४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चैत १२ देखि २२ सम्म ‘खास्टे ताल महोत्सव’

महोत्सव आयोजना हुने खास्टे ताल । तस्बिर नागरिक

माटोको अर्धनड्याम लगाएपछि संरक्षण हुन पुगेको खास्टे तालमा यसै वर्ष ‘खास्टे ताल महोत्सव’ आयोजना गरिदैं छ । तालको संरक्षण र सम्बद्र्धनसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित पहिलो पटक खास्टे ताल महोत्सवको तयारीमा स्थानीय जुटेका हुन् । महोत्सव यही चैत १२ गतेदेखि २२ गतेसम्म खास्टे र न्युरेनी तालमा हुने छ । महोत्सव मार्फत आन्तरिक पर्यटन चलायमान हुने विश्वास छ ।  

मानवीय र प्राकृतिक अतिक्रमणको चपेटामा परेको ताल संरक्षणको लागि तत्कालिन लेखनाथ नगरपालिकाले माटोको ड्याम(अर्धन) लगाएको थियो । तालको सिमांकन गरी ड्याम निर्माणपछि संरक्षणको पहल थालिएसँगै स्थानीयले सहकारी मार्फत व्यवसायिक माछापालन हुदैं आएको छ । ‘तालको संरक्षणमा स्थानीयको सहभागितासँगै व्यवसायिक माछापालन शुरु भएपछि अहिले तालहरुको मुहार फेरिदैं गएको छ,’ खास्टे कृषि तथा मत्स्य सहकारी संस्थाका अध्यक्ष हरि अधिकारीले भने, ‘खास्टे जाँउ माछा खाँउ भन्ने उद्देश्यसहित महोत्सव गर्दै छौं ।’  

खास्टे र गुँदें तालबाट सहकारीले व्यावसायिक उत्पादन लिईसकेका छन् । २०७३ माघमा खास्टे कृषि तथा मत्स्य सहकारी संस्था दर्ता भई व्यावसायिक माछापालन शुरु गरिएको हो । तालमा ग्रासकार्प, कमन, रघु, नैनी, तिलपिया लगायतका माछा छन् । खास्टेको क्षेत्रफल ३ सय रोपनी छ । पोखरा–२६ अन्तर्गत लेखनाथ क्षेत्रका तीनवटा ताल एउटै वडामा छन् । गुँदे, खास्टे र न्युरेनी तालको संरक्षण अनिवार्य भईसकेको छ ।  

महोत्सव खास्टे ताल संरक्षण समितिको अग्रसरतामा हुने छ । राष्ट्रिय संगीतकर्मी संघले व्यवस्थापन गर्ने छ । खास्टे ताल किनारमा सहकारी  मार्फत पालिएको माछाको परिकारले आन्तरिक तथा बाह्य पर्यटकलाई स्वागत गरिने छ । न्युरेनी ताल विशेष गरी चराचुरुङ्गी अध्ययन स्थलको रुपमा विकास गरिने उनको भनाई थियो । ‘खास्टेमा माछा खाने, न्युरेनीमा चराचुरुङ्गी अवलोकन गर्ने हो,’ उनले भने–‘न्युरेनीमा ११८ प्रजातिका चरा पाईने अध्ययनले देखाएको छ ।’ उनका अनुसार न्युरेनी ताललाई बर्ड वाचिङ सेन्टरको रुपमा विकास गर्ने योजना समेत छ ।  

रामसारमा सूचीकृत भईसकेको अवस्थामा ताल किनारमा पाईने जैविक विविधता संरक्षणलाई समेत महोत्सवले सहयोग पुर्याउने विश्वास उनको थियो । जालोयुक्त ताललाई सफाई गर्दै समितिले व्यवसायिक माछापालन गरेपछि तालको स्वरुपै परिवर्तन भएको दावी समितिले गरेको छ । खास्टे ताल किनारको खरानेफाँटमा हुने महोत्सवमा वालउद्यानसँगै मनोरन्जनात्मक गतिविधि समेत हुने छ ।  

प्रकाशित: २ चैत्र २०७७ १०:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App