८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

सिनेमा–टुरिजम : फिल्मले चिनाउँछ गन्तव्य

पर्यटकीय गाउँ घान्द्रुक । तस्बिर नागरिक

सुदर्शन थापाले निर्देशन गरेको पहिलो फिल्म थियो ‘मेरो एउटा साथी छ’। दशकअघिको त्यो फिल्ममा थापाले अन्नपूर्ण संरक्षण क्षेत्रभित्रको पर्यटकीय गाउँ घान्द्रुकलाई पनि अटाएका थिए। थापाको फिल्ममा घान्द्रुक अट्नुको कारण थियो– घान्द्रुक पर्यटकीय गाउँ हो। पर्यटनले चिनिएको घान्द्रुकसँग फरक संस्कृति र सुन्दरता छ। त्यही सुन्दरतासँग लोभिएका उनले फिल्मको गीतमा घान्द्रुकलाई समेटेका थिए।  

घान्द्रुक साच्चैको पर्यटकीय गाउँ हो। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को संरक्षित क्षेत्रभित्रको यो गाउँ अन्नपूर्ण आधारशिविर (एबिसी) पदमार्गको प्रवेशद्वार पनि हो। त्यही घान्द्रुकसँग आफ्नै कला, संस्कृति, रहनसहज र सुन्दरता छ। त्यसबाहेक त्यहाँबाट देखिने माछापुच्छे«, र अन्नपूर्ण रेञ्जको दृष्यले त घान्द्रुक पुगेका सबैलाई मोहित तुल्याउँछ।  

पर्यटनले पहिचान कमाएको घान्द्रुकलाई फिल्मकर्मीले प्राकृतिक स्टुडियो नै मान्छन्। त्यही प्राकृतिक स्टुडियो घान्द्रुकमा अहिलेसम्म धेरै फिल्म छायांकन पनि भइसकेका छन्। गीतमा त घान्द्रुक धेरैमा अटेको छ। पर्यटनमा अब्बल पहिचान बनाएको घान्द्रुक धेरै फिल्ममा समेटिँदा त्यसको सकारात्मक प्रभाव पर्यटनमा पनि पर्ने फिल्मकर्मी र पर्यटन व्यवसायीको बुझाइ छ।  

उनीहरू भन्छन्, ‘फिल्म र पर्यटनको एकअर्कासँग सम्बन्ध छ। फिल्ममार्फत पनि पर्यटन प्रवद्र्धन गर्न सकिन्छ।’ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको फ्रेममा विशेषतः पोखरा र आसपासका क्षेत्र अटाएका छन्। आगामी दिनमा मुलुकका थप ग्रामीण क्षेत्रलाई प्राकृतिक स्टुडियोको रूपमा प्रयोग गर्दा पर्यटन र फिल्म दुवै क्षेत्रमा विकास हुने उनीहरूको बुझाइ छ।  

फिल्म र पर्यटनको यही विषयमा छलफल गर्न पर्यटकीय क्षेत्र घान्द्रुकमा सरोकारवाला बहसमा पनि जुटेका छन्। फिल्म र पर्यटनको त्यो बहसको चाँजोपाँजो मिलाएको थियो चलचित्र पत्रकार संघ कास्कीले। ‘सिनेमा टुरिजम : सम्बन्ध र सम्भावना’बारे घान्द्रुकमा मंगलबार बहस गर्दै फिल्मकर्मी र पर्यटन व्यवसायीले पर्यटन र फिल्मको सम्बन्धबारे प्रस्ट्याउने प्रयास गरे।

छलफलमा सहभागी थिए, फिल्म निर्देशक सुदर्शन थापा र पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपी भट्टराई। थापा र भट्टराइलाई जोडेका थिए पत्रकार वासु मिश्रले। यो बेला कोरोना संक्रमणले सबै क्षेत्रलाई ध्वस्त बनाउँदा पर्यटन र चलचित्र पनि जोगिन नसकेको वक्ताहरूको भनाइ थियो। थापाले भने, ‘पर्यटन र सिनेमा एकदमै जोडिएको विषय हो। सिनेमा छायांकनका लागि विभिन्न ठाउँमा पुगिन्छ, ती ठाउँ पर्यटनमा अब्बल हुनसक्छन्। फिल्मले तिनै गाउँका सुन्दरता दर्शकसामु पस्किँदा त्यसको लाभ पर्यटनमा मिल्छ।’  

