबैगरि २७ जना यात्रु लिएर सिमरा उड्ने तयारी भएपनि रोकिएको छ । आइतबार बिहान ११ बजे पोखराबाट उड्ने र दिउँसो तीनबजे पोखरा फर्किने गरि जहाजको सिमरा उडान तालिका भएपनि मौसम खराबीले हुन नसकेको विमानस्थलले बताएको छ । 

गण्डकी प्रदेशको पर्यटन मन्त्रालयका सचिव डा. महेश्वर ढकालले सिमराको उडानबाट आन्तरिक पाहुना पोखरा भित्र्याउने लक्ष्य हो । त्यही अनुसार पोखरा–सिमरा उडानको तालिका भएपनि आइतबार उडान हुन नसकेको उनले बताए । ‘अब कहिले उडान गर्ने भन्ने यकिन त छैन । तर, छिटै तिथि तय हुनेछ,’ ढकालले भने । 

प्रकाशित: १५ चैत्र २०७७ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App