५ वैशाख २०८१ बुधबार
अर्थ

विकसित राजनीतिक घटनाक्रमले उखु किसानको आन्दोलन अन्योलमा

राजनीतिक मूल्य खोज्दै शीर्ष नेताहरू सडकमा

उखुको मूल्य नपाएपछि दुईसातादेखि उखु किसानको बास माइतीर मण्डलामा छ। अधिकांश किसानले उखुको मुल्य अझै पाउन सकिरहेका छैनन्। कहिले पाइएला मूल्य भन्दै सरकारको बाटो पर्खिबसेका छन्।

 किसानले मूल्य माग्दै बसेको त्यही माइतीघर सडकमा शुक्रबार भने फरक दृश्य देखियो। जुन सरकारसँग उखु किसानले मूल्य माग गरेका थिए, त्यही सरकारका शीर्ष नेताहरू राजनीतिक मूल्य खोज्दै सडकमा ओर्लिए। राजीतिक मुद्दामा अठ्ठिएको सरकारबाट गरिब अब किसानले मूल्य कसरी पाउलान् ? सतापक्षकै नेताहरू सडकमा ओर्लिएपछि किसानको मन झनै भक्कानिएको छ।

उखुको बोट र राष्ट्रिय झन्डा उचालेर माइतीघर मण्डलामा धर्ना दिँदै आइरहेका उनीहरूको आँसुप्रति सरकार अझै गम्भीर हुन सकेको छैन। तराईबाट एकसरो लुगामा काठमाडौं आएर उखु किसानले आफूहरूले उभिएर उखुको मूल्य मागेको ठाउँमा आइतबार सत्ताधारी शीर्ष नेताहरू पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत पलेटी कसेर सडकमा बसे।  

उनीहरू प्रधानमन्त्री केपी शर्मा ओलीको वर्तमान कदमको विरोध गर्न त्यहाँ आएका थिए। चर्को नाराबाजीसहित पुगेका नेकपाका शीर्ष नेताहरू करिब २० मिनेट सडकमा बसे। उनीहरूसँगै नेकपाका अन्य नेताहरू माइतीघरमा भेला भएका थिए। त्यहाँ पुगेकाहरूले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याउन आग्रह गरेका थिए।

माइतीघरमा भेला भएपछि शीर्ष नेताहरूसहितको टोली बबरमहलमा पुगेका थिए। बबरमहलमा आयोजित पत्रकार सम्मलेनमा बोल्दै पुष्पकमल दाहालले काम गर्न दिएनन् भनेर ओलीले भन्नु आफैंमा कुतर्क हुने बताए। उनले भने, ‘सर्वोच्च अदालत र निर्वाचन आयोगले निस्पक्ष निर्णय लिनेमा म विश्वस्त छु, पार्टीको नाम, लोगो र चुनाव चिह्न हामीहरूकै हो।’ उनले गृहमन्त्री रामबहादुर थापा पनि आफूहरूसँगै आउने बताए।  

संसद विघटनको गम्भीर राजनीतिक मुद्दा बोकेर पूर्वप्रधानमन्त्री तथा सत्तापक्षकै नेताहरू सडकमा पुग्दा सामाजिक सञ्जालमा त्यसको चर्चा र आलोचना भइरहेको छ। सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले शक्तिशाली पदका व्यक्ति समेत सडकमा आउनुपर्ने अवस्था आउनु दुुर्भाग्य भनेका छन्। सांसद रामकुमारी झाक्रीले सडकमा आउनुपर्ने अवस्थालाई बाध्यता भनेकी छन्।

‘नचाहेर पनि गर्नै पर्ने एउटा बाध्यतामा छौं हामी संबिधानको सर्वोच्चता, विधिको शाशन र कानुनी राज्यको लागि प्रतिनिधिसभा पुनःस्थापना गर्न सडकमा छौं, संविधानको चिरहरण भएको छ, यसलाई सच्चाउने अझै मौका छ। साथको अपेक्षा छ।’ विकेकशील साझा पार्टीका नेता मिलन पाण्डेले विवेकशीलले गर्दै आएको राजनीतिक अभ्यास शीर्ष नेताहरूले प्रयोग गरेको धारणा राखेका छन्। उनी लेख्छन्, ‘हामीले विगत ८ वर्षमा नेपाली राजनैतिक संस्कार परिवर्तनका निम्ति नेतृत्व गर्‍यौँ। हामीले राजनीति गर्ने शैली बदल्दै छौँ, हामी वैकल्पिक शक्ति मात्र होइनौँ, हामी वैकल्पिक राजनीति गर्दैछौँ।’

प्रकाशित: ११ पुस २०७७ ०२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App