८ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

लेकसाइडका भाडाका होटल : वर्षाैदेखिको व्यवसाय छाड्दै व्यवसायी

पर्यटकीय क्षेत्र पोखराको लेकसाइड । यहाँका अधिकांश भवनमा होटल संचालित छन् । तस्बिरः उमेश पुन/नागरिक

पर्यटनमा झन्डै तीनदशक अवधिको अनुभव बटुलेका तीलकबहादुर अधिकारीले लेकसाइडमा होटल स्नो लियोपार्ड भाडामा संचालन गरेका थिए । सुरुमा पाँच वर्षका लागि होटल भाडामा लिएका अधिकारीले त्यो अवधि पुगेपछि दोश्रोपटक पनि पाँच वर्षका लागि नवीकरण गरे । दोश्रोपटकको अवधि सकिन दुईवर्ष मात्र बाँकी छँदै उनले होटल छाडे ।

लगातार आठ वर्ष एउटै होटल चलाउँदा उनलाई कहिल्यै मासिक भाडाको चटारो भएन । मासिक एकलाख ७० हजार रुपैयाँ बुझाउँदै आएका उनले भूकम्प र नाकाबन्दीको बेलामा समेत घरमूलिलाई सहजै भाडा तिरेका थिए । होटलमा २३ कोठा रहेपनि १८ वटामात्र चालु अवस्थामा थिए । तर, कोरोना भाईरस महामारीको मारमा परेका अधिकारीले अहिले भने अवधि पुरा नहुँदै होटल छाडेका छन् ।

किन त ? अधिकारी भन्छन, ‘कोरोनाको अप्ठेरो केही महिनाका लागि मात्र होईन, वर्षका लागि पनि पर्ने पक्का छ । भूकम्प र नाकाबन्दीको अप्ठेरो केहीदिन वा महिनाका लागि थियो तर, अहिलेको अप्ठेरोबाट पार पाउन सकस देखेर होटल छाडे ।’ कोरोना संक्रमणका कारण कम्तिमा दुईवर्ष पर्यटक आउने सम्भावना नदेखेको भन्दै मासिक भाडाको बोझबाट मुक्त हुनका लागि होटल छाडेको अधिकारीले बताए ।  

‘भूकम्प र नाकाबन्दीमा समेत म हतोत्साही भएको थिइन । तर, अहिले भने अत्तालिन पुगे,’ अधिकारीले भने, ‘अझै केही समय होटल व्यवसाय संचालन गर्ने अवस्था रहन्न । अवस्था सहज हुँदाका दिन सकियो भने आफ्नै भवन बनाउँला, नत्र जेसुकै होला भनेर अवधि नपुग्दै छाडिदिए ।’ कोरोनाले आफूहरुजस्ता धेरै व्यवसायीलाई वर्षाैदेखिको पेशाबाट बिस्थापित गरिदिएको उनले बताए ।

अधिकारीलाई होटल छाड्न बाध्य बनाउनुको एउटा बलियो कारण हो मासिक महंगो घरभाडा । कोरोना संक्रमणले मुलुकभित्र चैतदेखि लकडाउन सुरु भएपनि पर्यटन व्यवसायीले माघदेखि नोक्सान खेप्न थालेका थिए । त्यसले गर्दा बढी मारमा व्यवसायी थिए । माघदेखि आम्दानी गुमाउन थालेका व्यवसायीको चैतपछिको कमाई शुन्यमा झरेको थियो । तर, महंगो भाडा छुट गर्नमा घरमूलिले उत्तिसारो चाँसो देखाएनन । सिमित मनकारी घरमूलिले मासिक भाडामा केही छुट गरेपनि अधिकले छुट गर्न नचाहेपछि व्यवसायबाटै हात झिकेको अधिकारीको भनाई छ ।

