१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

ट्रायल रोकिँदा दुई लाख सवारीचालक लाइसेन्सविहीन

आठ महिनादेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक (ट्रायल) परीक्षा नहुँदा दुई लाखभन्दा धेरै सवारीचालक मर्कामा परेका छन्। सरकारले गत चैत दोस्रो साता कोभिड १९ रोकथाम तथा नियन्त्रणको लागि लकडाउन गरेसँगै सवारीचालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा रोकिएको छ।

आठ महिनादेखि लाइसेन्सको परीक्षा रोकिँदा दुई लाखभन्दा धेरै सेवाग्राही मर्कामा परे पनि सरकारले अहिलेसम्म परीक्षाको सुरसार गरेको छैन। कोभिड १९ को संक्रमण बढेसँगै अहिले दुई र चारपांग्रे सवारीसाधन खरिद गर्नेको संख्या उलेख्य मात्रामा बढे पनि सरकारले लाइसेन्सको परीक्षा नखुलाउँदा लाखौं सेवाग्राही समस्यामा परेका छन्। एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयको सवारीचालक अनुमतिपत्र प्रमुख सम्मरबहादुर कार्कीले गत चैतदेखि ठप्प भएको लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा कहिलेदेखि सञ्चालन गर्ने भन्ने विषय टुंगो नलागेको बताए। ‘लकडाउनअघिसम्म कार्यालयबाट मासिक चार हजारभन्दा धेरैले लाइसेन्स लिन्थे,’ उनले भने, ‘यो अवधिमा कार्यालयले करिब ३२ हजारभन्दा धेरै लाइसेन्स वितरण गर्नुपथ्र्ये। तर कोभिडअगावै लिखित परीक्षा पास भएका सेवाग्राहीको समेत ट्रायल परीक्षा गर्न सकेका छैनौं।’

काठमाडौं उपत्यकामा सवारीचालक अनुमतिपत्रको लिखित र ट्रायल परीक्षा लिने चारवटा यातायात कार्यालय छन्। उपत्यकाबाहिर ११ स्थानबाट सवारीचालक अनुमतिपत्र वितरण हुन्छ। कार्यालय प्रमुख कार्कीले आवश्यक सावधानी अपनाएर लाइसेन्सको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्नुपर्ने बेला भएको बताए। ‘सेवाग्राहीले कहिलेदेखि ट्रायल खुल्छ भनेर तारन्तर फोन गरिरहेका छन्,’ उनले भने, ‘संघीय तथा प्रदेश सरकारले आवश्यक निर्णय नगर्दासम्म हामीले खुलाउन सक्दैनौं।’ प्रमुख कार्कीले लामो समयदेखि ट्रायल नखुल्दा सेवाग्राही समस्यामा परेको विषयमा जानकार रहेको बताए। महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रामेश्वर यादवले लामो समयदेखि सवारीचालक अनुमतिपत्रको लिखित तथा ट्रायल परीक्षा नहुँदा सवारी चालक लाइसेन्सविहीन हुनुपरेको बताए।

प्रकाशित: २४ कार्तिक २०७७ ०५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App