२० वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

पर्यटकलाई मापदण्ड अवरोध

फाइल तस्बिर

पोहोर फेब्रुअरीको तुलनामा यो वर्ष झन्डै ८७ प्रतिशतले पर्यटक आगमनमा कमी देखिएको छ। सरकारले सन् २०२० मा २० लाख पर्यटक नेपाल ल्याउने घोषणा गरेर पर्यटन वर्ष आयोजना गरे पनि कोरोना महामारीका कारण गत वर्ष मार्च २० देखि अन्तर्राष्ट्रिय उडान बन्द भएसँगै नेपालमा पर्यटकको आगमन ठप्प भएको थियो।

उडान खुलेसँगै सरकारले आठ महिनापछि नोभेम्बर १७ देखि नेपालमा विदेशी पर्यटक आगमन खुला गरे पनि सरकारी मापदण्डका कारण पर्यटक संख्या बढ्न सकेको छैन। बन्दाबन्दीको आठ महिनापछि पर्वतारोहण र पदयात्रा नियमित भए पनि अझै विदेशीलाई होटल क्वारेन्टिन बस्नुपर्ने बाध्यता कायमै रहेकाले पर्यटक संख्या बढ्न नसकेको व्यवसायीको बुझाइ छ।

त्यस्तै, अनअराइभल भिसामा देखिएको समस्या, क्वारेन्टिनको बाध्यता जस्ता कारणले पर्यटकीय क्षेत्र चलायमान हुन नसकेको तथा आरोहण क्षेत्रमा समेत उक्त प्रभाव कायम रहेको व्यवसायीले बताएका छन्। उक्त प्रभाव अध्यागमन विभागले जारी गरेको तथ्यांकले समेत पुष्टि गरेको छ। विभागको तथ्यांक अनुसार यो वर्षको पहिलो महिनामा आठ हजार आठ सय ७४ विदेशी नेपाल आएकोमा दोस्रो महिनामा नौ हजार एक सय ४६ जना आएका छन्। यो संख्या हवाईमार्गबाट आउनेको हो।

विभागका अनुसार फेब्रुअरीमा सबैभन्दा बढी भारतबाट आएका छन्। यसपालि पोहोरको तुलनामा ६७.९ प्रतिशतले कम चार हजार सात सय ६३ भारतीय नेपाल भित्रिएका छन्। सन् २०२० को फेब्रुअरीमा १४ हजार आठ सय ४० भारतीय नागरिक नेपाल भित्रिएका थिए। कोरोनाको उद्गम मानिएको चीनबाट अघिल्लो वर्षको तुलनामा ७७.९ प्रतिशतले कम पर्यटक आएका छन्। फेब्रुअरीमा सात सय आठजना चिनियाँ नेपाल आएका छन्।

पोहोर फेब्रुअरीमा तीन हजार दुई सय सात चिनियाँ नेपाल आएका थिए। फेब्रुअरीमा पाकिस्तानबाट ३९, भुटानबाट १५, श्रीलंकाबाट १९, जापानबाट २७, मलेसियाबाट २१, सिंगापुरबाट चार, दक्षिण कोरियाबाट ७४, म्यानमारबाट ३८ र थाइल्यान्डबाट ३१ जना नेपाल आएका छन्।  

त्यस्तै, युरोपियन देश अस्ट्रियाबाट १४, बेल्जियमबाट ६७, चेक रिपब्लिकबाट १५, डेनमार्कबाट १७, फ्रान्सबाट ९१, जर्मनीबाट एक सय २६, इजरायलबाट नौ, इटालीबाट ३१, नेदरल्यान्डबाट ७२, नर्वेबाट १२, पोल्यान्डबाट १६, रसियाबाट ६३, स्विजरल्यान्डबाट ३७, स्पेनबाट ३०, स्विडेनबाट १८ र युकेबाट पाँच सय २४ जना आएको देखिन्छ। यो वर्ष अस्ट्रेलियाबाट ३६, न्युजिल्यान्डबाट ११ जना आएका छन्।

त्यस्तै, क्यानडाबाट एक सय १५ र अमेरिकाबाट एक हजार एक सय २० जना आएको विभागको तथ्यांकमा उल्लेख छ। हालको मापदण्ड हटाएको खण्डमा पर्यटक आगमन बढ्ने पर्यटन व्यवसायीको बुझाइ छ। नेपालको मुख्य पर्यटकीय मौसम मार्च, अप्रिल र मे हो। यो अवधिमा पर्वतारोहण तथा पदयात्राका लागि उल्लेख्य संख्यामा विदेशी नेपाल आउने गरे पनि यसपालि आरोहणमा रुचि देखाउनेको संख्या तीन सयभन्दा माथि जान नसकेको पर्यटन विभागले जनाएको छ।  

कोरोना नियन्त्रण मापदण्ड पुनरावलोकन गर्नुपर्ने भन्दै नेपाल पर्वतारोहण संघ, होटल एसोसिएसन अफ नेपाल (हान), ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान), नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) लगायत संस्थाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, बोर्ड लगायतको ध्यानाकर्षण गराउँदै आएका छन्। सन् २०२० मा दुई लाख ३० हजार ८५ विदेशी पर्यटक नेपाल आएका थिए।  

प्रकाशित: २१ फाल्गुन २०७७ ०५:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App