१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कास्कीको तप्राङमा खुला वन्यजन्तु उद्यान निर्माण सुरु

जंगल सफारीसमेत गराइने

कास्कीको मादीमा खुल्ला वन्यजन्तु पार्क निर्माण गर्ने भएको छ । मादी गाउँपालिकाले गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा मादी–६ तप्राङमा पार्क निर्माण गर्न लागेको हो । 

मादी गाउँपालिकाको गौरवको योजनाको रुपमा अगाडि बढाइएको यो पार्क ६ करोड लगानीमा निर्माण गरिन लागेको हो । पोखरा–सिक्लेश सडक खण्डको मध्य भागतिर पर्ने यो पार्क पोखरादेखि २० किलोमिटर पूर्वोत्तर क्षेत्रमा पर्छ । करीब २ हजार रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने जनाइएको छ । जनावर मेरो साथी भन्ने अवधारणा अनुरुप ‘तप्राङ खुला वन्यजन्तु पार्क’ नाम दिएर खुल्ला वन्यजन्तु पार्क निर्माण गर्न लागिएको प्रमुख गुरुङको भनाई छ ।

पार्क निर्माण अन्तर्गत पहिलो चरणमा गण्डकी प्रदेश सरकारको समपुरक अनुदान एक करोड तथा प्रतिनिधिसभा सांसद खगराज अधिकारीको निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदारीको एक करोड गरी दुई करोड खर्चेर पहिलो चरणको काम भइरहेको मादी गाउँपालिका प्रमुख बेदबहादुर गुरुङ ‘श्याम’ले जानकारी दिए । पहिलो चरणको काम सम्पन्न गर्नका लागि २ करोडको बोलपत्र आह्वान गर्दा एमएनसी लोयल जेभी पोखराले १ करोड ४३ लाख ३४ हजारमा ठेक्का पाएको थियो । पहिलो चरणमा प्रवेशद्धार, टिकट काउन्टर, तारजालीको काम(बाउन्ड्री वाल) वनभोज स्थल (पिकनिक स्पट), ढुुङ्गाको सिडी(फुट ट्रयाक) लगायतका काम भइरहेको पार्क निर्माण स्थल पर्ने मादी–६ का वडाध्यक्ष पसबहादुर बास्तोलाले जानकारी दिए । चालु आर्थिक वर्षमा प्रदेश सरकार र संघ सरकारसँग पैसा मागेर थप निर्माणका काम अघि बढाइने उनले बताए ।

पर्यटकीय केन्द्र बनाउने उद्धेश्यसहित निर्माण गरिन लागेको पार्कमा जंगली जनावरहरु खुल्ला रुपमा छाडिनेछ । तर पार्कमा हिंश्रक जनावरहरु भने नराखिने अध्यक्ष गुरुङले जानकारी दिए । पार्कमा हिंश्रकबाहेक सबै जनावरहरु रहन्छन्,‘उनले भने, प्रकृतिमैत्री (इकोसिस्टम) हुने थुनेर होइन खुल्ला छाडेर अवलोकन गर्ने खालको प्राणी उद्यानको विकास गरिनेछ ।’ उनले चिडियाखाना र निकुञ्ज भन्दा भिन्न खालको खुल्ला वन्यजन्तु पार्क बनाउने योजना रहेको सुनाए ।

पार्कमा मृग, रतुवा, बाह्रसिंगे, कस्तुरी, जरायो, खरायोलगायतका जंगली जनावरहरु राखिने अध्यक्ष गुरुङले जानकारी दिए । कतिपय हामी बाहिरबाट ल्याएर हाल्छौं,‘उनले भने, ‘कतिपय जनावरहरु त्यहाँ अहिलेपनि छन्, कतिपय बाहिरबाट आफै चर्दै, घुम्दै पनि आउँछन् ।’

पार्क अगाडिको भागमा आकर्षक स्वागत द्वार निर्माण गरिनेछ भने त्यसको दायाँबायाँ होटल तथा रेष्टुरेण्ट निर्माण गरिने प्रमुख गुरुङले बताए । पार्क अवलोकनका लागि टिकटको ब्यबस्था गरिने उनको भनाई छ । पार्क भित्र जंगल सफारी गर्ने ब्यबस्था हुने र सो जंगल सफारी करीब डेढदेखि २ घण्टाको हुने गुरुङले बताए ।

पार्क निर्माण गरेर तप्राङलाई प्रमुख पर्यटकीय केन्द्र बनाउँदै स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्ने उद्धेश्य लिइएको गाउँपालिका प्रमुख बेदबहादुर गुरुङले बताए । पार्क निर्माण भएपश्चात गाउँपालिका सँगसँगै स्थानियकोसमेत आयआर्जन बृद्धि हुने र रोजगारीसमेत बृद्धि हुने अपेक्षा लिइएको उनको भनाई छ । साथै पार्क वन्यजन्तुहरुको अध्ययन केन्द्रसमेत बन्नसक्ने उनले बताए ।  

पार्क निर्माण स्थलबाट हिम श्रृंखलादेखि पर्यटकीय क्षेत्र सिक्लेश, नामार्जुङलगायतका क्षेत्र दृश्यावलोकन गर्न सकिने वडाध्यक्ष बास्तोलाले जानकारी दिए ।

प्रकाशित: ११ श्रावण २०७७ १२:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App