४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

कोभिडको मारमा पशुपालक कृषक

रसुवाको नौकुण्डस्थित सिमबन्दीका चौरीपालक कृषक नानाम लामा थोक्रा । तस्बिर : हिमनाथ/नागरिक

रसुवाको नौकुण्ड गाउँपालिका–१, सिमबन्दीका दावा सिदार तामाङले अहिले १५ वटा चौरी पालेका छन्। उनको परिवार विगत २० वर्षदेखि यही पेसामा संलग्न छ। उनको परिवारमा ८ जना छन्। उनले प्रत्येक वर्ष बैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन केन्द्रलाई दूध बिक्री गर्दै आएका छन्।  

उनले यो वर्ष भने डेड महिना पनि दूध बिक्री गर्न पाएनन्। किनकी चीज उत्पादन केन्द्रले दूध लिएन। विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण अन्य काम पाइने अवस्था छैन। ‘गएको मंगलबारदेखि केन्द्रले दूध लिन छोड्यो’, उनले भने, ‘अब दूध बिक्री नभएपछि के गरी परिवार पाल्नु।’

पहिले कृषकले दूध बिक्री नहुँदा घिउ र छुर्पी बनाएर बिक्री गर्थे। तर त्यसको पनि अहिले बजार छैन। ‘अब छुर्पी र घिउ बनाउनुको विकल्प छैन’, उनले भने, ‘तर यसको पनि अहिले बजार छैन।’ मंगलबारसम्म उनले तीन घण्टाको बाटो हिँडेर केन्द्रमा दूध ल्याइरहेका थिए। उनीसँग आउने अन्य सात जना कृषकले पनि यसपटक दूध बिक्री गर्न पाएका छैनन्। उनी बिहान खाजा खाएर केन्द्र आउँछन् र खाना खान घरमा नै पुग्छन्। केन्द्रमा दूध लिएर आउनेमा धुन्चे, सिम्बन्दी, दोक्लाङ, साङ्ग्युल, यार्साका बढी छन्।  

सिमबन्दीका नानाम लामा थोक्राले ऋण काढेर चौरी थप्दै गएका थिए। ‘लेखपढ छैन, बच्चैबाट गोठमा बसियो,’ उनले भने, ‘आफूले यही पेसा जानेकाले ऋण काढेर भएपनि चौरी थप्दै गएँ तर यसपटक केन्द्रले दूध नलिँदा समस्या भयो।’ अहिले उनको गोठमा १७ वटा चौरी छ। ‘पहिले दशैं नआइ भात खान पाइने थिएन, उनले विगत सम्झँदै भने, अहिले त चौरी पालेरै परिवार पालेको छु।’  

भूकम्पको समयमा समेत दूध बिक्री भएको बताउँदै उनले यो पटक कोरोनाले कृषकको गाँस खोसेको बताए। ‘केन्द्रले दूध लेला भनेर ऋण काढेर चौरी थपेँ तर यसपटक केन्द्रले कृषकको दुःखलाई बुझ्न सकेन’,उनले भने, ‘पहिले जस्तै भात खान दशै कुर्ने दिन आउला जस्तो छ।’ पछिल्लो समय कोभिडका कारण दूध बिक्री गर्न नपाउँदा उनमा चिन्ता छाएको छ। ‘व्यापार गरौं भने हिसाव जान्दैन,’ उनले भने, ‘यस्तो अवस्थामा के पो गर्ने।’  

कृषकले १० वटादेखि ४० वटासम्म चौरी पाल्छन्। खर्कमा घाँस विस्तारै घट्दै गएको छ। दूध बोकेर आउनका लागि बाटो पनि त्यती राम्रो छैन। तर पनि चौरीपालक कृषक घटेका छैनन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका–६, पाङ्लेखर्कमा रहेको चिज उत्पादन केन्द्रले २०७१ देखि नियमित दूध लिँदै आएको थियो। केन्द्रमा उत्पादन भएको चीज बिक्री नभएको र केन्द्रको भण्डारण क्षमताभन्दा बढी चीज उत्पादन भएपछि गएको बुधबारदेखि नै चीज उत्पादन बन्द गरेको छ।  

दुग्ध विकास संस्थान अन्र्तगत सञ्चालनमा रहेका केन्द्रहरूबाट उत्पादन भएको चीज अहिले संस्थानमा लैजान सकिएको छैन। केन्द्रका प्रमुख जीतबहादुर जिरेलले भूकम्पले भत्केको भवन अहिलेसम्म पुनर्निर्माण हुन नसकेको र संस्थानमा पनि चिज जान छाडेपछि उत्पादन बन्द गरिएको बताए।

प्रकाशित: २१ भाद्र २०७७ ०७:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App