सुदूरपश्चिम प्रदेश सरकार गठन भएको झण्डै तीन वर्ष भइसकेको छ। सुदूरपश्चिम प्रदेशमा के कति ठाउँमा खनिजजन्य पदार्थ रहेका छन् भन्ने कुराको अहिलेसम्म सरकारलाई कुनै जानकारी छैन। खनिज पदार्थको अथाह सम्भावना रहेको यस प्रदेश सरकारसँग कुनै आधिकारिक जानकारीसम्म छैन। अहिलेसम्म प्रदेशमा खनिजजन्य पदार्थको आधिकारीक जानकारी नरहेको बताउँदै उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले भने, ‘हामी कहाँ अहिलेसम्म त्यस्तो केही तथ्यांक नै छैन।’
खनिज पदार्थ अध्ययन तथा अन्वेषणका लागि भनेर अघिल्लो आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड बढी बजेट छुट्याए पनि कामै नभई उक्त बजेट फ्रिज गएको बताउँदै उनले थपे, ‘चालु आर्थिक वर्षमा भने ४० लाख रूपैयाँ सिमेन्ट उद्योगको सम्भावना अध्ययनका लागि भनेर चुनढुंगाको खानी अन्वेषणका लागि छुट्याइएको छ।’ कोरोनाका कारण अहिलेसम्म अध्ययन गर्न नसकिएको उनले बताए। अब चाँडै त्यसको अध्ययनका लागि काम गर्ने उनीको भनाइ छ।
अघिल्लो आर्थिक वर्षमा खानी क्षेत्र सुरक्षणका लगि भनेर करिब १ करोड रूपैयाँ बजेट छुट्याइए पनि कुन खनिजजन्य पदार्थ कहाँ छ भनेर जानकारी नहुँदा सुरक्षणको काम अगाडि बढाउने नसकिएको बताउँदै उनले भने,‘बजेट थियो, तर कहाँ के चिज छ भन्ने जानकारी नै भएन, त्यहीँ भएर बजेट फ्रिज गयो।’
कहाँ–कहाँ छ खनिजजन्य पदार्थ ?
कैलालीको पूर्वी सीमा क्षेत्र टीकापुर भएर बग्ने कर्णाली नदीमा वर्षौदेखि सुन खोज्दै जीविकोपार्जन गर्छन् सोनाह जाति। नदी किनारमा रहेको बालुवा चालेर सुन निकाल्ने सोनाह जातिको जीविका त्यहीँबाट चलेको छ। कर्णाली तटमा बालुवामा वर्षौदेखि सुन मिसिएर आउने गरेको छ। यसबाट पनि के प्रष्ट हुन्छ भने कर्णाली नदीको बालुवामा सुन छ।
यस्तै कैलालीको चिसापानी (कर्णाली नदीको तीरैतीर) र दक्षिण समथर भूमि, चुरे क्षेत्र, डोटीको तेले लेक, डौड असज्वाला क्षेत्र, डडेल्धुराको भित्री मधेस क्षेत्र (जोगबुढा), क्षेत्र ग्यास र पेट्रोलियम पदार्थको सम्भावना भएका स्थान हुन्। यस्तै बझाङ, दार्चुला र बैतडीको पुर्चौडी क्षेत्रमा अथाह फलाम खानी रहेको कैलाली बहुमुखी क्याम्पसका सह–प्राध्यापक तथा भूगोलविद् डा. लोकबहादुर बिष्ट बताउँछन्।
उनले भने,‘बैतडीमा अहिले पनि पुराना भाँडा कुँडाहरू सबै बैतडीको पुर्चौडीकै फलाम खानीबाट निर्मित भएका भेटाउन सकिन्छ।’ बझाङ र दार्चुलामा अब्रक खानी पनि प्रसस्त मात्रामा रहेको उनले बताए। ‘प्रदेश सरकारले खनिज पदार्थ रहेको स्थल पहिचान गरी उत्खनन गर्न पहल गर्नुपर्छ,’ उनले भने,‘गहन रूपमा खोज तथा अन्वेषण हुनु जरुरी छ।’ यस्तै डोटीको कपल्लेकीमा कोइला खानीसमेत रहेको बताउँदै वडाध्यक्ष खडकबहादुर शाहीले भने,‘यहाँ प्रसस्त मात्रामा कोइला खानी छ त्यसको अध्ययन अन्वेषण हुन नसक्दा नासिँदै गएको छ।’
प्रकाशित: ३० मंसिर २०७७ ०१:५६ मंगलबार