३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

पर्यटन व्यवसायी भन्छन्ः अझै दुई वर्ष ऋण तिर्न सक्दैनौँ

कर्जाको साँवा र ब्याज तिर्ने अवधि बढाईदिन आग्रह

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । तस्बिरः उमेश पुन÷नागरिक

पर्यटन क्षेत्रले कोरोना भाइरस संक्रमणको मार खेप्न थालेको झन्डै वर्षदिन पुग्न थाल्यो । विश्वव्यापी रुपमा कोरोना भाइरसको त्रास फैलिँदै गर्दा सुरुमा पोखरेली पर्यटन व्यवसायीले संक्रमणको असर बढीमा एकवर्षसम्म रहिरहने आँकलन गरेका थिए । त्यही अनुसार व्यवसाय धान्ने उनीहरुको योजना थियो ।  

भाईरस संक्रमणका कारण आर्थिक रुपमा धरासायी बनेको पर्यटन व्यवसाय टिकाईराख्न सकस भएको भन्दै व्यवसायीले कर्जाको साँवा र ब्याज तिर्ने अवधि बढाईदिन सरकारसँग सुरुमै आग्रह पनि गरेका थिए । पर्यटन व्यवसायीले आर्थिक वर्ष २०७७÷७८ को मौद्रिक नीतिमार्फत ऋणको साँवा र ब्याज तिर्ने समय कम्तिमा ६ महिना बढाईदिनुपर्ने माग त्यो बेला गरेका थिए । तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै किस्ताको अवधि एकवर्षका लागि थपिदिएको थियो ।  

कोरोनाको मारमा परेको भन्दै पर्यटन व्यवसायीले त्यो बेला सबैभन्दा बढी जोडतोडका साथ उठाएको विषय थियो–पूर्नकर्जा, ऋणको साँवा–ब्याज तिर्ने समय थपिनुपर्ने, कर्जा पुर्नसंरचना तथा पूनर्तालिकीकरण हुनुपर्ने । व्यवसायीका यिनै मागलाई सम्बोधन हुनेगरि मौद्रिक नीतिमा उल्लेख गरिदिँदा व्यवसायी हौसिएका पनि थिए । तर, मौद्रिक नीतिले थपिदिएको समयमा पनि ऋणको साँवा र ब्याज तिर्न सक्ने अवस्था नभएको भन्दै समय थपिदिन व्यवसायीले पुनः आग्रह गरेका छन् ।  

व्यवसाय पहिलेकै आकारमा फर्किन नसक्दा अझै पनि ऋणको किस्ता तिर्न सक्ने अवस्था नरहेको उनीहरुको भनाई छ । कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकोले दुईवर्ष समय थपिदिन व्यवसायीले राष्ट्रबैंक समक्ष आग्रह गरेका छन् ।  पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन्, ‘कोरोनाको मार बढीमा एकवर्ष पर्ने हाम्रो सुरुको अनुमान थियो । त्यही अनुसार ६ महिनाको अवधि दिएर कर्जा पुर्नतालिकीकरण गरिदिन आग्रह गरेका हौ । तर, राष्ट्रबैंकले एकवर्षकै लागि व्यवस्था गरिदिएको पनि हो । तर, अब पनि किस्ता तिर्न सक्ने अवस्था छैन । यसैले समय थपिदिनुपर्छ भन्ने माग राखेका हौ ।’

पर्यटन क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिएको कर्जाको किस्ता आगामी दुईवर्षसम्मका लागि स्थगन गरिदिन माग गरेको उनले बताए । ‘पर्यटन क्षेत्र पुरानै लयमा फर्किन सकेको छैन । पाहुना आउन नसक्दा आम्दानी अझै भएको छैन,’ तुलाचनले भने, ‘व्यवसायी झनै अप्ठेरो अवस्थामा पर्दै गएका छन् । आम्दानी नै नभएपछि किस्ता तिर्न सकिने अवस्था छैन ।’  

तुलाचनका अनुसार मौद्रिक नीतिले आगामि असारसम्म ऋणको किस्ता तिर्न नपर्ने गरि छुट दिएपनि त्यसपछि पनि तिर्न सकिने अवस्था नरहेको उनले बताए । ‘आम्दानी अझै भएको छैन । तत्कालै पाहुना आउने अवस्था पनि देखिन्न । पाहुना नआएसम्म हाम्रो आम्दानी हुँदैन,’ उनले भने, ‘असारपछि पनि तिर्न सक्ने अवस्था नभएकोले अवधि थप दुईवर्ष बढाईदिन आग्रह गरेका हौ ।’  

