२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

रोकिएका पर्यटक भन्छन्: ‘घर फर्किन डर भो, नेपालमै बस्न पाउँ’

रोकिएका पर्यटक भदौ १५ पछि बस्न नपाउनेः अध्यागमन

भिसा अवधि सकिन थालेकोले नेपालमै बस्न पाउँ भन्दै पोखरामा संचारकर्मीलाई गुनासो सुनाउँदै विभिन्न मुलुकका विदेशी । तस्बिरः उमेश पुन/नागरिक

उरुग्वेका मार्टिन ओलास्कोआगा गत मार्चदेखि पोखरामा छन् । खासमा उनी पोखरा घुमघाम सहित विभिन्न क्षेत्रको पदयात्राका लागि आएका थिए । तर, कोरोना भाईरस संक्रमणका कारण गरिएको लकडाउनको मारमा उनी परे । लकडाउनले पोखरामै रोकिएका उनको पदयात्रा पुरा हुन सकेन ।

मार्टिनको घुमघामको इच्छा त पुरा भएन नै कतै घुम्न नपाई उनको नेपाल बसाई अवधि पनि सकिन थालेको छ । नेपालमा पर्यटकको रुपमा भित्रिएका जो कोही विदेशी पाहुनाले १५० दिन भन्दा बढी बस्न पाउँदैनन् । लकडाउनकै अवधिदेखि उनको भीषा अवधि गणना गर्दा भदौ पहिलो साताभित्रै उनको नेपाल बसाई अवधि १५० दिन पुग्छ ।  

कोरोना भाईरस संक्रमणका कारण सरकारले बन्द गरेको अन्तर्राष्ट्रिय उडान भदौ एकदेखि खुला गर्दैछ । अन्तर्राष्ट्रिय उडान सुचारु भएको १५ दिनभित्र नेपालमा रहेका जो कोही विदेशी पाहुनाले नेपाल छाड्नुपर्ने प्रावधान सरकारले लागु गरेको छ । अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिनभित्र नेपाल छाड्दा जो कोही विदेशीलाई अहिले भीषाबापत कुनै अतिरिक्त शुल्क लाग्दैन । तर, १५ दिनभित्र फर्किन नसके विदेशी जरिवानामा पर्नेछन । जरिवानामा परेका विदेशीले लकडाउन अवधिको समेत शुल्क थपेर सरकारले जरिवाना लिन सक्छ ।  

पर्यटकको नेपाल बसाई अवधि बढाउन नमिल्ने र अतिरिक्त समय बसेमा कारवाहीमा पर्न सक्नेबारे मार्टिन जानकार पनि छन् । तर, उनी स्वदेश फर्किन चाहँदैनन । किन ? मार्टिन भन्छन, ‘कोराना संक्रमणको त्रास नेपालमा भन्दा उरुग्वेमा बढी छ । घरसम्म फर्किने माहोल छैन । जसोतसो फर्किन सकियो भनेपनि संक्रमणले छुन सक्छ ।’ घर फर्किदा संक्रमणको मारमा पर्ने डरले उनी सकेसम्म अझै केही समय नेपालमै बस्न चाहन्छन् । अनि पदयात्राको अनुभव बटुल्ने चाहना पनि पुरा हुने उनको भनाई छ ।  

‘अझै केही दिन नेपाल बसाई अवधि त छ । तर, अहिले पदयात्राको सिजन होइन । वर्षायाममा पदयात्रा जोखिमयुक्त हुन्छ,’ उनले भने । नेपालमा अहिले उरुग्वेको आफु एकमात्र रहेकोले चार्टर फ्लाइट गरेर उद्धार सम्भव नभएको पनि उनले बताए । ‘एकसाता अघि भारतमा रहेको दुतावासमा सम्पर्क गरे । तर, म एक्लो भएकोले चार्टर फ्लाइटको सम्भावना छैन भन्ने जानकारी पाए,’ उनले भने, ‘त्यही भएर म अझै केही समय पोखरामै बस्न चाहन्छु । यहाँ बस्दा मलाई सुरक्षित महसुस हुन्छ ।’

