अबदेखि विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंकको पूर्वस्वीकृति नचाहिने भएको छ। राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको विदेशी लगानी तथा विदेशी ऋण व्यवस्थापन विनयमावली २०७७ अनुसार उद्योग विभाग वा लगानी बोर्डले स्वीकृति दिएपछि सहजै विदेशी लगानी भित्र्याउन पाइने छ।
यसअघि विदेशी लगानी भित्र्याउदा राष्ट्र बैंकसँग पूर्वस्वीकृति लिनु अनिवार्य थियो। कतिपयले त्यस्तो व्यवस्थाले गर्दा लगानीकर्तालाई झन्झट हुने गरेको गुनासो गर्दै आइरहेका थिए। पूर्वाधार विकासका लागि नेपालमा लगानीको आवश्यकता हुँदै आए पनि विदेशी लगानीकर्ता आकर्षित हुन सकेका छैनन्। विदेशी लगानी आकर्षित हुन नसक्नुमा अप्ठेरो सरकारी नीतिलाई संशोधन गर्नुपर्ने माग उठ्दै आइरहेको छ।
नयाँ व्यवस्था अनुसार लगानी स्वीकृत भएपछि विदेशी मुद्रा विदेश पठाउनुअघि राष्ट्र बैंकलाई जाानकारी गराउनुपर्ने व्यवस्था कायमै राखिएको छ। राष्ट्र बैंकका अधिकारीहरू प्रत्यक्ष वैदेशिक लगानीलाई प्रोत्साहन गर्न विद्यमान व्यवस्थालाई संशोधन गरी केही सहज बनाइएको बताउँछन्।
परिवर्तित नीतिले विदेशी लगानीकर्ताको आकर्षण बढ्ने अनुमान गरिएको छ। केही वर्षअघिसम्म भारत, चीन लगायतका लगानीकर्ताको पूर्वाधारमा लगानी गर्ने बचन दिए पनि पछिल्लो समयमा विदेशी लगानीकर्ताको चासो केही घटेको बताइन्छ।
कतिपय लगानीकर्ता भने वैदेशिक लगानीका लागि अझै कैयन सरकारी नीतिलाई सहज बनाउन आवश्यक रहेको तर्क गर्छन्। ‘खासगरी विदेशी लगानीको सुरक्षा, नाफा तथा सञ्चालनका लागि लगानीकर्तालाई विशेष ध्यान दिन आवश्यक छ,’ एक उद्योगीले भने, ‘यतिखेर स्वदेशी लगानीकर्तालाई नै काम गर्न कठिन छ भने विदेशीलाई झनै अप्ठेरो छ।’
अप्ठेरो नीतिलाई सहज बनाउने हो भने विदेशी लगानीकर्ताको नेपालमा आकर्षण बढ्ने उनको भनाइ छ। सरकारले विदेशी लगानीको आवश्यकता छ भन्ने गरे पनि लगानीमैत्री नीति बनाउन नसक्दा वैदेशिक लगानी छलफलमा मात्र सीमित हुन पुगेको उनले बताए।
प्रकाशित: २८ माघ २०७७ ०४:४५ बुधबार