७ वैशाख २०८१ शुक्रबार
अर्थ

कागतीले हटायो बेरोजगारी

घरमै फलेको १० किलो कागतीको अचार बनाएर सुरु गरिएको उद्यमले धनगढी उपमहानगरपालिका–९, बंगराकटानका कृषक रामचन्द्र गिरीलाई स्वरोजगारको बाटो देखाएको छ। धेरै वर्ष बेरोजगार बसेका गिरीले घरमै फलेको कागतीका दाना काटेर अचार बनाए। 

सुरुमा १० किलो अचार बनाएका उनको अचार सबै बेचियो। अचार बेचिएपछि हौसिएका उनले अचार उद्योगलाई विस्तार गर्दै बेरोजगारबाट स्वरोजगारको बाटोमा डोर्‍याएको हो। २०७३ सालअघि बेरोजगार जस्तै रहेका रामचन्द्रले कागती खेतीबाट स्वरोजगारको यात्रा सुरु गरेको सम्झँदै भन्छन्, ‘१० किलो कागतीलाई अचार बनाएर गाउँमै बेच्दा राम्रै आम्दानी भएपछि उद्यमी बनें।’  

सुरुमा १० कट्ठामा ६० बोट कागती र ५५ बोट लिची रोपेर फलफूल खेती सुरु गरेका उनले आफ्नै बारीको फलफूलबाट अचार उद्योग सुरु गरे। बारीमै फलेको कागती भएका कारण सुरुका वर्षमा ४० रूपैयाँ प्रतिकिलोका दरले बिक्री गरेको सम्झँदै उनले भने, ‘सुरु सुरुमा बजारको अनुभव नभएका कारण कति मूल्यमा बेचिन्छ कागती भन्ने पनि थाहा थिएन, त्यसैले सस्तोमै बेचें।’  

कागतीको दाना सस्तोमै बेच्दा खासै आम्दानी नभएपछि उनले त्यसैलाई अचार बनाएर बेच्न थाले। अचार बनाएर बेच्दा राम्रो मूल्य मिलेकाले त्यहीबाट अचार उद्यमी बन्ने हौसला जागेको उनी सम्झन्छन्। उनकी पत्नीले पनि सीप विकास तथा तालिम केन्द्रबाट अचार बनाउने तीन महिने तालिम लिएकी थिइन्। 

श्रीमतीको सीपको सदुपयोग गर्दै उनले अचार उद्योग थाले। अचारले राम्रो आम्दानी दिन थालेपछि १० कट्ठाबाट बढाएर १४ कट्ठामा कागती, आँप, लिची, कटहरका बिरुवा रोपे। अहिले उनको १४ कट्ठाको बिरुवाले फसल दिइरहेका छन्। रामचन्द्रले २०७४ सालमा शान्ति बाटिका फलफूल प्रशोधन केन्द्र स्थापना गरे।

उनको प्रशोधन केन्द्रमा कागती, आँप, लप्सी, अमला, तामा लगायतका अचार उत्पादन हुन्छ। उत्पादन सुरु गरेको ६ महिनामा १३ क्विन्टल कागतीको अचार तयार गरेका उनी हौसिँदै अचारका प्रकार थप्दै गएको बताउँछन्। ‘अचारले राम्रो मूल्य पनि पाउने र तुरुन्तै बिक्री हुन थालेपछि अचार उद्योगमा मन जान थाल्यो,’ उनले भने,

‘यसैबाट अहिले वार्षिक १५ लाख रूपैयाँ आम्दानी गरिरहेको छु।’ उनले हाल वार्षिक २२ क्विन्टल आँप र ३० क्विन्टल कागतीको अचार उत्पादन गर्दै आएका छन्। सुदूर पहाडबाट लप्सी र अमला मगाएर अचार उत्पादन गरिरहेका छन्।  उनले वार्षिक सात क्विन्टल लप्सी र १० क्विन्टल अमलाको अचार बनाउने गरेको बताए। 

प्रकाशित: २३ फाल्गुन २०७७ ०६:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App