अमेरिकाकी रोक्सि गुलिआनो पनि यही मर्कामा छिन् । रोक्सिलाई पनि अन्तर्राष्ट्रिय उडान सुचारु भएको १५ दिनभित्र नेपाल छाड्नुपर्ने बाध्यता छ । तर, उनी पनि स्वदेश फिर्न भन्दा नेपालमै सुरक्षित हुने ठानेर फर्किन चाहेकी छैनिन । पहिलोपटक नेपाल आएकी उनी पनि लकडाउनकै मारमा परेकि छिन् । रोक्सि भन्छिन, ‘अमेरिकाको लसएन्जल्समा मेरो घर छ । तर त्यहाँसम्म पुग्ने मसँग सुरक्षित उपाय छैन । उडान सुरु भएपछि त फर्किउँला, तर, यात्रमै संक्रमणको त्रास छ,’ उनले भनिन, ‘कुनै न कुनै रुपमा हवाई उडानमार्फत घर फर्किन सकिएला, तर, त्यही उडानकै क्रममा संक्रमण हुन सक्ने जोखिम बढ्दो छ ।’  

अमेरिकामा रहेका परिवारका सदस्य पनि त्रसित रहेको उनले सुनाईन । ‘घरमै रहेका मेरा अभिभावक पनि सुरक्षित छैनन । म झनै टाढाबाट जाँदा कसरी सुरक्षित रहुँला ?’ उनले भनिन, ‘बरु अतिरिक्त शुल्क तिरेर बस्न पाउने भए नेपालमै बस्छौ । यहाँ बस्दा हामीलाई सुरक्षित महसुस भएको छ । खानबस्नको समस्या छैन ।’ अमेरिकाकै अर्कि महिला लिन्डा सारान्डेश पनि उत्तिकै चिन्तित छिन । जसोतसो नेपालमा बस्न पाए सुरक्षित भईने उनको भनाई छ ।  

‘नेपाल त मेरो आत्माको मुलुक बनिसकेको छ । हामी यहाँ सुरक्षित बसेका छौ,’ लिन्डाले भनिन, ‘नेपालीमा मानवता छ । हामीलाई यस्तो अप्ठेरोमा पनि खानबस्न कुनै समस्या भएन ।’ आफ्नो मुलुक फर्किदा संक्रमणको जोखिम हुनसक्ने उनलाई त्रास छ । ‘कम्तिमा हामी नेपालमा बस्न पायौं भने सुरक्षित हुन्छौ । तर, अब हाम्रो बसाई अवधि कानुनी रुपमा सकिन थालेको छ,’ उनले भनिन, ‘हाम्रो अप्ठेरोबारे दुतावासमा जानकारी दिएका छौ । तर, दुतावासले पनि नेपाल सरकारको नियम कानुन मान्न बाध्य हुने बतायो ।’ यसअघि विभिन्न मुलुकले चार्टर उडान गरेर विदेशीको उद्धार गर्दापनि आफुहरू नेपालमै सुरक्षित ठानेर बसेको उनीहरूको भनाई छ । कोरोना संक्रमण अनुमान भन्दा बाहिर गएकोले पनि अहिले अप्ठेरो परेको ती विदेशीले बताए ।  

पर्यटन व्यावसायीका अनुसार लकडाउनका कारण पोखरामा रोकिएका विदेशीको संख्या करिब ४ सय रहेको छ । ती पर्यटकले यो बेला घर फिर्नु भन्दा नेपालमै बस्दा सुरक्षित हुने देखेका छन् । त्यस्तै यात्राको क्रममा विभिन्न मुलुकमा ट्रान्जिट पर्ने हुँदा झनै जोखिमपूर्ण हुने ठानेका छन् । यात्राको क्रममा आफुहरू संक्रमति बनेमा घर पुगेपछि परिवार पनि जोखिममा पर्नसक्ने उनीहरूको भनाई छ । कतिपय मुलुक आधा खुलेका छन, केही पुरै बन्द छन, कतिपयमा अझैपनि क्वारेन्टिनमा बस्नुपर्ने बाध्यता भएकोले पनि अहिले हिडडुलको माहोल नभएको ती विदेशीको भनाई छ । नेपालमै भीषाको अतिरिक्त शुल्क तिरेर बस्न चाहेको र यसरी बस्दा भविश्यमा पनि थप विदेशी पाहुना भिœयाउनका लागि आफुहरूले भूमिका निभाउने ती विदेशीको भनाई छ ।  

