२५ मेगावाटको सेती नदी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएसँगै निर्माण कार्यले गति लिएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ को भराधुरीमा निर्माणाधीन सेती नदी जलविद्युत् आयोजनाको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ । गत असोज अन्तिममा एनएमबी बैंकको नेतृत्वमा कर्मचारी सञ्चय कोष, कृषि विकास बैंकले कुल पुँजीको ७० प्रतिशत (तीन अर्ब ५० करोड रूपैयाँ) लगानी गर्ने सम्झौतामा हस्ताक्षर भइसकेको छ । आयोजना ३० प्रतिशत स्वपुँजीमा निर्माण गरिनेछ ।
आयोजनाको ३० प्रतिशत स्वपुँजीमध्ये १० प्रतिशतसहित सर्वसाधारणका लागि ३० प्रतिशत सेयर जारी गर्ने प्रवद्र्धक कम्पनीले जनायो । आयोजनाका प्रवद्र्धक कम्पनी भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका अध्यक्ष जगतबहादुर पोखरेलले निर्माणाधीन आयोजना निर्धारित समय सीमाभित्रै निर्माण गर्ने लक्ष्यसहित धमाधम काम भइरहेको बताए ।
‘आयोजनालाई तोकिएको समयभित्रै निर्माण सम्पन्न गराउन वित्तीय व्यवस्थापन हुनु अगावैदेखि निर्माण सुरु गरेका थियौं,’ उनले भने, ‘गत असोजको अन्तिम साता वित्तीय व्यवस्थापन भएपछि त काम गर्न अझै सहज भएको छ ।’ अध्यक्ष पोखरेलले आयोजना आगामी २२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने बताए ।
२०७५ मंसिर ६ गते नेपाल विद्युत् प्राधिकरण र कम्पनीबीच विद्युत् खरिद सम्झौता (पिपिए) भएको छ । सम्झौता अनुसार आयोजनाबाट उत्पादित विद्युत् बर्खाको ६ महिना प्रतियुनिट चार रूपैयाँ ८० पैसा र हिँउदको ६ महिना प्रतियुनिट ८ रूपैयाँ ४० पैसामा प्राधिकरणले खरिद गर्नेछ ।
आयोजनाले हिउँदमा पनि ३२ प्रतिशत बिजुली उत्पादन गर्नेछ । आयोजनाबाट वार्षिक १४८ गिगावाट आवर बिजुली उत्पादन हुने प्रवद्र्धक कम्पनीले जनायो । जलविद्युत् आयोजनाका प्रोजेक्ट डाइरेक्टर लेखनाथ पाण्डेले स्थानीयसँग पर्याप्त सहकार्य गरेर काम अघि बढाइएकाले कुनै प्रकारको अवरोध नभएको बताए ।
प्रोजेक्ट डाइरेक्टर पाण्डेले आयोजनाको सिभिलतर्फको सेटलिङ बेसिन (पानी थिग्राउने पोखरी), बाँध लगायत संरचना निर्माण भइरहेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ भराधुरीमा आयोजनाको मुख्य बाँध निर्माण गरिनेछ । बाँधदेखि ६.४ किलोमिटर लामो पेनस्टक पाइपमार्फत चिन्तेबगरको विद्युत्गृहमा पानी पु-याइनेछ । १८७ मिटर अग्लो भूभागबाट पानी खसालेर बिजुली उत्पादन गरिनेछ । आयोजनाबाट उत्पादन भएको बिजुली साढे चार किलोमिटरको प्रसारण लाइन निर्माण गरेर लाहाचोकमा निर्माणाधीन सबस्टेसनमार्फत केन्द्रीय प्रसारण लाइनमा जडान गरिनेछ ।
यो आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिकाका चार सय ४७ जनाले सेयर लगानी गर्ने भएका छन् । स्थानीयबासी एक लाखदेखि डेढ लाख रूपैयाँका दरले लगानी गर्ने तयारीमा छन् । प्रवद्र्धक कम्पनीले यो आयोजनाबाट सात वर्षभित्रै प्रतिफल आई सक्ने जनाएको छ ।
प्रकाशित: ८ मंसिर २०७७ ०२:५५ सोमबार