८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ल्हासाबाट सिधैं रसुवागढीसम्म सामग्री आयात हुन थाल्यो

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढी । तस्बिरः हिमनाथ/नागरिक

नेपाल र चीनबीच हुने व्यापारलाई सहज बनाउनका लागि चिनियाँ पक्षले ल्हासाबाट रसुवागढी नाकासम्म सिधैं सामग्री पठाउनका थालेका छन्। बीचमा सामग्री भण्डारण गरेर राख्दा विभिन्न समस्या सिर्जना भएको भन्दै पछिल्लो समय नाकासम्म नै सामग्री पठाउन थालेका हुन्।  

चीनको स्वशासित क्षेत्र तिब्बतस्थित केरुङमा सामग्रीको ओभरस्टक हुन नदिन ल्हासाबाट सिधैं रसुवागढीसम्म सामग्री ल्याउन थालिएको चिनियाँ व्यापारीले बताएका छन्। केरुङमा सामग्री भण्डारण गरेर राख्दा गोदाम शुल्क तिर्नुपर्ने, लोडअनलोड गर्नुपर्ने, सामग्री आयात गर्दा गाडीभाडा बढी तिर्नुपर्ने, सामग्री आयातमा बढी समय लाग्ने लगायतका समस्या सिर्जना हुँदै आएको थियो।  

ल्हासाबाट सिधैं सामग्री आउन थालेपछि व्यापारीले अर्डर (माग) गरेका बाहेकका सामग्री आउन छाडेको छ। पछिल्लो समय नेपाली व्यापारीले माग गरेका सामग्री मात्र आउन थालेको रसुवा भन्सारका प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मीले बताए। यसअघि नेपाली व्यापारीले माग गरेको भन्दा बढी सामग्री आउने र आएका सामग्री केरुङमा रहेका गोदामहरूमा भण्डारण गरेर राख्ने गरिएको थियो।  

अहिले ल्हासाबाट रसुवागढीसम्म नै चिनियाँ गाडीले सामग्री ल्याउन थालेपछि सहज भएको छ। ‘ल्हासाबाट रसुवागढीसम्म सामग्री आउन थालेपछि नेपाली व्यापारीले केही असहज भएको बताएका छन्’, उनले भने, ‘यसको बिस्तारै समाधान हुँदै जाने छ।’  

पहिले केरुङसम्म नेपाली गाडी जाने र त्यहाँबाट आवश्यक सामग्री लोड गरेर आउने गरेकोमा अहिले छ्यासमिस सामग्री आउँदा समस्या भएको नेपाली व्यापारी बताउँछन्। चीनमा मनाइने बसन्त चाड सकिएसँगै चिनियाँ सामग्रीको आयात पनि बढेको उनको भनाइ छ। ‘अहिले दैनिक सातवटासम्म गाडीमा सामग्री आइरहेको छ’, उनले भने, ‘यसले व्यापारीलाई केही राहत मिलेको छ।’

लामो समयसम्म नाकाबाट आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। दैनिक पाँचवटा चिनियाँ गाडीमा सामग्री आउने र नेपाली व्यापारी तथा व्यवसायी केरुङसम्म जान नपाउँदा आयात प्रभावित हुँदै आएको थियो। कोभिड–१९ सुरु हुनुभन्दा अगाडि चीनबाट दैनिक सयवटाभन्दा बढी नेपाली कन्टेनरले सामग्री आयात गर्दै आएका थिए।  

गएको जेठ अन्तिमबाट नाकामा कारोबार पुनः सुरु भएतापनि आयात बढ्न नसक्दा नेपाली व्यापारी समस्यामा परेका थिए। २०७१ मंसिरदेखि औपचारिक रूपमा सञ्चालनमा आएको नाकाबाट हिउँ पर्ने समय, चीनतर्फ हुने निर्वाचन र ल्होसारको समयमा आयात निर्यात रोकिँदै आएको छ। कोभिड–१९ का कारण नाकामा आयात सहज नभएको, निर्यात ठप्प भएको र पटकपटक नाका बन्द हुँदा राजस्व संकलन समेत प्रभावित हुँदै आएको छ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, टेलिकमका सामग्री र फलपूmल आयात हुँदै आएको छ। त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ। तर कोभिड–१९ का कारण निर्यात लामो समयदेखि ठप्प छ।

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

प्रकाशित: ४ चैत्र २०७७ ०५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App