१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मध्यपहाडी लोकमार्गको कार्य प्रगति प्रति महालेखा असन्तुष्ट

महालेखा परीक्षकको कार्यालयले मध्यपहाडी लोकमार्गको प्रगति लक्ष्यभन्दा ज्यादै न्यून देखिएको भन्दै सम्बन्धित निकायले लक्ष्य अनुसार कार्य सम्पन्न गर्ने प्रकृयामा उल्लेख्य ध्यान दिनुपर्ने औंल्याएको छ ।  

महालेखाको ५७ औं वार्षिक प्रगति प्रतिबेदनले मध्यपहाडी लोकमार्गमा सडकको सीमा समेत नतोकिएको भन्दै त्यसमा समेत तालुक निकायले त्रुटी औंल्याएको छ ।  

महालेखाको प्रतिबेदन अनुसार मध्यपहाडी लोकमार्गमा आर्थिक वर्ष २०७५।०७६ सम्ममा ३९ अर्ब ९० करोड ६४ लाख खर्च भई ३ सय ४४ किलोमिटर कालोपत्रे र ६८ वटा पुल निर्माण कार्य पूरा भएको छ । बाँकी ५ सय ८१ किमी सडक र २४ वटा पूल निर्माणाधिन अवस्थामा रहेको भन्दै मलेपले मध्यपहाडीको कार्य प्रगति सन्तोषजनक नभएको र यहिँ गतिले लक्ष्य प्राप्ति नहुने औंल्याएको छ । 

आव २०६४।०६५ मा मध्यपहाडी भू–भागका जिल्लालाई यातायात सञ्जालमा जोडी सन्तुलित विकास गर्न पाँचथरको चियो भञ्ज्याङदेखि बैतडीको झुलाघाटसम्मको १ हजार ८ सय ७९ किमी सडक र १ सय २९ वटा पुल निर्माण गर्ने कार्य आव २०७९।८० सम्मको समयावधि हो । पछिल्लो शंसोधनसहित आयोजनाको लागत ८४ अर्ब ३३ करोड रुपैयाँ रहेकोमा कूल बजेटको ४७.३२ प्रतिशत बजेट खर्च गर्दा १८.३० प्रतिशत मात्र सडक निर्माण भएको मलेप प्रतिबेदनको ठहर छ । यस्तै पुल निर्माणतर्फ ५२.७१ प्रतिशत मात्र भौतिक प्रगति भएकोले लक्ष्य अनुसार प्रगति हासिल नभएको मलेपले ठहर गरेको छ ।  

सडक मापदण्ड अनुसार सडकको केन्द्रबिन्दुबाट दाँयाबाँया २५/२५ गरी ५० मिटर सीमा कायम गर्नुपर्नेमा मध्यपहाडी लोकमार्ग आयोजनाले सडकको सीमा नै नतोकेको महालेखा परीक्षकको प्रतिबेदनमा उल्लेख गरिएको छ । आयोजनाले स्थानीय जग्गाधनीको सहमतिमा सडकको चौडाई दुई लेन अर्थात करिव १० मिटर कायम गरी निर्माण गर्दै आएको मलेप प्रतिबेदनले भनेको छ । कालोपत्रे सडकको चौडाई ८ मिटर रहेकोमा आयोजना कार्यालय पर्वतले आयोजना अन्र्तगत बाग्लुङ उपल्लो चौर, बोक्से, खहरे भीर र बिउँमा औसत ५ मिटर भन्दा कम रहेको मलेपको दावी छ । आयोजनाले सडक सीमा कायम गर्न तालुक निकायमा अनुरोध गरेकोमा निर्णय नभएको जानकारी गराएको समेत मलेप प्रतिबेदनमा उल्लेख गरिएको छ ।

सार्वजनिक खरिद नियमावली २०६४ को नियम ६ मा पूर्वाधार निर्माण गर्नुपर्ने वातावरणीय प्रभाव मूल्याङ्कन, जग्गाको उपलब्धता, युटिलिटी हटाउने र बिस्तृत आोजना प्रतिबेदन तयार आदि कार्य नगरी ठेक्का व्यवस्थापन गर्न नहुने उल्लेख भएपनि आयोजनाले त्यस बिपरित कार्य गरेको मलेपको प्रतिबेदनमा उल्लेख छ । यो अवस्था बिद्यमान हुँदाहुँदै पनि मध्यपहाडी लोकमार्ग आयोजनाले एकीकृत प्रतिबेदन तयार नगरी खण्ड/खण्डको आयोजना प्रतिबेदन र वातावरणीय प्रभाव प्रतिबेदन तयार गरी निर्माण कार्य गरेकोमा मलेपले त्यसलाई त्रुटीपूर्ण भनेको छ । 

मलेपले कोशी करिडोर आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन(डिपीआर) तथा वातावरणीय प्रभाव मूल्याङ्कन भएपछि मात्र ठेक्का व्यवस्थापन गर्न आयोजनालाई सुझाव दिएको छ । कोशी करिडोर अन्र्तगत घुर्मी चतरा, काबेली चतरा र लेगुवा चतरा सडक निर्माण गर्न २४ अर्ब ३७ करोड ५२ लाख रुपैयाँ बराबरको लागत अनुमानका आधारमा निर्माण कार्य अघि बढाइए पनि त्यसका लागि डिपीआर र वातावरणीय प्रभाव प्रतिबेदनको कार्य पूरा नभएको मलेपले भनेको छ ।

प्रकाशित: २२ श्रावण २०७७ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App