५ वैशाख २०८१ बुधबार
अर्थ

आठ वटा अवैध क्रसर बन्द गर्न पत्राचार

सुर्खेतको लेकवेशी नगरपालिकामा सञ्चालित अवैध क्रसर उद्योग ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले मापदण्डविपरित सञ्चालित आठ वटा क्रसर उद्योग तत्काल बन्द गर्न निर्देशन दिएको छ । प्रशासन कार्यालयले जिल्ला प्रहरी कार्यालयमार्फत त्यस्ता क्रसर उद्योगहरु बन्द गराउन सुरु गरेको हो । 
प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जिल्लाभर गरिएको अनुगमनका क्रममा अबैद्य रुपमा सञ्चालनमा रहेको पाइएका आठ वटा क्रसर उद्योगहरुलाई बन्द गर्न निर्देशन दिइएको बताए ।

 ‘गृह मन्त्रालयबाट विभिन्न मितिमा भएका परिपत्रहरु र अनुगमन टोलीबाट गरिएको अनुगमनका क्रममा उद्देश्यविपरित सञ्चालित तथा तोकिए बमोजिमको न्यूनगत मापदण्ड पूरा नगरेका क्रसर उद्योगहरु बन्द गराउन प्रहरीलाई पत्राचार गरेका छौं,’ प्रजिअ रेग्मीले भने, ‘अटेरी गरेमा कारवाही प्रक्रिया अघि बढाउन पनि निर्देशन दिएका छौं ।’ उनले अवैध क्रसर उद्योगहरुले विभिन्न खोला, नदीहरुमा जथाभावी उत्खनन्, संकलन र विक्री वितरण गरिरहेको पाइएको बताए ।


प्रशासन कार्यालयका अनुसार भेरीगंगा नगरपालिका–८ स्थित गोचेखोलामा हाम्रो निर्माण सेवा, लेकवेशी नगरपालिका–१ मा भेरी एग्रीटेक एण्ड सेन्ड रिफाइनरी, लेकवेशी नगरपालिका–८ स्थित लामा–राजेन्द्र–श्याम एण्ड शंकर जेभी, लेकवेशी वालुवा प्रशोधन उद्योग, बराहताल गाउँपालिकामा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योग, महालक्ष्मी किरातेश्वर–केएसके जेभी, केसी बालुवा प्रशोधन उद्योग र सपना–आशिष–श्याम एण्ड शंकर जेभीले सञ्चालन गरिरहेका क्रसर उद्योगहरु बन्द गर्न प्रहरीलाई निर्देशन दिइएको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनका क्रममा हाम्रो निर्माण सेवाले मापदण्ड पूरा नगरेर क्रसर उद्योग सञ्चालन गरेको, भेरी एग्रीटेकले वालुवा प्रशोधन उद्योगको अनुमति लिएर क्रसर उद्योग सञ्चालन गरिरहेको, लामा–राजेन्द्र जेभीले मापदण्ड पूरा नगरेरै क्रसर उद्योग सञ्चालन गरेको, लेकवेशी वालुवा प्रशोधन उद्योगले मापदण्ड पूरा नगरेको पाइएको थियो ।
भेरी नदी किनारमा सञ्चालित देउतीमाता वालुवा प्रशोधन उद्योगले मापदण्ड पूरा नगरेको, सेटिङ पोण्ड नभएको, बस्ती नजिक बाटोसँग जोडिएको, महालक्ष्मी किरातेश्वरले लिलामी नदीजन्य पदार्थहरु उठाएर निजी योजनामा प्रयोग गरेको, नदी किनारमा होमपाइप उद्योगसँगै क्रसर सञ्चालन गरेको, सपना–आशिषले सञ्चालन गरेको अस्थायी क्रसर उद्योगको म्याद समाप्त भएपनि सञ्चालनमा रहेको  उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रप्रसाद भट्टले प्रशासन कार्यालयको निर्देशन अनुसार मातहतका युनिटहरुलाई पत्राचार गरिएको बताए । उनले केही अबैद्य क्रसर उद्योगहरु बन्द गरिएको र केही बन्द गर्ने तयारीमा आफुहरु रहेको बताए । ‘एक–दुई दिनभित्रै आठ वटै क्रसर उद्योगहरु बन्द हुन्छन्,’ उनले भने, ‘अबैद्य क्रसर रहेका क्षेत्रका युनिटहरुसँग नियमित सम्पर्कमा छु ।’

प्रकाशित: १५ पुस २०७७ ११:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App