१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

आफ्नै प्रतिवद्धतामा चुक्दै निर्माण व्यवसायी

फोक्सिङटार ‘आर्क’ ब्रिज ढिलासुस्ती

सुनकोसीको फोक्सिङटारमा निर्माणाधीन आर्क ब्रिजको खोटाङतर्फको बिम । तस्बिर : नागरिक

खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारस्थित सुनकोसीमा ‘आर्क’ ब्रिज निर्माणको जिम्मा लिएका निर्माण व्यवसायी आफ्नै प्रतिवद्धता अनुसारको प्रगति देखाउन चुकेको छ । खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने सुनकोसी पुल निर्माणको ठेक्का लिएका निर्माण व्यवसायी आफैले गरेको प्रतिवद्धता अनुसारको कामको प्रगति देखाउनबाट चुकेको हो । गत माघ २६ गते काठमाडौंमा भएको छलफलकाक्रममा खोटाङकै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष भूपेन्द्र राई र सडक बिभाग पुल योजना पूर्वी क्षेत्र सेक्टर नम्बर १ का डिई कैलास शाहको अगाडि निर्माण व्यवसायी रामकुमार थापाले गत फागुन १० गतेभित्र खोटाङतर्फको पिलर बिम र त्यसमाथि स्ल्याव ढलान गर्ने प्रतिवद्धता जनाएका थिए । तर, निर्माण व्यवसायी थापाले आफ्नो प्रतिवद्धता अनुशार पुलको कामको प्रगती देखाउन नसकेको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अध्यक्ष राईले बताए ।  

उदयपुरतर्फको बिम र त्यसमाथि स्ल्याव ढलान गरिसकेका निर्माण कम्पनी गौरी पार्वती वाईपी जेभीलाई खोटाङतर्फको बिममाथि स्ल्याव ढलान गर्न अझै हप्ता÷दश दिन लाग्ने अनुमान गरिएको छ । बिम ठडिए पनि हाल ढलानकालागि भने फर्मा ठड्याउने काम भइरहेको छ । ‘आज पुनः फोक्सिङटार पुगेँ । माघ २६ गते गरेको प्रतिवद्धता अनुसारको प्रगति भएन तर कामको रफ्तार बढेको देखिएको छ,’ शुक्रबार पुल निर्माणस्थल पुगेर फर्किएका गाउँपालिका अध्यक्ष राईले भने, ‘यही गतिमा काम गरिरह्यो भने खोटाङतर्फको बिम र स्ल्याव ढलान हप्ता दिनमा पूरा गर्ने अनुमान गर्न सकिन्छ ।’ निर्माण व्यवसायीले हाल खोटाङतर्फको आर्क राख्ने रडको प्वाल ड्रिल लगाएर छेडिरहेको छ । बिमको फेदमा गरिएको ढलानमा रहेको आर्क राख्ने रड वर्षाको बाढीले बगाएको थियो ।  

खोटाङलाई पूर्वी शहरसँग जोड्ने ‘आर्क–ब्रिज’ निर्माणको काममा चरम ढिलासुस्ती भएको व्यापक जनगुनासो आएपछि गाउँपालिका अध्यक्ष राईले पुलसँग सम्वन्धित डिई शाह र निर्माण व्यवसायी थापालाई काठमाडौंमा एक ठाउँमा भेला गरेका थिए । सोही छलफलमा निर्माण व्यवसायी थापाले फागुन १० गतेभित्र खोटाङतर्फको बिम र स्ल्याव ढलान गर्ने, वर्षा याम सुरु भएपछि बेलिब्रिज हटाइए पनि तुईन लगाएर पुल निर्माणको कामलाई निरन्तरता दिने प्रतिवद्धता जनाएका थिए ।  

पुल निर्माणको कामलाई द्रुत गतिमा अघि बढाउने वातावरण बनाउनका लागि दवाव सिर्जना गर्ने प्रयास स्वरुप गत माघ २४ गते स्थलगत निरिक्षण गरेको गाउँपालिका अध्यक्ष राई ठेकेदार खोज्दै काठमाडौं पुगेका थिए । दिक्तेलबाट दिप्रुङ चुईचुम्मा गाउँपालिका हुँदै उदयपुर पुग्ने गाईघाट–दिक्तेल सडक खण्डमा पर्ने तथा खोटाङलाई पूर्वीशहरसँग जोड्ने पुल निर्माणमा ढिलासुस्ती भएकाले चासो देखाउनु परेको गाउँपालिका अध्यक्ष राईले बताए । पुल निर्माणमा भइरहेको ढिलासुस्तीका विषयमा स्थानीय सरकार प्रमुखले चासो देखाएपछि माघ २७ गते सडक विभागमा समेत छलफल भएको भोलीपल्टै निर्माण व्यवसायी थापा फोक्सिङटार पुगेका थिए । ‘खोटाङ पछि परेको होईन, पारिएको हो । फोक्सिङटारमा बन्दै गरेको पुल निर्माणलाई निरन्तर दबाब र निगरानी गरिरहेका छौँ,’ गाउँपालिका अध्यक्ष राईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुलको काम सोचे जति र निर्माण व्यवसायीले प्रतिबद्धता अनुसार भइरहेको छैन । फेरि पनि भन्छु, हामी खोटाङ्गेको सुख र खुसी खोस्ने अधिकार कसैलाई छैन ।’  

