९ आश्विन २०८१ बुधबार
image/svg+xml
अर्थ

सन् २०२१ मा विश्वको आर्थिक वृद्धिदर चार प्रतिशत: विश्व बैंक

भर्खरै सुरु भएको सन् २०२१ मा विश्व अर्थतन्त्रको आकार ४ प्रतिशतले वृद्धि हुने विश्व बैंकले अनुमान गरेको छ। कोभिड १९ विरुद्धको प्रारम्भिक खोप अभियान व्यापक बन्दै जाने अनुमानका आधारमा विश्व बैंकले यस्तो प्रक्षेपण गरेको हो। तर नीतिनिर्माताहरू महामारी रोक्नेतर्फ प्रतिबद्धताका साथ नलागेको र लगानी बढाउने खालको सुधार नगरेको खण्डमा अर्थतन्त्रको पुनरुत्थान मन्द रहने विश्व बैंकले उसको जनवरी २०२१ ग्लोबल इकोनोमिक प्रस्पेक्टसमा उल्लेख गरेको छ।  

सन् २०२० मा ४.३ प्रतिशतको संकुचनपछि विश्व अर्थतन्त्र पुनः विस्तार भइरहे पनि ठूलो संख्यामा मानिसको ज्यान लिएको र बिरामी बनाएको यो महामारीले लाखौंलाई गरिबीमा धकेलेको छ। यसले आर्थिक गतिविधि र आम्दानीलाई लामो समयसम्म घटाउन सक्ने आशंका उसले गरेको छ।  

विश्वको तत्कालको उच्च नीतिगत प्राथमिकता कोभिड १९ नियन्त्रण र तीव्र तथा व्यापक स्तरको खोप परिचालन सुनिश्चित गर्नु रहेको छ। आर्थिक पुनरुत्थानलाई सघाउन अधिकारीहरूले सरकारी ऋणमा कम निर्भर चीरस्थायी वृद्धि लक्षित पुनःलगानी चक्रलाई सहजीकरण गर्नुपर्ने आवश्यकता विश्व बैंकले औंल्याएको छ।  

‘विश्व अर्थतन्त्र मन्द गतिको पुनरुत्थानको चरणमा प्रवेश गरेको जस्तो देखिएका बेला अझै कमजोर विश्वव्यापी पुनरुत्थानले पकड कायम गर्ने र सशक्त वृद्धिको जग बसाउने कुरो सुनिश्चित गर्न प्रयासरत नीतिनिर्माताहरूले जनस्वास्थ्य, ऋण व्यवस्थापन, बजेट नीति, केन्द्रीय बैंकिङ र संरचनागत सुधारका क्षेत्रमा कठिन चुनौतीको सामना गरिरहेका छन्,’ विश्व बैंक ग्रुपका प्रेसिडेन्ट डेभिड मालपासले भने, ‘महामारीको असरलाई जित्न र लगानीका अवरोधहरूलाई प्रतिवाद गर्न, व्यावसायिक वातावरण सुधारतर्फ महŒवपूर्ण काम गर्नुपर्ने, श्रम र उत्पादन बजार लचकता बढाउनुपर्ने र पारदर्शिता र सुशासनलाई बलियो बनाउनुपर्ने आवश्यकता छ।’

सन् २०२० मा विश्वको आर्थिक गतिविधिमा देखिएको विनाश यसअघि पूर्वानुमान गरिएभन्दा थोरै कम गम्भीर देखिएको छ। यसको मुख्य कारण उन्नत अर्थतन्त्रमा आएको कम संकुचन र विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रको सशक्त पुरुत्थान हो। त्यसको विपरीत अन्य बहुमत उदीयमान बजार तथा विकासशील अर्थतन्त्रमा आर्थिक गतिविधिमा आएको अवरोध भने अनुमान गरेभन्दा बढी घातक रहेको विश्व बैंकले उल्लेख गरेको छ।  

अल्पकालीन परिदृश्य अझै अनिश्चित रहे पनि वृद्धिका विभिन्न परिणामहरू अझै सम्भव रहेको विश्व बैंकको प्रतिवेदनमा औंल्याइएको छ। खराब सम्भावनातर्फ हेर्दा खोप अभियानमा ढिलाइ भएको खण्डमा संक्रमण अझै बढ्ने र विश्व अर्थतन्त्रको विस्तार १.६ प्रतिशतमा सीमित रहन सक्ने बताइएको छ। महामारीलाई सफलतापूर्वक नियन्त्रण गर्न सकेको र तीव्र गतिमा खोप अभियान सञ्चालन गर्न सकेको खण्डमा विश्वव्यापी वृद्धि पाँच प्रतिशतको नजिकै पुग्ने बताइएको छ।  

यो वर्ष अमेरिकी अर्थतन्त्रको वृद्धिदर ३.५ प्रतिशत रहने प्रक्षेपण विश्व बैंकको छ। सन् २०२० मा अमेरिकी अर्थतन्त्र ३.६ प्रतिशतले खुम्चने अनुमान छ। युरो क्षेत्रमा यो वर्षको वृद्धिदर ३.६ प्रतिशत रहने अनुमान छ। सन् २०२० मा युरो क्षेत्रको अर्थतन्त्र ७.४ प्रतिशतले खुम्चिने अनुमान गरिएको छ। जापानी अर्थतन्त्र ५.३ प्रतिशतले खुम्चिएको छ, सन् २०२१ मा जापानी अर्थतन्त्रले २.५ प्रतिशतको प्रगति हासिल गर्ने अनुमान छ।

चीन सहित उदीयमान बजार र विकासशील अर्थतन्त्रको समग्र जिडिपी सन् २०२१ मा ५ प्रतिशतले बढ्ने अनुमान छ। सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा २.६ प्रतिशतको संकुचन आएको थियो। चीनको अर्थतन्त्र भने २०२१ मा ७.९ प्रतिशतले विस्तार हुने अनुमान छ।  

अघिल्लो वर्ष यसको वृद्धि २ प्रतिशत थियो। चीनबाहेकको उदीयमान बजार र विकासशील अर्थतन्त्र भने सन् २०२१ मा ३.४ प्रतिशतले विस्तार हुने अनुमान छ। सन् २०२० मा यस क्षेत्रको अर्थतन्त्रमा ५ प्रतिशतले संकुचन आएको छ।न्यून आय भएका अर्थतन्त्रको गतिविधि भने सन् २०२१ मा ३.३ प्रतिशतले बढ्ने अनुमान छ। अघिल्लो वर्ष यस क्षेत्रमा ०.९ प्रतिशतको संकुचन आएको थियो।

प्रकाशित: २३ पुस २०७७ ०२:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App