coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

कोरिँदै विकास, फेरिँदै भरतपुर

पालिका

भरतपुर महानगरपालिका चितवनको सदरमुकाम हो । स्थानीय तहको निर्वाचनका बेला केन्द्रले देखाएको चासोले पनि यसको महत्व उजागर गर्छ । नारायणी नदीको तटमा अवस्थित रहेको यो सहर पूर्वाधार विकासमा अब्बल मानिन्छ भने केन्द्रीय नेपालको व्यापारिक केन्द्रका रूपमा पनि चिनिन्छ ।  

महानगरको २९ वटै वडामा पूर्वाधार विकासका अन्तर्गत सडक, खानेपानी, पर्यटकीय क्षेत्रको विस्तारलगायतका क्षेत्रमा तीव्र गतिमा काम भइरहेका छन् । महानगरवासीका आवश्यकता र प्राथमिकताका अनुसार साना तथा ठूला आयोजना गरी विकास निर्माणका काम भइरहेका छन् । महानगरको गौरवको आयोजना अन्तर्गत सिटी हल निर्माणदेखि सौन्दर्यसहितको ६ लेन सडक, साइकल लेन, गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, खानेपानी आयोजना, पर्यटकीय क्षेत्रको विस्तारलगायतमा महानगरले प्राथमिकताका दिएको छ ।

महानगरले साढे तीन वर्षको अवधिमा करिब चार सय किलोमिटर सडक कालोपत्रे, स्तरोन्नति, नयाँ निर्माण गरेको छ । एक हजार किलोमिटरभन्दा बढी सडक ग्राभेल गरिएको छ ।

सडक सञ्जाल निर्माणको कार्यलाई प्राथमिकता दिइएको महानगरले बताएको छ । यहाँका अधिकांश सडक कालोपत्रे भएका छन् । मुख्य राजमार्गदेखि भित्री सडकको मुहार फेरिएको छ । भित्री तथा बढी प्रयोग हुने सडक कालोपत्रे गरिएको महानगरका मेयर रेणु दाहालले बताइन् । ‘विकासको पहिलो आधार भनेकै सडक पूर्वाधार हो, जनताको माग पनि सडक निर्माण नै छ त्यसैले हामीले पनि पहिलो प्राथमिकतामा सडक निर्माणलाई नै राखेका छौं,’ उनले भनिन्, ‘विकासमा नागरिकको पहुँच बढाउन पछिल्ला साढे तीन वर्षमा महानगरले करिब चारसय किलोमिटर सडक स्तरोन्नति, नयाँ निर्माण, ग्राभेल, कालोपत्रे गर्ने काम गरेको छ ।’  

महानगरले साढे तीन वर्षको अवधिमा करिब चार सय किलोमिटर सडक कालोपत्रे, स्तरोन्नति, नयाँ निर्माण गरेको छ भने एक हजार किलोमिटरभन्दा बढी सडक ग्राभेल गरेको छ । चालु आर्थिक वर्षमा मात्रै एक सय किलोमिटर सडक कालोपत्रे हुँदै छ । महानगरले कालोपत्रे गरेर धुलोमुक्त सडकको अभियानमा जोड दिएको छ । गाउँ सडककै कारण परिवर्तन हुँदा नगरवासी खुसी भएका छन् । महानगरपालिका, सांसद विकास कोष, सहरी विकास मन्त्रालय तथा सडक डिभिजन कार्यालयले महानगरको सडकलाई प्राथमिकता दिएर बजेट विनियोजन गरेको मेयर दाहालले बताइन् । सडक सञ्जाल विस्तारमा महानगरको आफ्नै बजेटका साथै संघीय र प्रदेश सरकारको बजेट समेत लगानी भएको छ ।

महानगरको गौरवको आयोजनाको रूपमा पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पर्ने महानगरको मुख्य सडकखण्डको पुलचोकदेखि गोन्द्राङसम्मको सडकलाई सौन्दर्यकरणसहितको ६ लेन बनाउनु भएको मेयर दाहालले बताइन् । एक अर्ब १२ करोडको लागतमा नारायणगढको पुल्चोकदेखि टिकौली जंगल छेउको गोन्द्राङसम्मको सडकलाई ६ लेन बनाउने काम सुरु भएको उनले बताइन् । प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघको दोस्रो साता उक्त आयोजनाको शिलान्यास गरेका थिए ।