थापा फिल्म छायांकनकै लागि १२ वर्षअघि घान्द्रुक उक्लेका थिए। फिल्म सुटिङका लागि नयाँपुलदेखि खच्चरमा सामान बोकाएर घान्द्रुक आएको स्मरण गर्दै उनले भने, ‘सिनेमामार्फत पनि पर्यटन उकास्न सकिन्छ। म त्यसबेला (१२ वर्षअघि) र अहिले आउँदा घान्द्रुक धैरै नै बदलिएछ। केही हदसम्म टेलिफिल्मले पनि चिनायो घान्द्रुकलाई, त्यसबाहेक फिल्मको पनि केही योगदान त पक्कै छ। विकास निर्माण पनि निकै नै उकासिएछ।’  

थापाका अनुसार आधा दर्जन हाराहारी फिल्ममा घान्द्रुक समेटिएको छ। उनका अनुसार ‘सेतो सूर्य’ पनि घान्द्रुकमा छायांकन भएको थियो। शिशिर राणाको निर्देशनमा बनेको ‘तिमी सँग’ भन्ने फिल्म पनि घान्द्रुकमा छायांकन भएको थियो। यो फिल्मको कथावस्तु त झनै पर्यटनसँग सम्बन्धित थियो। टुरिस्ट गाइडको प्रेमकथामा फिल्म आधारित थियो।  

सिनेमा र गीतसंगीतले पर्यटकीय क्षेत्रको रूपमा कुनैपनि ठाउँ विशेषलाई चिनाउन सघाएपनि त्यसको विकास निर्माणमा सहयोग गरी नै हाल्ने भने नहुने निर्देशक थापाको मत छ। उनले भने, ‘मुस्ताङमा सुटिङ गर्दा ‘के यो माया हो ? फिल्म खिच्यौं तर त्यसमा भूगोलको चर्चा भएन। पछि त्यहीँ प्रेम गीत खिच्यौं। घाँसादेखि मुस्ताङसम्मको क्षेत्रलाई स्टोरीमा बाँधेर देखाउँदा स्थानीयको प्रतिक्रिया राम्रो पायौं। फिल्म हेरकै भरुमा आन्तरिक पर्यटन पुग्दा अझ राम्रो सुनियो। गाउँठाउँ, भेषभूषा, कल्चरलाई देखाउन सक्यौं भने रुचिका साथ दर्शकले हेर्न पाउँछन्।’

बहसमा सहभागी पर्यटन व्यवसायी भट्टराईले पनि फिल्मको माध्यमबाट पर्यटनको पनि प्रवद्र्धन हुने बताए। उनले भने, ‘सिनेमाको माध्यमबाट विश्वका धेरै ठाउँहरू पर्यटकीय हव बनेका छन्। सिनेमाबाट पोखरा आसपासका क्षेत्रले पहिचान बटुलेका छन्। अहिले पर्यटन संस्थाहरू अस्ताएको हो कि भन्ने लाग्छ। त्यसमा समन्वय जरुरी छ।’ पर्यटन सम्बद्ध संस्थाको सहयोग सिनेमा क्षेत्रलाई पर्याप्त नभएको पो हो कि ? पर्यटन परिषद्का अध्यक्ष भन्छन्, ‘माया त गरेकै छौं तर समन्वय नभएको चाहिँ हो। विगतमा भएको कमजोरीभन्दा पनि आगामी दिनमा राम्रो गर्दै जाने हो।’  

उक्त प्रसंगमा निर्देशक थापाको मत केही फरक थियो। उनले भने, ‘कुनै ठाउँलाई सिनेमाले पर्यटन क्षेत्रलाई उकास्यो भने पनि धन्यवाद पाएनौं। हामी पनि छायांकन सकेर त्यो ठाउँसँग दोहो¥याएर सम्बन्ध राखेनौं। स्थानीयस्तरमा त धेरथोर होला तर सम्बद्ध निकायसँग छैन।’

घान्द्रुकका व्यवसायी पनि पर्यटन र सिनेमाको सम्बन्ध रहेको स्वीकार्छन्। ‘घान्द्रुकलाई चिनाउन फिल्मको पनि भूमिका छ, घान्द्रुक पर्यटकीय गाउँ बाहेक फिल्मकर्मीका लागि प्राकृतिक स्टुडियो पनि हो,’ घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष किसम गुरुङले भने, ‘घान्द्रुक धेरै फिल्ममा समेटिएको छ। फिल्ममा देखेकै भरमा सुन्दर गाउँ पछ्याउँने पर्यटक पनि हुन्छन्।’ 

प्रकाशित: १६ माघ २०७७ ०३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App