१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मौलिक खानाको ब्रान्डिङले पर्यटक ल्याउन सकिन्छ: साह

फाइल तस्बिर

‘बिबिसी मास्टर सेफ प्रोफेसनल सिरिज–२०२०’ का उपविजेता सन्तोष साहले नेपाली मौलिक खानाको माध्यमबाट पनि पर्यटक आकर्षित गर्न सकिने बताएका छन्।  नेपाली खानालाई विश्व समुदायमा पुर्‍याउन भूमिका खेलेबापत नेपाल पर्यटन बोर्डले मंगलबार उनको सम्मानमा एक कार्यक्रम गरेको थियो। सोही कार्यक्रममा साहले उक्त टिप्पणी गरेका हुन्।

साहले नेपाली मौलिक खाना र आतिथ्यलाई प्राथमिकता दिए दिगो पर्यटन विकाससँगै पर्यटकको बसाइ लम्बाउन सघाउ पुग्ने बताए। उनले विश्व समुदायको अगाडि नेपाली खाना भनेर नाक खुम्च्याउने समय नरहेको पनि बताए। नेपालका हरेक समुदायसँग मौलिक खानाको भण्डार रहेकाले ती स्वादलाई विश्वसामु पुर्‍याउनु आवश्यक रहेको उनको भनाइ छ।

‘नेपालमा हरेक समुदायपिच्छे फरक खानाका परिकार छन्,’ उनले भने, ‘देशको भूगोल अनुसारका खानाले विश्वको ध्यान तान्न सक्छ।’ उच्च हिमालीदेखि तराई र पहाडको मौसम अनुसारको खानाले पर्यटन पवर्धनमा सहयोग गर्ने उनको विश्वास छ। खाना र आवासको व्यवस्थापनमा उचित ध्यान दिन सके नेपाली खानाप्रतिको विदेशी भम्र चिर्न सहयोग पुग्ने उनको धारणा छ।

गुन्द्रकदेखि योमरीसम्मका नेपाली खानाले फ्रेन्च खानालाई समेत टक्कर दिन सक्ने भन्दै उनले नेपाली खानको कपिराइट समेत हुनुपर्नेमा जोड दिए। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव एवं पर्यटन बोर्डका अध्यक्ष यादवप्रसाद कोइरालाले साहले नेपाली खानामात्र नभई नेपाली भावना समेत पस्केको र यसले हिमाल, पहाड, तराईको एकता र सद्भावलाई प्रतिनिधित्व गरेको बताए।

पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनन्जय रेग्मीले साहले नेपाल र नेपालीको पहिचानलाई विश्वभर नयाँ उचाइ दिएको बताए। उनले नेपाली खानाको स्वच्छता कायम गर्दै यसको ब्रान्डिङमा ध्यान दिनुपर्ने आवश्यकता पनि औंल्याए। रेग्मीले यहाँ सयभन्दा बढी जातजातिका खाना रहेकाले तिनको प्रर्वद्धन गर्न सके पर्यटनको नयाँ प्रडक्ट बन्ने बताए।

प्रकाशित: १९ फाल्गुन २०७७ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App