२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

सुन्तला खेतीले उकासियो राखु

बेनी नगरपालिका–३, भकिम्लीस्थित राखुको सुन्तलाखेती । तस्बिरः हरिकृष्ण गौतम÷नागरिक

बेनी नगरपालिका–३,भकिम्लीस्थित राखुका किसानले परम्परागत खेती लगाउन छाडेर व्यवसायिक सुन्तला खेती गर्न थालेका छन् । परम्परागत रुपमा लगाइने वर्षेबाली अन्तर्गतको मकै, कोदो, फापरलगायत खाद्यान्नको उत्पादन हुन छाडेपछि किसानहरु सुन्तला खेतीतर्फ आकर्षित भएका हुन् ।  

परम्परागत खाद्यान्नबालीले जीवन निर्वाह गर्न समेत मुस्किल परेपछि किसान सुन्तलालाई व्यवसायिकता दिन थालेका हुन् । उनीहरुले खाद्यबालीको सट्टा व्यवसायिक रुपमा सुन्तलाजाते फलफुल खेती गरेर मनग्य आम्दानी गर्न थालेका छन् ।  

उपल्लो र तल्लो राखुका करिब ६५ घरधुरी किसान व्यवसायिक रुपमा सुन्तला जातको फलपूmल खेतीतर्फ कम्मर कसेर लागेको स्थानीय मनकुमारी पुनले बताईन् । ‘महिलाको आम्दानीको स्रोत नै सुन्तला भएको छ, हामीलाई धेरै सहज भएको छ,’ उनले भनिन् । अनुकुल समयमा एकजना किसानले वर्षमा सुन्तला बिक्री गरेर झण्डै पाँचलाख रुपैयाँको हाराहारीमा आम्दानी गर्ने गरेका छन् । भकिम्लीका किसानले सुन्तला उत्पादन कृषक समूह बनाएर सामुहिक रुपमा अगाडि बढेका छन् भने वर्षेनी सुन्तला खेती फस्टाउँदै जान थालेको छ ।  

राखुका किसानलाई व्यवसायिक सुन्तला खेतीतर्फ आकर्षित गर्नका लागि तत्कालीन जिल्ला कृषि विकास कार्यालयले अनुदानमा सुन्तलाका बिरुवा तथा मलबिउको सहयोग, नर्सरी स्थापना र सुन्तला सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको थियो । स्थानीय जातको सुन्तला खेती गर्दै आएका राखुका किसानले गाउँकै नर्सरीबाट सुन्तलाका बिरुवा लगेर अन्य बगैंचा समेत निर्माण गरेका छन् ।  

यहाँका किसानको आम्दानीको मुख्य स्रोत नै व्यवसायिक सुन्तला खेती बनेको छ । राखु क्षेत्रका सबै घरमा सुन्तला खेती गरिएको छ । भकिम्लीको राखुसहित मरेक, डाँडाखानी, ज्यामिेरे लगायत स्थानमा पनि व्यावसायिक सुन्तला खेती गरिएको छ । थोरै लगानीमा गरेको सुन्तला खेतीले छोटो समयमा नै उत्पादन र राम्रो आम्दानी दिएपछि किसानको सुन्तला खेतीतर्फ आकर्षण बढ्दै गईरहेको वडा अध्यक्ष पदमबहादुर पुनले बताए । यसवर्ष सुन्तला बगैचामा फैलिएको औँसा किराको प्रकोपले गतवर्षको तुलनामा आधाभन्दा कम सुन्तला बिक्री भएको अध्यक्ष पुनले बताए ।  

औँसाको प्रकोपले पाक्ने समयमा बोट पहेंलो भएका र सुन्तला झर्ने समस्याले गतबर्षको तुलनामा भकिम्लीमै करिब ५० लाख रुपैयाँ बराबरको उत्पादन घटेको छ । म्याग्दी जिल्लाको समुन्द्री सतहबाट १ हजार २ सय मिटरदेखि १ हजार ६ सय मिटरको उचाइसम्म सुन्तला खेती हुँदै आएको छ । विरुवा रोपेको ६÷७ वर्षमै सुन्तलाले उत्पादन दिने कृषि ज्ञान केन्द्र म्याग्दीले जनाएको छ । कार्यालयबाट सुन्तला बगैंचा तथा कृषकलाई अनुदान र नर्सरी स्थापनामा सहयोग गरिएको छ ।  

जिल्लाका ६ वटै स्थानीय तहको ७ सय १० हेक्टर जमिनमा सुन्तला खेती भइरहेकोमा यसवर्ष २ सय ८० हेक्टरबाट २ हजार ३१० मेट्रिक टन सुन्तला उत्पादन हुन्छ । पकेट क्षेत्रमा बगैचा विस्तार, सुधार, पुराना बोट बोट काटछाट, सुन्तला ढुवानी गर्ने कार्टुनमा अनुदानका गतिविधिमा किसानकोे माग अनुसार सम्बन्धित निकायबाट भने सहयोग हुन नसकेको किसानको गुनासो छ । जिल्लामा बार्षिक १० करोड रुपैयाँ हाराहारी मूल्यकोमा सुन्तला विक्री हुने अनुमान गरिएको कृषि केन्द्रले जनाएको छ ।  

प्रकाशित: २८ माघ २०७७ ०८:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App