६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

पोखराका होटलमा ५० प्रतिशत छुट

कोरोना महामारी रहेसम्म आन्तरिक पाहुनालाइ छुट दिइने व्यवसायीको घोषणा

पोखराको पर्यटकीय क्षेत्र लेकसाइड । यहाँका होटलले आन्तरिक पाहुनालाई ५० प्रतिशत छुट दिने निर्णय गरेका छन् । तस्बिरः उमेश पुन÷नागरिक

कोरोना भाइरस महामारीको चपेटामा परेको पर्यटन क्षेत्र ब्यूतने प्रयासमा छ । त्यसका लागि यहाँका होटल व्यवसायीले आन्तरिक पाहुनालाई होटलका कोठाको मुल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय गरेका छन् । आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुटको अफर ल्याएको व्यवसायीले बताएका छन् ।  

व्यवसायीका अनुसार आन्तरिक पाहुनालाई दिइने यो छुट कोरोना महामारी जारी रहेसम्म कायम रहनेछ । होटल संघका केन्द्रीय सदस्य भरत पराजुलीले होटलका कोठाको मुल्यमा ५० प्रतिशतसम्म छुट दिने निर्णय भएको बताए । संघको कार्यसमितिको बैठकले नै छुटको निर्णय गरेको उनले बताए ।

 ‘बढी भन्दा बढी आन्तरिक पाहुनालाई पोखरामा आकर्षण गर्न छुट दिने निर्णय गरेका हौ । यो बेला यसै त पाहुना छैनन्, त्यसैमा पनि महंगो मुल्य असुल्न खोज्यौं भने पाहुनामाथि नै अन्याय हुनेछ,’ पराजुलीले भने, ‘कम मुल्यमा सेवा दिएर भएपनि व्यवसाय चलायमान बनाउनुपर्ने अवस्था छ ।  अहिले कमाउने बेला होईन, व्यवसाय चलायमान बनाउने प्रयास मात्र गरेका हौ । त्यसका लागि खर्च मात्र धान्नेगरि पाहुनालाई सस्तोमा सेवा दिन चाहेका हौ ।’

पश्चिमाञ्चल होटल संघका पूर्व अध्यक्ष समेत रहेका पराजुलीका अनुसार होटलले तोकेको मुल्यमा ५० प्रतिशत छुट दिनेछन् । यसअघि बार्गेनिङ गरेकै भरमा पाहुनाले केही सस्तोमा कोठा पाउने गरेको भएपनि अब ५० प्रतिशत छुट पाउने पराजुलीले बताए । ‘एकरातको चारहजार रुपैयाँ पर्ने कोठाको यसअघि ३ हजार देखि ३५ सय रुपैयाँमा पाहुनाले पाउँथे, त्यो बेला व्यवसायीले केहि छुट दिएपनि सकेसम्म बढी मुल्य लिन खोज्थे । तर, अब भने चारहजार रुपैयाँको कोठालाई पाहुनाले दुईहजार रुपैयाँ तिरे पुग्नेछ,’ पराजुलीले भने, ‘देखावटी छुट नभई पाहुनाले राहत नै पाउनेगरि आधा मुल्यमा कोठा पाउनेछन् ।’ कोठाको मुल्य सोध्दा नै आधा मुल्य बताउने गरि व्यवसायीले छुट दिएको उनले बताए ।  

अप्ठेरो अवस्थाका बेला पोखरालाई आन्तरिक पाहुनाले साथ दिएकोले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आगामि दिनमा आन्तरिक पाहुनाकै भर परेको उनले बताए । ‘केहीदिन अघि हामीले ‘जाउँ है पोखरा’ अभियान चलाउँदै पूर्वी सहरमा प्रवद्र्धनात्मक कार्यक्रम ग¥यौ । त्यो बेला नै हामीले ५० प्रतिशत छुटको जानकारी दिएका छौ,’ उनले भने, ‘पोखरा महंगो सहर भनेर भन्ने गरिन्छ । तर, होटलका पाहुनाले महंगो रकम तिर्नु नपरोस भन्ने चाहेका हौ ।’ अप्ठेरो अवस्थामा आन्तरिक पाहुनाले साथ दिएकोले अहिलेको अप्ठेरोलाई पार लगाउन पनि आन्तरिक पाहुनाकै खोजि गरेको उनले बताए । ‘भूकम्प, नाकाबन्दीका बेला आन्तरिक पाहुनाले राहत दिएका थिए । भूकम्पका बेला पनि हामीले आन्तरिक पाहुनालाई कोठाको मुल्यमा भारी छुट दिएका थियौं,’ उनले भने, ‘अहिले पनि आन्तरिक पाहुना नै तान्ने प्रयासमा हामी छौ ।’ व्यवसायीका अनुसार पोखरामा कोरोना महामारी सुरु हुनु अघि आन्तरिक पाहुनाको वर्षभरिको औसत अकुपेन्सी ४० प्रतिशत हाराहारीमा थियो ।  