त्यस्तै चार लेनको आँपटारीदेखि केन्द्रीय बसपार्क चोकसम्मको बाटोको स्तरोन्नति तीव्र गतिमा भइरहेको छ । हाकिमचोकदेखि जगतपुरसम्मको सात मिटरको बाटो कालोपत्रे गरिँदैछ । मुख्य बजारमा ढल र पेटी निर्माण गरेर नमुना बनाउन लागिएको महानगरले जनाएको छ । करिब ६ किलोमिटर सडक खण्डलाई सतहढल निर्माण समेत गरी स्तरोन्नति गर्ने काम भइरहेको छ । त्यस्तै रामपुर मेघौली सहायक राजमार्गको स्तरोन्नतिको पनि थालिएको छ । बहुवर्षीय आयोजना अन्तर्गत यसवर्ष चनौलीबाट मेघौलीको लागि ३ करोड बजेटमा ठेक्का भएको छ ।

महानगरको अर्को महत्वपूर्ण आयोजनामध्ये रिङरोड र त्यसलाई जोड्ने लिङरोड पनि हो । करिब ९५ किलोमिटर महानगरीय रिङ रोडको लागि सडक विभागबाट डिपिआर तयार भइसकेको छ । सहरी विकास तथा भवन निर्माण विभागबाट ११.५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुने चरणमा छ । सडक विभागबाट चालु आर्थिक वर्षमा रिङ रोड निर्माणका लागि बाँकी खण्ड ठेक्का गर्न आवश्यक काम अगाडि बढाइएको छ । चक्रपथ निर्माणका लागि चालु आर्थिक वर्षमा सडक विभागले ७ करोड र प्रदेश सरकारले २९ करोड रकम विनियोजन गरेर काम अघि बढाएको छ । रिङ रोडको केही खण्ड महानगरको बजेटबाट समेत स्तरोन्नति गरिएको छ ।  

महानगरपालिकाकी मेयर दाहालका अनुसार यस वर्ष डेढ सय किलोमिटर सडक उच्च स्तरको बनाइँदैछ । हरेक वडामा कालोपत्रे गर्ने काम भएको छ । चनौली–मेघौली सडकखण्डको निर्माण र मर्मत कार्य अघि बढाइएको छ । उक्त सडक पश्चिम चितवनको सबैभन्दा बढी प्रयोग हुने सडक हो । करिब डेढ घण्टा लाग्ने सडक स्तरोन्नति पछि अहिले २० मिनेटमा आवत जावत गर्न सकिन्छ ।

मंगलपुरदेखि फूलबारी हुँदै तेलौलीसम्मको प्रचण्ड मार्गको २१ किलोमिटर सडक कालोपत्रेको अन्तिम तयारीमा छ । यस वर्ष पकौडी बजारदेखि भरतपुरको अन्तिम सीमाबिन्दु कसरा पुलसम्म सडक कालोपत्रे गरिएको हो । गितानगर, पटिहानी, जगतपुर, माडी र ठोरी जाने हुलाकी सडकको स्तरोन्नतिले नागरिकलाई सहज बनाएको उपमेयर पार्वती शाह ठकुरीले बताइन् । ‘सडक नै विकासको पहिलो पूर्वाधार भएका कारण नागरिकको माग अनुसार काम गरिरहेका छौं,’ उनले भनिन्, ‘धुलाम्य भएको सडकले स्वास्थ्यमा असर गरेको गुनासो, बाटो बिग्रिएर दुःख पाउँदा नागरिकले सहज यात्रा गर्न बाध्य थिए । अब सहज हुने छ ।’  

