५ वैशाख २०८१ बुधबार
अर्थ

पोल्ट्रीमा लगानी बढाउँदै व्यवसायी

सिन्धुलीका पोल्ट्री व्यवसायीले रोजगारी ठूला फर्म सञ्चालन गर्दै रोजगारी सिर्जना गर्न थालेका छन्। यहाँको एक पोल्ट्री फर्मले १३ जनालाई रोजगारी दिएको छ। कमलामाई नगरपालिका–५ मा रहेको धमिजा बहुउद्देश्य कृषि फर्मले ठूलो संख्यामा ब्रोइलर कुखुरा पालेको छ।

आठ हजार कुखुरा पाल्न मिल्ने गरी सञ्चालन गरिएको पोल्ट्री फर्मलाई बढाएर हाल २५ हजार कुखुरा पाल्न सकिने बनाइएको छ। उक्त फर्ममा अहिले २३ हजार ब्रोइलर कुखुरा छन्। साना किसानले थोरै ब्रोइलर पाल्दा जिविकोपार्जन कठिन हुने भन्दै कुखुरा पाल्न छाडेसँगै ठूला व्यवसायी अग्रसर भएका हुन्।

‘थोरै कुखुरा पाल्दा खासै फाइदा हुंदैन, उल्टै घाटा हुन्छ,’ फर्म सञ्चालक गोविन्द खड्काले भने, ‘ठूलो संख्यामा पाल्दा एउटा कुखुरामा थोरै नाफा हुँदा पनि एकमुष्ठमा राम्रै हुन्छ।’ उनको फर्ममा काम गर्ने कामदारलाई आठ हजारदेखि २० हजारसम्म तलब छ। ‘कामदारका बालबालिकालाई बोर्डिङ पढाइदिएको हुन्छ, यसका अलावा बस्ने, खाने सुविधा सहित उक्त तलब दिएको हुँ,’ उनले भने।  

उनले समय अनुसार मासुको भाउमा आउने उतारचढावलाई ध्यानमा राखेर कुखुरा फर्ममा हाल्नुपर्ने बताए। ‘कहिलेकहीँ घाटा पनि हुन्छ, तर ठूलो परिमाणमा हुँदा त्यसले कभर गर्छ,’ उनले भने। उनको फर्ममा कुखुरा एकैपटक तयार हुँदैन। ‘एउटा खोरको बेचिसक्दा अर्को खोरमा ठिक्क बेच्ने बेला हुन्छ,’ उनले भने, ‘खालि भएको खोरमा चल्ला हाल्ने र तयारी भएको बेच्ने गरेको छु।’  

झन्डै दुई करोड लगानीमा उक्त फर्म सञ्चालन भएको सञ्चालक खड्का बताउँछन्। ‘कुखुरा पाल्न ठूलै लगानी भएको छ,’ उनले भने, ‘लगानी अनुसार प्रतिफल पनि सन्तुष्ट हुने खालकै छ।’ स्वतन्त्र भएर गर्न काम गर्न सकिने भएकाले यो व्यवसाय रोजेको उनले बताए। ‘किसानी पेसामा केहीको तनाव हुँदैन मात्रै फर्म र व्यवसायको संरक्षण गर्न सके पुग्छ,’ उनले भने।

पछिल्लो समय सिन्धुलीका ब्रोइलर पाल्ने साना किसानको कमी भएसँगै ठूलो लगानीमा धेरै कुखुरा पाल्ने फर्म सञ्चालन गर्ने बढ्दै गएका छन्। करोडभन्दा बढी लगानीमा कुखुरा फर्म सञ्चालन गर्न व्यवसायी आकर्षित भएका हुन्। कमलामाई नगरपालिका–५ मै व्यवसायी शंकर भण्डारीले ठूलो खालको फर्म सञ्चालन गर्न धमाधम निर्माण गरिहेका छन्।

 उनी शिक्षक पेसाबाट अवकाश लिई कुखुरापालनमा जुटेका हुन्। ४५ दिनमै मासु खानयोग्य हुने र तौल पनि आउने भएकाले ब्रोइलर फर्म सञ्चालन गर्न व्यवसायी इच्छुक भएका हुन्। यहाँ पालिएका कुखुराको मुख्य बजार काठमाडौं भएको व्यवसायी बताउँछन्। ‘हामीले पालेको सबै कुखुरा बिक्री गर्न काठमाडौं लैजानुपर्छ,’ भण्डारीले भने।

प्रकाशित: १३ फाल्गुन २०७७ ०५:०८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App