संघका अध्यक्ष विकल तुलाचनले पनि ट्यारिफमा ५० प्रतिशत छुट दिँदा पोखरामा आन्तरिक पाहुना तान्न सकिने बताए । हालका लागि आन्तरिक पाहुनाका लागि मात्र यो छुटको अफर लागु भएको पनि उनले बताए । तत्काल विदेशी पाहुना आउने अवस्था नरहेकोले पनि अहिले आन्तरिकको भरमा व्यवसाय थेग्न सक्षम हुनुपर्ने अवस्था आएकोले पनि छुटको अफर ल्याएको तुलाचनले बताए ।  

‘५० प्रतिशतसम्म छुट दिँदा पोखरामा आन्तरिक पाहुना आउनेमा हामी आशावादी छौ,’ तुलाचनले भने । तुलाचनका अनुसार पोखरामा संचालित तारे सहित ठुला होटलले आन्तरिक पाहुनालाई मात्र लक्षित गरेर सस्तो प्याकेज ल्याएका छन् । त्यो प्याकेजले पनि करिब ५० प्रतिशत छुटलाई समेट्ने उनले बताए । ‘यो बेला पुरै शुल्क अशुल्छु भन्यो भने पाहुना नै पाइनेछैन । त्यही भएर सस्तो मुल्यमा भएपनि सेवा दिएर पाहुनालाई पोखरा घुम्न बोलाउन खोजेका हौ,’ तुलाचनले भने, ‘प्याकेज सार्वजनिक गरेका होटलको मुल्य पनि आधा घटेको छ ।’

उनका अनुुसार पोखराका अधिकांश ठुला र चल्तीका सबै होटलले सस्तो प्याकेज निकालेका छन् । ‘अहिलेको अवस्था सहज नहुन्जेल हामी आन्तरिक पाहुनालाई छुट दिँदैछौ । होटलको आफ्नो मुल्यमा पाहुनाले छुट पाउनेछन,’ उनले भने, ‘यो बेला पाहुनासँग मुल्य कसेर लिने अवस्था छैन । पाहुनालाई तान्नका लागि छुटको उपाय लगाएका हौ ।’  

व्यवसायीले पाहुनासँग लिएको आधा मुल्यले होटलका कोठाको मुल्य मात्र उठ्ने अध्यक्ष तुलाचनले बताए । ‘आधा छुटको रकमले कोठाको मुल्य मात्र उठ्छ । व्यवसायीले कमाउने अवस्था रहन्न, मात्र व्यवसाय चलायमान बनाउन खोजिएको हो,’ उनले भने, ‘संकटमा व्यवसाय धान्न सकियो भने भविश्यमा कमाई हुने अपेक्षा छ ।’ अध्यक्ष तुलाचनका अनुसार पोखरामा एकरातका लागि प्रतिकोठाको मुल्य सबैभन्दा कम १२ सय रुपैयाँ छ । सबैभन्दा बढी तारे होटलको कोठा आन्तरिक पाहुनाले अरुबेला प्रतिरात १० हजार रुपैयाँसम्म तिर्नुपर्छ । तर, कोरोनाको यो महामारीमा पाहुनाले सबैतिर आधा छुट पाउने उनले बताए ।

पोखरामा शुक्रबार र शनिबार आन्तरिक पाहुना बढी आउने व्यवसायीको भनाई छ । त्यसबाहेक अरु सार्वजनिक बिदाको अवसर पारेर पनि पाहुना घुम्न आउँछन् । कोरोना महामारी चलिरहँदा यतिबेला केही आकारमा आन्तरिक पाहुना पोखरामा देखिन थालेका छन् । त्यसले व्यवसायीलाई केही आशावादी तुल्याएको अध्यक्ष तुलाचनको भनाई छ । पोखरामा करिब ७ सय होटल संचालनमा छन् ।

प्रकाशित: १ पुस २०७७ ०६:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App