महानगरले खानेपानी आयोजनालाई पनि प्राथमिकताका साथअघि बढाएको छ । महानगरपालिका–१२ मा निर्माण गरिएको धनगढा सहलगानी खानेपानी आयोजना निर्माण अवधिभन्दा दुई महिना अगाडि नै सकिएको मेयर दाहालले बताइन् । ‘सम्झौताभन्दा अगाडि सम्पन्न भएको आयोजनाबाट २ हजार १ सय १९ घरधुरीका १४ हजार ५ पाँच सय ६३ जनालाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्धेश्य रहेको छ,’ उनले भनिन्, ‘महानगरवासीलाई स्वच्छ खानेपानी पुर्‍याउने उद्धेश्यका साथ धमाधम खानेपानी आयोजना निर्माणको काम सञ्चालन भइरहेको छ ।’

आयोजना निर्माणका लागि २१ करोड ७७ लाख लागत अनुमान भएकोमा निर्माण व्यवसायीले १२ करोड ७७ लाखमा ठेक्का लिएर काम सुरु गरेर तोकिएको अवधिभन्दा दुई महिना अगाडि नै काम सम्पन्न गरिएको छ । आयोजना निर्माण पूरा भएर पानी वितरण गरिरहेको र खानेपानी पाइप मर्मत र सञ्चालनमा अहिले चुनौती भएकोमा त्यसको पनि समाधान गरिने बताइएको छ । संघीय सरकार भरतपुर खानेपानी व्यवस्थापन बोर्ड, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, भरतपुर महानगर र उपभोक्ताको समेत संयुक्त लगानीमा खानेपानी आयोजना निर्माण गरिएको हो ।  

महानगरले खानेपानी आयोजनाका लागि ३ अर्बभन्दा बढी लगानी गरेको छ । खानेपानी बोर्ड अन्तर्गत, साना सहरी खानेपानी आयोजना, सहलगानीका खानेपानी आयोजना अन्तर्गत महानगरवासीलाई खानेपानी आयोजना पुर्‍याउन महानगरले काम गरिरहेको छ । ५७ करोड लागतमा निर्माण हुन लागेको सारदानगर खानेपानी आयोजनाको कार्य तीव्र गतिमा भइरहेको छ । त्यस्तै २७ करोडको लागतमा निर्माण हुँदै गरेको जखडीमाई खानेपानी आयोजनाको काम पनि अलिहे तीव्र गतिमा भइरहेको छ । दिव्यखोला, पार्वतीपुर, मेघौली, गीतानगर, चौकीडाँडालगायतका खानेपानी आयोजनालाई प्राथमिकतामा राखेको मेयर दाहालले बताइन् ।

महानगरको अर्को गौरवको आयोजना अन्र्तगत देशकै पहिलो ठूलो क्षमताको सिटी हल निर्माणाधीन अवस्थामा छ । ८८ करोड बजेटमा निर्माणाधीन उक्त हल दुई हजार सिट क्षमताको छ । अहिले ठेक्का भएर काम भइरहेको छ । त्यस्तै भरतपुर विमानस्थल तोकिएको मापदण्डभन्दा कम भइ जोखिमयुक्त भएको र हालको मागलाई धान्न ठूला विमान ल्याउन आवश्यक समेत भएकोले विमानस्थल विस्तार र सुधारको प्रयास भइरहेको पनि महानगरले बताएको छ ।

निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको गौतम बुद्ध क्रिकेट रंगशाला निर्माणमा पनि महानगरले प्राथमिकता दिएको छ । हरेक वडामा १५ किलोमिटरभन्दा बढी सडक कालोपत्रे भएका छन् । निजी क्षेत्रलाई सहकार्य गरेर उद्योग संघ मार्फत विस्तार गर्न अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र निर्माण सम्पन्न भएर सञ्चालन भइरहेको छ ।

भरतपुर महानगरपालिका पर्यटकीय क्षेत्रमा पनि अब्बल छ । महानगरको नीति अनुसार नारायणी नदी किनाराको सौन्दर्यकरणका लागि सिविज मोडलमा काम भइरहेको छ । महानगरपालिका–२२ पटिहानीमा अम्रेला स्टेट निर्माण गरिएको छ । सो क्षेत्रमो दुईदेखि पाँच हजारसम्म व्यक्तिहरू जाने गरेको छन् । पटिहानी क्षेत्र नेपालको सय पर्यटकीय क्षेत्रमध्येको एक हो ।

प्रकाशित: ४ चैत्र २०७७ ०२:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App