८ वैशाख २०८१ शनिबार
अर्थ

लकडाउनको वर्षदिनः पर्यटनको ‘लक’ खुला, व्यापार अझै ‘डाउन’

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस संक्रमणको त्रासले ठिक एकवर्ष अघि लकडाउन सुरु भयो । हुन त लकडाउन अघि नै पर्यटन क्षेत्र ओरालो लाग्न थालिसकेको थियो । विभिन्न मुलुकले हवाई उडान रोक्दा विदेशी पर्यटक आउन छाडिसकेका थिए । लकडाउनपछि त आगमन झनै शुन्यमै झ¥यो । यतिसम्मकी २०२० को मार्चपछि त पर्यटन क्षेत्रले विदेशी पाहुनाको मुख देख्न पाएको छैन । झन्डै ६ महिना त कोहीपनि विदेशी पाहुना नेपाल भित्रिएनन् ।

लामो समय ‘लक’ रहेको पर्यटन क्षेत्र केही महिनापछि बिस्तारै खुल्दै त गयो, तर, त्यसले सोचेजस्तो ब्यापार भने दिन सकेको छैन । पर्यटनमा ‘लक’ (ताला) मात्र खुलेको, तर, ब्यापार  अझै ‘डाउन’ (ओरालो) कै अवस्थामा रहेको व्यवसायी बताउँछन् । निकै नै सानो आकारको आन्तरिक पाहुना आगमनको भरमा पर्यटनको व्यापार उकालो लाग्ने अवस्था नरहेको व्यवसायी बताउँछन् ।  

‘कोरानाको त्रासले एकवर्ष अघि लकडाउन हुँदा हामी सबै घरभित्रै ‘लक’ भयौ । हामीसँगै होटल पनि ‘लक’ भयो, तर, अहिले होटलको लक खुलेको छ,’ होटल बाराहीका महाप्रबन्धक राजकुमार केसीले भने, ‘तर, ब्यापार भने अझै ‘डाउन’ नै छ । आन्तरिक पाहुनाको भरमा खुलेको लकले डाउन भएको व्यवसाय उकासिन सक्दैन ।’ उनका अनुसार अहिले पोखराका चल्तीका होटलमा पनि ५÷६ कोठाका दरले आन्तरिक पाहुना छन, तर त्यो निकै नै सानो आकार हो । त्यो आकारले होटलको व्यवसाय उकासिन नसक्ने केसीले बताए ।  

‘यहीबेला राजनीतिक किचलो पनि छ । आन्तरिक पाहुनाको चहलपहल हुनै थालेको थियो । फेरि कोरोनाको त्रास थपिएको छ,’ उनले भने, ‘कोरोनाको त्रास बढ्दैनथ्यो भने केही आन्तरिक पाहुना आउँथे होला । तर, अब आन्तरिक पाहुनाको त्यही सिमित आउजाउ पनि रोकिने सम्भावना बढ्दै गएको छ ।’ व्यवसायीहरु कोरोनाको त्रास नबढ्दो हो त यो बेला धेरै भारतीय पाहुना आउने अपेक्षामा थिए । तर पछिल्लो समय भारतीय पाहुना आउने आश पनि व्यवसायीले मारिसकेका छन् । ‘राजनीतिक किचलो एकातिर र कोरोनाको त्रास अर्काेतिर बढ्दै जाँदा झनै डामाडोल हुने अवस्था आएको छ,’ केसीले भने, ‘भारतमा पनि कोरोनाको त्रास उत्तिकै बढ्दै गएको छ । फेरि नेपाल–भारत नाका पनि खुलेको छैन, भारतमा संक्रमण पनि बढिरहेको छ । त्यसैले अब तत्काल भारतीय पाहुना आउने अवस्था देखिन्न ।’

अर्का व्यवसायी तथा टुकी रिसोर्टका संचालक पुष्पराज चालिसे पनि कोरोनाले पर्यटनमा लक लागेको अवस्था रहेको भएपनि अहिले त्यो ताला खुल्न मात्र सकेको बताउँछन् । ‘होटलको ढोकामा लागेको लक मात्र खुलेको छ । ब्यापार त हुनै सकेको छैन,’ चालिसे भन्छन्, ‘आन्तरिक पाहुनाको भरमा केही आशावादी हुँदै थियौ, तर फेरि लककै अवस्थामा फर्किनुपर्ने हो की भन्ने चिन्ता पलाएको छ ।’  

उनका अनुसार आन्तरिक पर्यटनको भरमा पर्यटनमा लागेको लक खुल्दा शुक्रबार र शनिबार पोखरामा केही फरक अवस्था देखिन थालेको थियो । त्यसको अर्थ बिदाका दिन यहाँ आन्तरिक पाहुनाको आउजाउ सुरु भएको थियो । तर, अब कोरोनाको त्रास थपिँदै जाँदा त्यही आगमनमा पनि पूर्णबिराम लाग्ने हो की भन्ने चिन्ता पलाएको चालिसेले बताए । ‘अहिले त आन्तरिक पाहुना पनि अन्योलमा छन् । लामो समय घरभित्र गुम्सिएर बसेका पाहुना निसंकोच घुमफिरमा निस्कन आँटेका मात्र थिए । फेरि त्रास फैलिएको छ, अब पनि लकडाउन हुने हो की भन्ने चिन्ताले पिरोलिएका छन,’ चालिसे भन्छन् ।  

