६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

सवा २३ प्रतिशतले घट्यो आयात व्यापार

कोलकतास्थित बन्दरगाह। तस्विरः रितेश त्रिपाठी

समुद्र पारका देशहरुबाट हुने नेपालको ब्यपार घटेको छ। कोरोना कालमा समान्य अवस्था भन्दा आयातमा २३.२३ प्रतिशतले कमी आएको तथ्यांकले देखाएको छ। विश्व स्वास्थ्य संगठनले माहामारी भनेको कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि विश्वभरीको अर्थतन्त्रमा परेको असर नेपालको समुद्रपारीको ब्यपारमा पनि देखिएको हो। प्रति वर्ष औसत २० प्रतिशतले बढिरहेको समुद्रपारीबाट कन्टेनरबन्द सामानको आयातमा यसपाली भने २३.२३ प्रतिशतले कमी आएको छ। अनुमानित वृद्धीलाई समेत जोडेर हेर्दा त्यसकोभन्दा यसपाली ४० प्रतिशत अधिक ब्यपार खस्केको देखिन्छ।  

विदेशबाट मालबस्तु बोकेर नेपाल आउने कन्टेनरको संख्या बितेको ५ वर्षदेखि लागातार बढ्दै गएको थियो। सन् २०१५ मा विदशेबाट नेपालका लागि मात्र ५३ हजार कन्टेनर आएका थिए। २०१९ सम्म आइपुग्दा लागातार वृद्धी हुँदै यो संख्या एक लाखको हाराहारीमा पुग्यो। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीको भारतको कोलकातास्थित कार्यालयका प्रमुख लक्ष्मण खड्काले बन्दाबन्दी सुरु भएयता यता समुद्रपारबाट आउने कन्टेनर कार्गो पोहोरभन्दा घटेको बताए। इस्विसम्बत अनुसारको चालू वर्ष २०२०/०२१ को अप्रिलदेखि अगस्तसम्म तेस्रो मुलुकबाट मालबस्तु लिएर समुद्र मार्ग भएर ३१ हजार ८ सय ५१ वटा कन्टेनर (२० फिट इकाईमा) आएका छन्। पोहोर यस्तै अवधीमा ४१ हजार ४ सय ८६ वटा कन्टेनर भित्रिएका थिए।  

यसपाली आयात भएको कन्टेनर पोहोरको तुलनामा ७६.७७ प्रतिशत मात्र हो। अर्थात २३.२३ प्रतिशत कम हो। भारतको पश्चिम बंगाल प्रान्तस्थित कोलाकाता बन्दरगाह र आन्ध्र प्रदशेको विशाखापटनम् बन्दरगाहबाट कन्टेनर कार्गो आउने गरेको छ। कोरोना भाइरसका कारण फैलिएको कोभिड–१९ रोग नियन्त्रणका लागि नेपालमा गत चैत ११ देखि लगाइएको बन्दाबन्दी (लकडाउन) साउन ७ गतेसम्म झण्डै चार महिना कायम रह्यो। त्यतिबेला विश्वका धेरै देशहरुमा पनि बन्दाबन्दी थियो। साउन ७ मा नेपालमा बन्दाबन्दी सकिएको ३ दिन नबित्दै नेपालको प्रमुख ब्यपारिक नाका वीरगन्जमा निषेधाज्ञा सुरु भएर ५० दिन नाघेको छ।  

यसविचमा देशको सबभन्दा ठूलो बजार रहेको उपत्यकाका काठमाडौं माहानगरपालिका, ललितपुर र भक्तपुर उपमहानगरपालिकामा आवतजावत नियन्त्रित रह्यो। अन्य सहररमा पनि आवतजावत र बजार तथा उद्योगधन्दा प्रभावित नै रह्यो। जसले गर्दा ब्यपार पनि प्रभावित भएको आयातकर्ता ब्यपारीहरुको विश्लेषण छ। उनीहरुले भनेजस्तै यसबीचमा नेपालको वैदेशिक व्यापार उल्लेखनीय मात्रामा घटेको तथ्यांकले पनि देखाएको हो। ‘औद्योगिक उत्पादन घट्दा कच्चा पदार्थको रुपमा आयात हुने बस्तुको आयात घटेको सहजै अनुमान गर्न सकिन्छ,’ नेपाल उद्योग बाणिज्य महासंघका कार्यकारी सदस्यसमेत रहेका उद्योगी गणेश लाठले भने, ‘अन्य उपभोग्य वस्तुको बजार पनि एक्कासी खुम्चिएपछि तेस्रो मुलुकबाट हुने आयात घटेको हो।’ अहिले औसत रुपमा दैनिक करिब सावा २ सय कन्टेनरहरु नेपाल भित्रिएको तथ्यांक छ। पोहोर यस्तो बेला करिब ३ सय कन्टेनर नेपाल भित्रिरहेका थिए।  

‘उद्योग, बजार र यातायात ठप्प भएको हाम्रोसामु नै छ। मानिसहरुले नभई नहुने आवश्यक समान मात्र किनिरहेका छन्, खर्च गर्नका लागि स्रोत छैन। अधिकांश उद्योगले उत्पादन घटाएका छन् भने अन्य उपभोग्य वस्तुको मागसमेत घटेको कुरालाई आयातको तथ्यांकले प्रतिबिम्बित गरेको छ,’ वीरगन्ज उद्योग वाणिज्य संघका महासचिव माधव राजपालले भने, ‘अहिले आएर बजार र यातायात खुलेको छ, कोरोनाको संक्रमण रोक्न सावधानीहरु अपनाएर वा निश्चित नियमहरु लगाएर भए पनि सबै उद्योग र ब्यपार ब्यवसाय सुचारु बनाउन सरकारले ध्यान दिनुपर्छ। एक पटक व्यापारचक्र पुनः चलिहाल्यो भने त्यसबाट आफै पनि आर्थिक गतिबिधिमा सुधारको अवस्था आउने छ।’

 

 

प्रकाशित: ११ आश्विन २०७७ १२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App