मुलुकले कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको वर्षदिन पुगेको छ । यो अवधिमा कोरोनाको मारमा परेका धेरै क्षेत्र ब्यूँतिएको भएपनि पर्यटन भने अझै शुन्यकै अवस्थामा रहेको भन्दै पर्यटन व्यवसायीले दुखेसो पोखेका छन् । पर्यटन क्षेत्र उठ्नै नसक्ने गरि थला परेपनि सरकारले उकास्नका लागि उत्तिसारो वास्ता नगरेको उनीहरुको भनाई छ ।
नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा)को पोखरामा शनिबार भएको साधारणसभामा सहभागि व्यवसायीले पर्यटन क्षेत्र उकास्नका लागि सरकारी पहल नहुँदा आफुहरु निराश बनेको बताए । नाट्टा लुम्बिनीका अध्यक्ष कृष्ण अधिकारीले कोरोनाको मारमा सबै क्षेत्र परेपनि पर्यटन भने उठ्नै नसक्ने गरि थलिएको बताए । कोरोनाको मार केही कम भएपछि अरु क्षेत्रले पहिलेकै अवस्थामा फर्किने गरि लय लिएपनि पर्यटन भने अझै अप्ठेरोमा रहेको उनको भनाई छ ।
‘कोरोनाको मारमा सबै क्षेत्र परेका हुन् । तरु, अहिले अरु क्षेत्रले पहिलेकै गति लिन थालिसके, तर पर्यटन मात्र अघि बढ्न सकेको छैन,’ उनले भने, ‘उद्योग धन्दा, यातायात, शिक्षण संस्था, बजार, कलकारखाना पहिलेकै अवस्थामा फर्किन लागेपनि पर्यटन भने अघि बढ्नै सकेको छैन ।’ पर्यटनको समस्याबारे सोच्ने निकाय नै नभएको उनले बताए । ‘जतिबेला राज्यले पर्यटनबारे सोच्न थाल्नेछ, त्यो बेलासम्म हामी नै नरहने अवस्था आउनेछ, व्यवसायी पलायन भइसक्नेछन्,’ उनले भने ।
नाट्टा गण्डकीका पूर्व अध्यक्ष परिषद्का संयोजक ओम पाण्डेले पनि कोरोनाका कारण पर्यटन व्यवसायी नै पलायनको बाटोमा लागेको बताए । ‘धेरै व्यवसायी पलायन भईसके, सानो आकारको लगानी भएका व्यवसायी अहिले पलायन भएका छन,’ उनले भने, ‘धेरैले व्यवसाय बन्द गरेर बसेका छन् । राज्यले पर्यटनलाई उकास्ने कुनै कार्यक्रम नै ल्याउन सकेन ।’ पर्यटन क्षेत्रलाई उकास्नका लागि कम्तिमा करमा केही छुट दिएर भएपनि राहत दिन सकिने भएपनि सरकारले बेवास्ता गरेको उनले बताए । ‘अझै पनि बेवास्ता गर्ने हो भने पर्यटन क्षेत्र ध्वस्त हुँदै जानेछ, त्यो बेला धेरै लगानी डुब्नेछ,’ उनले भने ।
पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष गोपिबहादुर भट्टराइले सरकारले पर्यटनका लागि तय गरेका कार्यक्रम पनि लागु नगर्दा पर्यटन क्षेत्र उकासिन नसकेको बताए । उनका अनुसार सरकारले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई घुम्न जान दिने र दुईदिन सार्वजनिक बिदा दिने तयारी गरेपनि लागु नभएको बताए । दुईदिन सार्वजनिक बिदा राखेर कर्मचारीलाई घुम्न पठाउने हो भन पर्यटनले सास फेर्न सक्ने उनले बताए । ‘सरकारले घोषणा गर्छ, तर, कार्यन्वयन गर्दैन, आन्तरिक पर्यटन प्रवद्र्धन गर्न दुईदिन सार्वजनिक बिदा र कर्मचारीलाई घुम्न जानदिने व्यवस्था गर्ने हो भने सहज हुन्थ्यो,’ उनले भने ।
पर्यटनमा सबैभन्दा बढी पहुँचको समस्या रहेको भट्टराईको भनाई छ । पहुँचमा समस्या हुँदा पर्यटकलाई गन्तव्यसम्म आउजाउ गर्न कठिन भएको उनले बताए । ‘जबसम्म राजमार्गको पहुँचमा सुधार हुँदैन र विमानस्थलको पहुँच बिस्तार हुँदैन, तबसम्म पर्यटन उकास्न सकस छ,’ भट्टराइले भने, ‘पर्यटन अहिले थलिएको अवस्थामा छ । अब उकास्ने हो भने तत्काल पूर्वाधार बनाउमा जोड दिनुपर्छ । अनि पर्यटनको आउजाउ बढाउन महत्वपूर्ण गन्तव्यबीच हवाई सञ्जालले जोड्नुपर्छ ।’
नाट्टा गण्डकी अध्यक्ष सञ्जयकान्त सिग्देलले कोरोनाका कारण एकवर्षसम्म घरमै बस्नुपर्ने बाध्यताले धेरै पर्यटन व्यवसायी पलायन भएको बताए । उनले पर्यटन व्यवसायी पलायन नै चिन्ताको विषय रहेको गुनासो पोखे । ‘अब पर्यटनमा गियर बदल्न जरुरी छ । पर्यटन उकास्ने गरि गियर बदल्न सकिएन भने अझै अप्ठेरो आउनेछ,’ उनले भने, ‘गियर बनल्न ढिला भइसक्यो ।’
कार्यक्रममा गण्डकी प्रदेशका पर्यटनमन्त्री विकास लम्सालले अब सबै प्रदेशसम्म हवाई सेवा सुचारु गरेर पोखरासँग पहँुच बढाउने तयारी भएको बताए । आगामि असारसम्म गण्डकी प्रदेशको पोखराले बाँकी ६ वटा गन्तव्यसम्म पहुँच बिस्तार गरिसक्ने गरि तयार भएको उनले बताए । हवाई माध्यमबाट जोडिने पहुँचका क्रममा आगामि केहीदिनमा पोखरालाई सिमारसँग जोड्ने तयारी रहेको उनले जानकारी दिए ।
‘सबै विमान कम्पनिलाई फरक फरक गन्तव्यसँग पोखरालाई जोड्नेगरि उडान योजना बनाउन अनुरोध गरेका छौ,’ लम्सालले भने, ‘सबै प्रदेशसँग पोखराको हवाई सञ्जाल जोडिनासाथ पोखरामा आन्तरिक पर्यटक आगमन बढ्नेछ ।’ उनले पोखरा भित्रिएका पर्यटकको खर्च गराउन अझै प्रयाप्त पूर्वाधार नभएकोले त्यतातर्फ पनि ध्यान दिनुपर्ने बताए ।
‘दिनमा एकलाख रुपैयाँ खर्च गर्छु भन्ने पर्यटक भित्रिए भने हामीसँग पूर्वाधार छैनन,’ उनले भने, ‘अबको पर्यटनमा आन्तरिक रुपमा नभई विकसित मुलुकका गन्तव्यसँग प्रतिश्पर्धा गर्नेगरि योजना बनाउनुपर्छ ।’ अहिलेसम्म गण्डकी प्रदेशलाई प्रकृति र संस्कृतिले साथ दिएको भएपनि पूर्वाधारको हिसाबले अझै प्रगति गर्न नसकेको उनले बताए ।
प्रकाशित: ७ चैत्र २०७७ ११:१७ शनिबार