आन्तरिक पाहुना केही थपिँदा पोखराका होटल सिमित कर्मचारीको भरमा चल्न थालेका थिए । पाहुना भित्रिएकै कारण होटलले कम्तिमा २० प्रतिशत कामदारलाई काममा फर्काउन पनि सफल भएका थिए । प्रयाप्त पाहुना नहुँदा सबै कर्मचारीलाई पुग्ने काम पनि थिएन तर, कहिलेकाँही पाहुनाको भीडभाड हुँदा भने थोरै कर्मचारीलाई पनि कामको चाँप हुन्थ्यो । ‘कोरोना त्रासले लामो समय होटलको ढोकामा ताला झुन्ड्याउनुपर्दाको पीडा आन्तरिक पाहुनाको चहलपहलले केही आशावादी बनाएको थियो,’ चालिसे भन्छन, ‘संस्थागत कार्यक्रम गर्ने होटलमा डिसेम्बर यता केही सकारात्मक संकेत देखिएको थियो । तर त्यो निरन्तरता कायम रहन सकेन ।’

होटलले संचालन खर्च धान्नका लागि कम्तिमा ५० प्रतिशत अकुपेन्सी हुनुपर्छ । नाफा कमाउका लागि भने ५० प्रतिशतबाट उकालो लाग्नुपर्छ । तर यतिबेला फेरि कोरोनाको त्रास बढ्दै जाँदा पाहुनाको घुमघामलाई सोचनीय बनाएको छ । ‘फाट्टफुट्ट भारतीय पनि आउन थालेका थिए र छन पनि, तर, अब भारतमा फैलिन थालेकोले पनि अवस्था फेरिएको छ,’ चालिसेले भने ।  

पर्यटन व्यवसायी समेत रहेका समाजसास्त्री दिनेश प्रसाँइ आन्तरिक पाहुनाका कारण पर्यटन क्षेत्र चलेको जस्तो मात्र देखिएको भएपनि कमाउन भने सक्ने अवस्था नरहेको बबताउँछन् । ‘लकडाउनले लामो समय घरभित्रै थुनियौं । व्यवसायमा ताला लाग्यो । त्यो ताला आन्तरिककै भरमा खुलेको हो,’ प्रसाँइले भने, ‘तर आम्दानी कसैले गर्न पाएका थिएन् । अझै पनि कमाउने अवस्था भने होईन ।’ पर्यटन उद्योग उकास्नका लागि भारतीय, चिनियाँ र अरु मुलुकका विदेशी पाहुना पनि चाहिन्छ । अरु विदेशी पाहुना नआएसम्म व्यवसायीले कमाउन सक्दैनन, तर, आन्तरिकको भरमा ढोका खुला भने राखिरहन सक्ने उनी बताउँछन् । ‘आन्तरिक पाहुनाको भरमा लक खुला मात्र गर्ने हो । तर, कमाउनका लागि अरु मुलुकका विदेशी भित्रिनु अनिवार्य हो,’उनले भने ।  

पछिल्लो समय कोरोनाको त्रास बढेसँगै पहिलेकै जस्तो कडा लकडाउनको चर्चा चलेपनि लकडाउन नै हुने अवस्था नभएको उनले बताए । ‘काम नपरेको अवस्थामा पनि आन्तरिक पाहुना घुम्न निस्कन थालेका थिए । रमाउनकै लागि निस्कने पाहुना थिए । तर, अहिलेको डरत्रासले गर्दा आन्तरिक पाहुना पनि घुम्नकै लागि निस्कने सम्भावना कम हँुँदै गएको छ,’ प्रसाँइले भने ।  

व्यवसायीका अनुसार अहिले पोखराका होटलको अकुपेन्सी करिब १५ प्रतिशत हाराहारीमा पुगेको छ । यो आकारको अकुपेन्सीमा हुनुमा आन्तरिक पाहुनाकै कारण हो । गण्डकी प्रदेशको पर्यटन मन्त्रालयको आँकडा अनुसार लकडाउन अवधिमा गण्डकी प्रदेशको पर्यटन क्षेत्रले मात्र  प्रतिदिन १४ करोड रुपैयाँको घाटा बेहोरेको थियो । त्यो घाटा अहिले पनि छ । असोजपछि केही आन्तरिक पाहुना आउन थालेपछि घाटा थोरै कम भएको प्रदेशका पर्यटनमन्त्री विकास लम्साल बताउँछन् । ‘आन्तरिक पर्यटकले होटलको ढोका खोलेको र ढुसी मात्र फालेको हो, आम्दानी भने भएको छैन,’ लम्सालले भने, ‘आम्दानी हुनका लागि अझै पाहुना थपिनुपर्छ ।’  

लम्सालले कोरोनाको कारणले पर्यटन क्षेत्र कोमामै पुगेको भएपनि आन्तरिक पर्यटनको कारणले केही अघि बढिरहेको देखिएको बताए । ‘अहिले पनि विदेशी पाहुना आउने अवस्था छैन । पछिल्लो समय केही भारतीय आउन थालेका छन् । अरु विदेशी आउने अवस्था छैन,’ उनले भने, ‘अहिले कोरोनाको खोप पनि लगाउन थालिएकोले बिस्तारै चलायमान हुन खोजेको जस्तोे देखिएको छ । तर, ढुक्क हुने अवस्था भने छैन ।’

प्रकाशित: ११ चैत्र २०७७ ०९:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App