पर्यटन व्यावसायी पनि सकेसम्म ती विदेशीलाई नेपालमै रोक्न सके उपयुक्त हुने बताउँछन् । पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले भने, ‘बाहिरबाट हेर्दा उनीहरूको बसाई अवधि कटेको हुन्छ । तर, उनीहरूलाई गैरकानुनी काम नगर्ने सर्तमा बस्न दिदाँ विदेशी पनि सुरक्षित हुने र पाहुनालाई राख्न सकेको खण्डमा व्यावसायीलाई पनि राहत हुने तुलाचन बताउँछन । ‘दिनहँु मसँग विदेशीले नेपालमै बस्ने माहोल मिलाइदिनुप¥यो भनेर गुनासो गर्छन । तर म पनि कानुनभन्दा माथि छैन,’ उनले भने, ‘सरकारले चाहेमा अहिलेको अप्ठेरोमा विदेशीको मागलाई जायज ठान्नसक्छ ।’ विदेशीलाई नेपालमै रोक्न सकेको खण्डमा पछि पनि सकारात्मक सन्देश प्रवाह हुने उनले बताए । आफुहरूको मुलुकमा संक्रमण डरलाग्दो भएकोले पनि नेपाललाई सुरक्षित ठानेर ती विदेशी बस्न चाहेको तुलाचनको भनाई छ । नेपाल छाडेर अरु मुलुकमा जाँदा पनि आफुहरूलाई ती मुलुकले स्वीकार्न नसक्ने सम्भावना रहेकोले पनि विदेशी बढी डराएको तुलाचनले बताए ।

तर अध्यागमन विभागले भने सरकारले १५० दिन कटाएका विदेशीलाई थप समय नेपाल बस्न दिनका लागि विशेष निर्णय गर्नुपर्ने बताउँछ । विभागका प्रवक्ता रामचन्द तिवारी भन्छन, ‘अन्तर्राष्ट्रिय उडानको १५ दिनभित्र फर्किदा उनीहरूलाई कुनै जरिवाना लाग्दैन । तर, त्यो अवधि नाघेर बसेमा जरिवाना लाग्न सक्छ ।’ अन्तर्राष्ट्रिय उडान सुरु भएको १५ दिन भित्र उनीहरू फर्किनुपर्ने बाध्यतामा यतिबेला नेपालमा रहेका सबै पर्यटक रहेको उनले बताए ।

‘१५० दिन भन्दा बढी पर्यटक भीषामा बस्न पाइदैन । त्यसैले उनीहरू कुनै हालतमा फर्किनुपर्छ । फर्किएनन भने कारवाहि हुन्छ,’ तिवारीले भने, ‘लकडाउनका कारण तत्काललाई भिसा अवधि सकिएपनि कुनै कारवाहि हुँदैन । तर, उडान खुलेको १५ दिन कटाएमा जरिवाना लाग्छ ।’ थप समय ती विदेशीलाई नेपालमा बस्न दिने वा नदिने भन्नेमा सरकारले विशेष निर्णय गर्नुपर्ने उनले बताए । यसअघि विभिन्न मुलुकले चार्टर उडान गरेर नागरिक फिर्ता गर्दा पनि ती पर्यटक जान नचाहेकोले अब फर्किनुपर्ने तिवारीले बताए । 

प्रकाशित: १२ श्रावण २०७७ १०:५४ सोमबार

पर्यटक नेपालमै बस्न अध्यागमन