कोभिड–१९ को महामारीका कारण काममा अवरोध पुगेको भन्दै जोगिएको निर्माण व्यवसायीले महामारी सामान्य बनिसक्दा समेत पुलको कामलाई सन्तोषजनक गति दिन सकेको छैन । फोक्सिङटारमा हरेक हिउँदमा बेलिब्रिज राख्ने गरिएको छ । तर वर्षा याममा बेलिब्रिज हटाइँदा नाकावन्दी लाग्ने गरेको छ । पुल अभावमा निर्माण सामग्री भित्र्याउन कठिन हुँदा विकास निर्माणका ठूला योजना प्रभावित हुने गरेको छ । पहिलोपल्ट थप भएको म्याद पुस १३ गते नै सकिइसकेको छ । सार्वजनिक खरिद (नवौं संशोधन) नियमावली अन्तरगत सो पुलको पहिलोपल्ट म्याद थप भएको थियो । कोभिड–१९ को महामारीका कारण पुल निर्माणको काम ६ महिना थप हुने जनाइएको छ ।  

करिब १९ करोड ६० लाखमा पूरा गर्नेगरी गौरी पार्वती वाईपी जेभीले जिम्मा लिएको पुल निर्माणको गति अत्यान्तै सुस्त छ । २०६९ साल चैत्र २३ गते ठेक्का लागे पनि २०७३ साल कार्तिकमा डिजाईन परिवर्तन गरेर काम थालिएको पुलको म्याद गत २०७५ साल चैत्रमै गुज्रिएको थियो । जिल्लाको पुर्वी नाकामा पर्ने पुल निर्माणको काममा चरम ढिलासुस्ती भएकामा जिल्लाबासी असन्तुष्ट छन् । मुग्लिनको आर्क पुलको शैलीमा निर्माण हुने पुलमा भएको ढिलासुस्तीका विषयमा सामाजिक सञ्जालदेखि जिल्लामा हुने विभिन्न सार्वजनिक कार्यक्रममा ठेकेदारको आलोचना हुने गरेको छ । पुल निर्माणमा चरम ढिलासुस्ती भएको भन्दै प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईले गृहमन्त्री समक्ष २०७५ साल कात्तिक ५ गते ठेकेदार कम्पनी गौरी पार्वती वाईपी जेभीलाई कालोसूचीमा राखेर कारबाही गर्न माग गरेका थिए ।  

सुरुमा २०७३ साल चैत्र २४ गतेसम्ममा पूरा गर्नेगरी फोक्सिङटारमा ‘ससपेन्सन ब्रिज’ निर्माणका लागि २०६९ साल चैत्र २३ गते ठेक्का लागेको थियो, तर त्यसको सट्टा ‘आर्क’ डिजाईनको पुल निर्माण गर्ने भन्दै २०७३ साल कात्तिकमा डिजाईन परिवर्तन गरिएको थियो । फोक्सिङटार खोटाङ र पूर्वी शहर शहर जोड्ने प्रमुख नाका हो । फोक्सिङटारको भौगोलिक अप्ठ्यारोका कारण ‘ससपेन्सन ब्रिज’ निर्माणको काममा ढिलाई हुने भएकाले डिजाईन परिवर्तन गरेर ‘आर्क’ डिजाईनको पुल निर्माण सुरु गरिएको थियो । दोश्रो पटक डिजाईन स्वीकृत नहुञ्जेल निर्माण कम्पनीले पुलको काम गर्न सकेन । हाल ढिलासुस्तीको कारण त्यही डिजाईन परिवर्तन र डिजाईन स्वीकृतिमा भएको ढिलाईलाई देखाउने गरिएको छ । तर, पुलको नयाँ डिजाईन स्वीकृत भए यताको पुलको काममा ठेकेदारको चरम ढिलासुस्ती देखिएको स्थानीय बताउँछन् । बाढीका कारण पुलको काम हरेक वर्षा याममा ठप्प हुने गरेको छ ।  

ठेक्का लागेको लामो समय बित्दा समेत फोक्सिङटार पुल लगायतका भौतिक संरचनाको काम सन्तोषजनक नभएको भन्दै जिल्लाबासीले पटक–पटक बिरोध गर्दैआएका छन् । ढिलासुस्तीका विरुद्ध २०७२ साल माघ २४ गते सडक बिभागमा धर्ना दिएका जिल्लाबासीले चैत्र २३ गते घेराउ गरेका थिए । सडक बिभाग घेराउकाक्रममा सांसद, नेता र जिल्लाबासीमाथि प्रहरी हस्तक्षेप भएको थियो । २०७२ चैत्र २४ गते पुल र सडक चाँडो निर्माणको माग गर्दै कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिए र सदरमुकाम दिक्तेलमा विरोध र्‍याली निकालेको थियो ।

प्रकाशित: १५ फाल्गुन २०७७ ०४:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App