८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

मेगा बैंकले बोनस शेयरसहित १३.०५ प्रतिशत लाभांश दिने

मेगा बैंक नेपाल लिमिटेडले शेयरधनीहरुका लागि बोनस शेयर सहित १३ दशमलव ०५ प्रतिशत लाभांश पारित गरेको छ।  

काठमाडौँमा बुधबार सम्पन्न मेगा बैंकको दशौं वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७६/७७ सम्म सञ्चित मुनाफा एवं वितरणयोग्य रकम मध्येबाट हाल कायम चुक्ता पुँजीको १३ दशमलव ०५ प्रतिशतले हुन आउने १ अर्ब ७३ करोड ८६ लाख ११ हजार ७ सय ५१ रुपैँया ७९ पैसा लाभांश पारित गरेको हो। त्यसमध्ये चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने १ अर्ब ३३ करोड २२ लाख ६९ हजार ५ सय ४१ रुपैँया ६१ पैसा बोनस शेयर र ३ दशमलव ०५ प्रतिशतले हुन आउने रकम ४० करोड ६३ लाख ४२ हजार २ सय १० रुपैंया १९ पैसा नगद लाभांश साधारण सभाले पारित गरेको छ।  

साधारण सभाले बैंकमा वैदेशिक रणनीतिक साझेदार ल्याउन सञ्चालक समितिलाई अख्तियारी पनि दिएको छ। मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले प्रचलित ऐन तथा कानुनको अधिनमा रही वैदेशिक रणनीतिक साझेदारको पहिचान गर्ने सम्बन्धमा आवश्यक कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्न गरेको प्रस्तावलाई साधारणसभाले पारित गरेको हो। यसैगरी, साधारण सभाले गाभ्ने अथवा गाभिने (मर्जर) र प्राप्ति गर्ने सम्बन्धमा आवश्यकता अनुसार मर्जर समिति गठन गर्न, समझदारी गर्न, मूल्यांकनकर्ता नियुक्त गर्न र शेयर आदानप्रदान अनुपात निर्धारण लगायतका कार्यका लागि सञ्चालक समितिलाई अख्तियारी दिएको छ।  

चालु आर्थिक बर्षको पहिलो त्रैमासिक अवधिसम्म बैंकको कुल निक्षेप १ अर्ब २४ करोड रुपैँयाले बृद्धि भई १ खर्ब ३३ अर्ब २६ करोड रुपैँया पुगेको छ। यसैगरी, खुदकर्जा ८ अर्ब रुपैँयाले बृद्धि भई १ खर्ब २१ अर्ब ८१ करोड रुपैँया पुगेको छ। गत त्रैमासमा बैंकले ६० करोड ७९ लाख रुपैँया खुद मुनाफा आर्जन गरेको छ।  

बैंककी सिइओ अनुपमा खुञ्जेलीका अनुसार, कोभिडबाट प्रभावित देशको अर्थतन्त्रलाई उकास्न मेगा बैंकले करिब १ अर्ब ९० करोड रुपैंया सहुलियत कर्जा र २ अर्ब ४२ करोड रुपैंया पुनर्कर्जाहरु प्रवाह गरेको छ।  

 

 

प्रकाशित: १ माघ २०७७ ११:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App