१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

इन्धन अभावले सडक निर्माण प्रभावित

खच्चडबाट सामान ढुवानी गरिँदै। फाइल तस्बिर: नागरिक

हिमालपारिको जिल्ला मुस्ताङमा पेट्रोलियम पदार्थ, ग्यास तथा खाद्यान्नको अभाव भएको छ। पेट्रोलियन पदार्थ अभावले सडक निर्माण प्रभावित भएको छ। ग्यास तथा खाद्यान्न अभावबाट सडक निर्माणमा खटिएका मजदुर, सरकारी कर्मचारी एवं सुरक्षा निकाय बढी प्रभावित छन्।  

मुस्ताङ जाने म्याग्दीस्थित गलेश्वरभन्दा माथिको पुल भत्किएपछि समस्या भएको हो। गत असार २६ गते आएको बाढीले पुल भत्काएपछि मुस्ताङ प्रवेश ठप्प भएको थियो। यातायात ठप्प हुँदा झन्डै एक महिनादेखि मुस्ताङमा खाद्यान्न लगायत सामग्री ढुवानी हुन सकेको छैन। ढुवानी नहुँदा स्थानीयभन्दा पनि दैनिक ज्यालादारीमा काम गर्ने मजदुर बढी मर्कामा परेको मुस्ताङ जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

‘किनेर खाने समूहलाई ग्यास र खाद्यान्न अभाव छ,’ मुस्ताङका प्रमुख जिल्ला अधिकारी बेदप्रसाद अर्यालले भने, ‘पेट्रोलियम पदार्थको अभाव उस्तै छ। सडक निर्माण (कालीगण्डकी करिडोर)को काम रोकिएको छ।’  

उनका अनुसार पुल मर्मतसम्भार भए पनि बढी वजनका सवारी साधन आवातजावत नहुँदा समस्या बढ्दै गएको हो। भारी सवारी साधन चलेका छैनन्। केही साना चलेका छन्, तिनले केही हदसम्म ढुवानी गर्दै आएका छन्। पेट्रोलियम पदार्थ अभावले सडक निर्माणमा प्रयोग भएका ठूला इक्विपमेन्टसमेत थन्क्याउनुपर्ने अवस्था आएको छ।  

पेट्रोलियम पदार्थ अभावकै कारण कालीगण्डकी करिडोर निर्माण अझै लम्बिने सम्भावना देखिएको छ। बेनीदेखि जोमसोम ७२ किलोमिटर छ। जोमसोमदेखि कोरला नाका एक सय किलोमिटर छ। मुस्ताङको समरभीर सबैभन्दा जोखिमपूर्ण क्षेत्र हो। ‘एक महिनासम्म ढुवानी नहुँदा पेट्रोल तथा ग्यास अभाव बढ्दै गएको छ,’ स्थानीय गण्डकी प्रदेश सदस्य चन्द्रमोहन गौचनका स्वकीय सचिव जीवन गोतामेले भने, ‘अझै ८–१० दिन ढुवानी नभए संकट हुन्छ।’  

मुस्ताङमा मासिक तीन हजार सिलिन्डर ग्यास खपत हुने स्थानीय व्यवसायी बताउँछन्। ‘बाटो सहज छैन। कतिपयले लोमान्थाङबाटै ल्याएर काम चलाएका छन्,’ जोमसोमस्थित विष्णु सप्लायर्सका सञ्चालक विष्णु रिजालले भने, ‘अभाव हुँदै गएको छ। अब ढुवानी नभए समस्या बढ्छ।’ कालीगण्डकी करिडोरको निर्माण विभिन्न खण्डमा काम हुँदै आएको छ। कोभिड–१९ को कारण मजदुर भने कम छन्।  

हिमाल पारिको जिल्ला मनाङमा भने खाद्यान्नको समस्या छैन। सडक कतै कतै बिग्रिए पनि अभावको अवस्था नआएको मनाङका सहायक प्रमुख जिल्ला अधिकारी शारदा चालिसेले बताइन्। ‘अभाव भयो भनेर हामीलाई खबर आएको छैन,’ सहायक प्रजिअ चालिसेले भनिन्, ‘समस्या भएको भए जानकारी आउँथ्यो।’ 

प्रकाशित: १ भाद्र २०७७ ०३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App