९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

उदयपुरगढी पुनर्निर्माण गर्न थप दुई करोड

अघिल्लो वर्ष सुरु भएको निर्माणाधीन पुरानो गढीको बंकर । तस्बिरः महेश्वर

जिल्लाको पुरानो सदरमुकाम उदयपुरगढीस्थित ‘पुरानो गढी पुननिर्माण’ गर्न झण्डै २ करोड बजेट सरकारले छुट्याएको छ । गतसाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न देशभरका १ सय पर्यटन गन्तव्यभित्र परेको उदयपुरगढीको पर्यटकीय प्रबद्र्धन गर्न गाउँपालिकाले थालेको पुरानो गढी पुनर्निर्माणलाई पूर्णता दिन सरकारले भर्खरै १ करोड ९३ लाख रुपैंया छुट्याएको हो ।  

बजेट छुटिएसँगै अघिल्लो वर्ष गाउँपालिकाले निर्माण थालेको पुरानो गढीको संरचना कार्य सुचारु हुने भएको छ । गतवर्ष संघीय सरकारकै ५० लाख र गाउँपालिकाको २३ लाख ५० हजार गरी साढे ७३ लाखमा पहिलो चरणको काम सुरु भएको थियो । ‘गढी पुनर्निर्माण उपभोक्ता समिति’का अध्यक्ष घिमिरेले तत्कालीन गढीको जग, बङ्कर र कम्पाउण्ड घेराबेरा गतवर्ष नै बनाइसकेको बताए । अव प्राप्त हुने बजेटबाट गढीलाई पुनर्जीवन दिलाउने अन्य ऐतिहासिक प्रमाण अध्यन गरी सकेसम्म पहिलेजस्तै गढी बनाइने उनले बताए ।  

गाउँपालिकाले गढी पुनर्निर्माणका लागि २ करोड ७५ लाखको डिपिआर (बिस्तृत परियोजना प्रतिबेदन) तीन वर्षअघि नै तय गरेको छ । गाउँपालिकाले ८२ लाख लागत सहभागितावापत जुटाउनेछ भने बाँकी पर्यटन मन्त्रालयसँग माग गरे अनुसार सो बजेट दिने कार्यक्रम स्वीकृत भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुबेदीले बताए । उनका अनुसार मन्त्रालयको गत माघ २९ गतेको निर्णय अनुसार गढी पुनर्सरनाका लागि सो बजेट स्वीकृत भएको हो ।  

बजेट स्वीकृत भएसँगै पुरानो गढीको पुनर्संरचना कार्य सुचारु हुन लागेको सुबेदीले बताए । उदयपुरगढीको इतिहास पुनर्जीवन गर्दै तत्कालीन अवस्था झल्कने गरी पर्यटन केन्द्र बनाउन गाउँपालिकाले काम सुचारु गर्ने उनले बताए । रकम निकासा भने भईनसकेको बताउँदै अधिकृत सुबेदीले फागुनभित्र निकासा भए चैत सुरुदेखि काम सुचारु गर्ने बताए । १ करोड ९३ लाख स्वीकृत भए पनि चालुवर्ष सबै वा आधा कति निकासा हुन्छ भन्ने यकिन भने नभएको सुबेदीले बताए ।  

तत्कालीन २२ से २४ राज्यकालमा हाल चौदण्डीगढी नगरपालिका १ मा पर्ने चौदण्डीगढी राज्यको सहायक मुकाम बनाएर राखिएको ठाउँ हो उदयपुरगढी । पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा उदयपुरगढी कब्जा गरेर युद्धपोत स्थापना गरेको इतिहास रहेको घिमिरे बताउँछन् । त्यो इतिहासलाई स्मरण गराउने गरी पुरानो गढीको पुनर्सरचना गर्दै पर्यटनकेन्द्र बनाउन लागिएको हो ।  

गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगरका अनुसार ‘नेपाल भ्रमण वर्ष सन् २०२०’मा उदयपुरगढी देशभरका १ सय प्रमुख गन्तव्यमध्ये एक घोषित भएको छ । सय गन्तव्यमध्ये परेसँगै स्थानीय समाजसेवी घिमिरेलाई पर्यटन समिति संयोजक तोकेर गाउँपालिकास्तरीय पर्यटन प्रबद्र्धनको गतिबिधि सुरु गरे पनि कोविडका कारण अभियान रोकिन पुगेको थियो । कोविड कहरपछि लय समात्दै गएको पर्यटन प्रबद्र्धनलाई सरकारले छुट्याएको बजेटले टेवा पुग्ने अध्यक्ष मगरले बताए । उनका अनुसार समयमा बजेट निकासा भए आउँदो वर्षभित्र गढीको पुनर्सरचना गरिसक्ने लक्ष्य लिएर काम अघि बढाउने तयारी थालिएको छ ।  

उदयपुरगढी गाउँपालिकाको ५ नं. वडामा पर्छ । त्यहाँ रहेको झण्डै दुईसय ५० वर्षअघिको पुरानो गढीको भग्नावशेषलाई पुनर्जीवन दिने काम पुनर्सरचनाले गर्नेछ । पुरानो गढी, तत्कालीन सैनिक बङ्कर, कोतखाना, युद्धपोत र सुरक्षा संयन्त्रको ध्वस्त संरचनाको भग्नावशेषका संरचनासहित पुननिर्माण गरिने उनले बताए । गाउँपालिका मुकामदेखि १ किलोमिटर उत्तर–पश्चिममा रहेको पुरानो गढी पुनर्संरचनापछि पर्यटकको आकर्षण बढ्ने अपेक्षा समितिले लिएको छ ।

चारैतिर मिलेको दमस्याईलो थुम्को र तलतिर भिरालो हुँदै गएको उदयपुगढी अत्यन्त मनमोहक र पर्यटकीयस्थलको प्रचुर संभावना बोकेको ठाउँ हो । ०२८ सालमै कच्ची सडक पुगिसकेको भए पनि ०२९ सालमा त्यहाँको सदरमुकाम गाईघाट सारेपछि बिरानो बन्दै गएर गढी भग्नावेशषमा मात्र सीमित हुन पुगेको थियो । साविक पञ्चावती गाविस कार्यालय, जिल्लाकै जेठो पञ्चावती माध्यामिक विद्यालय १–१२), स्वास्थ्यचौकी, प्रहरी चौकी, इलाका हुलाक, कृषि तथा भेट्नरी कार्यालय रहे पनि मानव आकर्षण कम रहेको उदयपुरगढी क्षेत्र ०७३ मा सम्पन्न स्थानीयतह निर्वाचनसँगै पुनः गुल्जार बन्दै गएको छ ।  

जिल्लाको मध्येभागमा पर्ने उयदपुरगढी गाउँपालिका साविकका पञ्चावति, तावाश्री, बर्रे, डुम्रे र भलायडाँडा गाविसलाई समायोजन गरेर बनाइएको हो । गाउँपालिका केन्द्र बनेसँगै ऐतिहासिक गढीको इतिहासलाई पुनर्जीवन दिन जनप्रतिनिधि र स्थानीय अगुवाले ऐतिहासिक पुरानो गढीको पुनर्संरचना थालेका हुन् । पुरानो गढीको पुननिर्माण गर्दा ५ सय मिटर व्यासको कम्पाउण्ड घेराबेरा, बाहिरपटि १ सय ३० मिटर लामो र ६ फिट अग्लो तथा भित्र १४ फिट उचाईको १ सय मिटर लामो गारो लगाइएको छ । त्यहाँभित्र गढी, कोतखाना, इनार र बगैंचा निर्माण गरिने छ भने सैनिक बंकर बनाउने प्राविधिक इस्टीमेट रहेको छ ।

प्रकाशित: १२ फाल्गुन २०७७ ०६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App