७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

नेपाल-चीन व्यापार सहज बनाउन सडक स्तरोन्नतिमा तीब्रता

नेपाल र चीनबीच स्थलमार्गबाट हुने आयात निर्यातलाई सहज बनाउनका लागि निर्माण गरिएको मैलुङ–स्याफ्रु सडक खण्डको स्तरोन्नतिको कामले गति लिएको छ। नेपाली सेनाले निर्माण गरेर हस्तान्तरण गरेको यो सडकको स्तरोन्नतिको काम गएको कार्तिक महिनादेखि सुरु भएको थियो। स्तरोन्नति सुरु भएको छोटो समयमा नै सोचेभन्दा राम्रो प्रगति भएको छ।  

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाका अनुसार अहिले सडक चौडा बनाउने कामले तीव्रता पाएको छ। मैलुङदेखि स्याफ्रुबेसीको दूरी १९ किलोमिटर रहेको छ। जसमा १४ किलोमिटर सडक खण्डमा चौडा बनाउने काम सकिएको छ। बाँकी ५ किलोमिटर रक क्षेत्र भएकाले केही समय लाग्ने देखिएको छ। सडक खण्डमा नाला बनाउने तथा टेवा पर्खाल लगाउने काम भइरहेको छ।  

मैलुङ स्याफ्रु सडक खण्डमा अहिले काम गर्न कुनै पनि समस्या नआएको भएपनि बर्खाको समयमा प्राकृतिक प्रकोपले समस्या सिर्जना गर्न सक्ने योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘अहिले सडक खण्डमा स्तरोन्नतिको काममा कुनैपनि समस्या आएको छैन’, उनले भने, ‘तर बर्खाको समयमा समस्या आउन सक्छ।’ यो सडक खण्डमा ठाडो खोल्सा धेरै भएको कारण सडकमा क्षति पुर्यामउने सम्भावना छ। दोस्रो खण्डको रूपमा रहेको यो सडकको स्तरोन्नतिको काम २०७९ माघमा सकाउने लक्ष्य राखिएको छ।  

समयसीमा अगावै निर्माण सम्पन्न गर्नगरी स्तरोन्नतिको कामलाई अघि बढाइएको योजना प्रमुख नारायणदत्त भण्डारीले बताए। ‘निर्धारित समय अगाडि नै काम सम्पन्न गर्नका लागि निर्माण पक्षलाई सहजीकरण गर्ने तथा प्रतिवद्धता गर्न लगाउने काम गरेका छौं’, उनले भने, ‘अहिलेको गतिमा काम हुन सकेमा लक्ष्य पूरा हुन्छ।’

नेपाल चीन बीच हुने व्यापारलाई सहज एंव दिगो बनाउनका लागि निर्माण गरिएको सडक भएकाले सबै चासो रहेको र सोही अनुसार ठेकेदारलाई ताकेता गर्ने, अनुगमन गर्ने लगायतका काम भइरहेको उनले बताए।  

यो आयोजना राष्ट्रिय प्राथमिकता प्राप्त सडक आयोजना हो। यो सडक बेत्रावती कालिकास्थान धुन्चेहुँदै स्याफ्रु जोड्ने सडक भन्दा २५ किलोमिटर छोटो छ। बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ। बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ।  

पासाङल्हामु मार्गअन्तर्गत पर्ने धुन्चे खण्डमा धेरै घुम्ती पार गर्नु पर्ने भएपनि यो सडकमा एउटा पनि घुम्ती रहेको छैन। गल्छीदेखि रसुवागढीसम्म पुग्न ८२ किलोमिटर दूरी पार गर्नुपर्छ। बेत्रावतीदेखि धुन्चे हुँदै स्याफ्रुबेंसी सडकमा उकालो र ओरालो हुँदै ३५ वटा कठिन घुम्ती पार गर्नुपर्ने भएपनि मैलुङतर्फबाट हिँड्नका लागि कुनैपनि घुम्ती पार गर्न पर्दैन।  

मैलुङ¬–स्याफ्रुबेसी सडकको विकल्पमा बेत्रावती धुन्चे स्याफ्रुबेंसी सडक प्रयोग गर्न सकिनेछ। २०४२ सालदेखि पासाङल्हामु मार्गअन्तर्गत बेत्रावती धुन्चे सडक सञ्चालन हुँदै आएको छ।  

 

प्रकाशित: ७ फाल्गुन २०७७ १२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App