ऋणको ब्याजमै छुट नभएपनि मौद्रिक नीतिमार्फत तिर्ने समय मात्र पछाडिका लागि धकेलिदिएको अवस्थामा अझै व्यवसाय सुचारु नहुँदा व्यवसायी झनै अप्ठेरोमा परेको उनले बताए । ‘समय नथपिएको खण्डमा आगामि असारपछि किस्ता तिर्न थाल्नुपर्छ,’ उनले भने, ‘अहिले त तिर्न सक्ने अवस्था नै छैन । पाहुना आउन नथालेसम्म अझै अवस्था नाजुक हुनेछ ।’ उनका अनुसार बैंकले अहिले व्यवसायीलाई कर्जाको साँवाको साटो ब्याज तिर्न आग्रह गरिरहेका छन् । तर व्यवसायी भने ब्याज पनि तिर्न सक्ने अवस्थामा नरहेको उनले बताए । ‘आम्दानी केही छैन । कर्जाको ब्याज पनि तिर्न सक्ने अवस्था भएन,’ उनले भने ।  

व्यवसाय पुरानै अवस्थामा नपर्केकोले गाह्रो भएको अध्यक्ष तुलाचनले बताए । सुरुमा एकवर्षका लागि समय थपिदिँदा त्यो बेलासम्म पर्यटन क्षेत्र पहिलेकै अवस्थामा फर्किने अनुमान भएपनि त्यसमा सुधार नआएको बरु झनै नाजुक हुँदै गएको उनले बताए । ‘हामीले बढीमा एकवर्षमा अवस्था सहज हुने ठानेका थियौ । तर, तत्काल सहज हुने छाँटकाँट देखिएन,’ उनले भने । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई बुधबार ६ बुँदे ध्यानाकर्षण पत्र पठाउँदै संघले समय अवधि थपिदिन आग्रह गरेको उनले बताए ।  

यसैगरी मौद्रिक नीतिमा व्यवस्था गरिएको राहात सम्बन्धि २० करोड रुपैयाँको दायरालाई बढाउन पनि व्यवसायीले माग गरेका छन् । साना व्यवसायीलाई ५ र ठुला व्यवसायीलाई २० करोड रुपैयाँसम्म पुर्नकर्जाको सिमा भएपनि ठुला व्यवसायीलाई अपुग भएको उनले बताए । ‘साना व्यवसायीलाई ५ करोड रुपैयाँले पुग्छ । तर, ठुला व्यवसायीका लागि २० करोड रुपैयाँको सिमा अपुग छ । त्यसलाई बढाएर ३० करोड रुपैयाँसम्म पु¥याउनुपर्ने हाम्रो माग हो,’ तुलाचनले भने । यस्तै होटलहरुको चालु पूँजी अन्तर्गत रहेको कर्जाको व्याजदर ५ प्रतिशत कायम गर्न तथा यसकोे दायरासमेत विस्तार गरिदिन संघले आग्रह गरेको छ । यो ब्याजदर अहिले पनि कम्तिमा ८ प्रतिशत रहेको व्यवसायीको भनाई छ ।  

पर्यटन बोर्डका पूर्व सदस्य समेत रहेका अर्का व्यवसायी टीकाराम सापकोटा पनि बैंकले अहिले कर्जाको ब्याज भएपनि तिर्नु भनेको अवस्थामा व्यवसायी त्यो समेत तिर्न सक्ने अवस्थामा नभएको बताउँछन् । ‘सरकारले नसक्ने अवस्थामा असारसम्म साँवा र ब्याज नतिर्नु भनेको हो । तर, समय नथपिएमा त्यसपछि भने तिर्नुपर्ने हुन्छ,’ सापकोटाले भने, ‘नयाँ समय थपिएन भने असारपछि तिर्नुपर्छ । तर असारपछि तिर्न सक्ने अवस्था छैन । किनकी पर्यटन क्षेत्र ब्यूँतिन सकेको छैन ।’  

कोरोनाको असर अझै यकिन नभएको र अहिलेको अप्ठेरो थेग्न सक्ने अवस्थामा पर्यटन व्यवसायी नभएको उनले बताए । ‘खोप लगाउन थालेर पनि पर्यटक तत्कालै आउने अवस्था छैन । असार पछि नै तत्कालै पर्यटक आउने र कमाउन थाल्ने सम्भावना छैन,’ सापकोटाले भने, ‘एकैपटक तिर्ने अवस्था छैन । समय नथपिएमा व्यवसायीलाई अप्ठेरो पर्नेछ ।’ पाहुना आइहालेमा पनि एकैपटक प्रयाप्त कमाई हुने गरि नआउने हुँदा व्यवसायी मारमै रहेको उनले बताए । 

प्रकाशित: ५ फाल्गुन २०७७ १२:१८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App