६ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अघि बढ्यो मेलम्चीको ‘हेडवर्क्स ’ निर्माण

फाइल तस्बिर

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडवर्क्स ’  निर्माण पनि अघि बढेको छ । 

आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्न बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क्स ’को बाँकी काम अघि बढाएको छ ।  

अहिले त्यहाँ कङ्क्रिट राख्ने काम भइरहेको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए ।  

उनका अनुसार यसको निर्माण सम्पन्न गर्ने अवधि अझै चार महिना (डिसेम्बर) सम्म रहेकाले कम्पनीले बाँकी काम निर्धारित अवधिमा सकाउने देखिएको छ ।  

उनले भने, ‘अहिलेसम्म कामको गति हेर्दा ‘हेडवर्क्स ’ निर्माणमा ढिलाइ हुने देखिँदैन ।’  

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडबक्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले सो दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ ।  

त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने पन्तले बताए । उनले भने, ‘हेडबक्स बनिसकेपछि मात्रै त्यसमा पानी पठाइनेछ ।’

दुई दशक पहिले निर्माण सुरु भएको सो आयोजनाका अन्तिम काम भइरहेको छ । यसअघि काम गरेको इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले गत वर्ष असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो ।  

आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

प्रकाशित: ३१ श्रावण २०७७ ०९:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App