३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेपाल-चीन जोड्ने मितेरी पुलको तत्काल मर्मत गर्नुपर्ने

चीन सरकारले नेपाल चीन सीमा क्षेत्र रसुवागढीमा निर्माण गरेको मितेरी पुल तस्बिरः हिमनाथ/नागरिक

चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा डेढ वर्षअघि निर्माण गरिएको मितेरी पुलको तत्काल मर्मत गर्नुपर्ने भएको छ। बर्खाको समयमा बाढीले मितेरी पुलमा क्षति गरेका कारण तत्काल मर्मत गर्नुपर्ने भएको हो।  

मितेरी पुलको मर्मत कार्य दुई किसिमले गर्न सकिने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। तत्कालको लागि क्षति रोक्ने हो भने ग्याविन वाल लगाउने र पछिसम्मका लागि क्षति हुन नदिने हो भने आरसीसी कटअफ वाल लगाउन पर्ने उनको भनाई छ।  

नाकाबाट शुक्रबारदेखि सामग्रीको आयात सुरु भएपछि चिनियाँ पक्षले पुलको अवस्थाबारे नेपाललाई जानकारी दिएको हो। जानकारी आएपछि योजनाले दुई जना इन्जिनियर तथा प्राविधिकलाई रसुवागढी नाकामा पठाएको थियो। 

उनीहरूले पुलको अवस्था अध्ययन गरेका छन्। तत्काल मर्मत नगरेमा उच्च जोखिम हुने भएकाले नेपाली पक्षले मर्मत प्रक्रिया अघि बढाएको छ। मितेरी पुलको पुनर्निर्माण तिब्बत इन्जिनियरिङ कम्पनी लिमिटेड तान सुन रोड एण्ड ब्रिजले गरेको थियो।  

पुलको पुनर्निर्माण गरेको निर्माण व्यवसायीले कति वर्षसम्म मर्मत कार्य गर्ने भनेर सम्झौता गरेको छ सोही अनुसार नेपाली पक्षले मर्मत कार्य अघि बढाउने छ। ‘सम्झौता अनुसारको समय सकिएको भए हामीले नै मर्मत कार्य गर्छौ’, उनले भने, ‘यसका लागि बनिसकेपछिको नक्सा हामीलाई उपलब्ध गराउन पर्छ।’

२०७५ कार्तिकबाट चीन सरकारले मितेरी पुलको निर्माण सुरु गरेकोमा २०७६ जेठमा निर्माण सम्पन्न भएको थियो। मितेरी पुल जीर्ण बनेको र भूकम्पका कारण थप क्षति गरेपछि त्यहीँ स्थानमा नयाँ पुल निर्माण गरिएको थियो। चीन सरकारको सहयोगमा चिनियाँ टोलीले पुल निर्माण गरेको हो।

मितेरी पुलको निर्माणले दुई देशबीचको सम्बन्ध प्रगाढ हुने, व्यापार प्रवद्र्धनमा सहयोग पुग्ने र चीन सरकारको वान वेल्ट वान रोडको अवधारणमा सयोग पुग्ने विश्वास गरिएको थियो। नाकामा सवारीको चाँप बढ्दै जाँदा सवारी जोखिमलाई मध्यनजर गर्दै पुल निर्माण गरिएको हो। पुनर्निर्माण भएको पुल पहिले रहेको पुलभन्दा ५ मिटर उत्तरपूर्व सरेकोे छ। २०१८ सेप्टेम्बरबाट सुरु गरेर २०१९ मे महिनासम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। पुलको लम्बाइ ११० मिटर र चौडाइ ९ मिटर रहेको छ।  

प्रकाशित: २२ फाल्गुन २०७७ ११:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App