‘मासिक घरभाडाको किचलोमा परेका धेरै समस्यालाई म आफैले समाधान गरिदिए । तर, मेरो नै समस्या समाधान भएन,’ उनले भने, ‘आम्दानी शुन्यको अवस्थामा आएपछि अप्ठेरो भयो । घरमूलिले मासिक भाडा नछाड्ने मनसाय बुझेपछि मैले नै होटल छाड्ने निर्णय गरे ।’ उनका अनुसार भूकम्प जाँदा पनि भाडामा होटल चलाएका व्यवसायीलाई घरमूलिले भारी छुट दिएका थिए । त्यो बेला (भूकम्प र नाकाबन्दी) भाडामा संचालित अधिकांश होटलले तीन महिनासम्मको छुट पाएको उनले बताए । 'भूकम्प र नाकाबन्दीको भन्दा अप्ठेरो अवस्था अहिले आयो । तर सबै घरमूलि मनकारी हुन चाहेनन,’ अधिकारीले भने ।  

घरमुलिले चैत–असार(चारमहिना)सम्मको अवधिमा डेढमहिनाको मात्र भाडा छुट दिएको उनले बताए । महंगो मासिक भाडा तिरेर होटल चलाउने अवस्था नदेखेपछि छाड्नुको विकल्प नदेखेको उनले बताए । तीनदशक अवधिमा दर्जन हाराहारीमा होटल चलाएपनि अहिलेको जस्तो अप्ठेरो अवस्था कहिल्यै नभोगेको उनले बताए । ‘पर्यटनमा बेलाबेला अप्ठेरा आएका थिए । तर, अहिले त पुरै बिस्थापित नै बनायो,’ उनले भने ।  

अधिकारीकै जस्तो समस्या अर्का व्यवसायी रामप्रसाद भट्टराईले पनि भोग्नुप¥यो । लेकसाइडमै प्यासिफिक गेस्टहाउस चलाएका भट्टराई पनि कोरोनाकै कारण पर्यटन क्षेत्रबाट बिस्थापित हुनुपरेको बताउँछन् । भट्टराइले १७ कोठा भएपनि १२ वटाकोठा संचालन गर्दै भवन भाडामा लिएका थिए । पहिलोपटक चार वर्षको अवधि सकेर दोश्रोपटक ५ वर्षका लागि होटल भाडामा लिएका भट्टराईले दुई वर्ष बाँकी छँदै होटल छाडेका छन् । ‘सात वर्षको अवधिमा भूकम्प र नाकाबन्दीका बेला केही अप्ठेरो परेपनि अहिले भने व्यवसायबाटै बाहिरिनुपर्ने सम्मको अवस्था आयो,’ उनले भने, ‘भूकम्प र नाकाबन्दीमा छोटो समयको समस्या थियो । अहिलेको समस्या लामो छ । अवस्था सहज भए नयाँ होटल भाडामा लिएर चलाउने हो, अहिलेलाई बाहिरिएको छु ।’  

भट्टराईले मासिक एकलाख ४० हजार रुपैयाँ भाडा तिर्दै आएका थिए । ‘होटल चलाउने भए मासिक ५० हजार रुपैयाँ र छाड्ने भए ५० प्रतिशत (मासिक ७० हजार) भाडा तिर्नुस भनेर घरमुलिले भने, तर, मैले ५० प्रतिशतका दरले भाडा तिरेर होटल नै छाडे,’ उनले भने, ‘लकडाउको पुरै अवधिको भाडा मिनाहा गर्न घरमुलि तयार भएनन । शुन्य आम्दानीमा मासिक भाडा तिरेर बस्ने अवस्था रहेन ।’ पर्यटन व्यवसायमा बेलाबेला समस्या आउने भएपनि यो पटक भने व्यापारबाटै हात धुुनुपर्ने अवस्था आएको उनले बताए । ‘अवस्था सहज भए फेरि कुनै होटल लिएर चलाउने हो, अहिलेलाई कोरोनाले लखेटिए झै भयो,’ उनले भने ।

अधिकारी र भट्टराईजस्ता धेरै व्यवसायीले कोरोना महामारीबीच भाडामा लिएका होटल अवधि पुरा नहुँदै छाडेका छन् । महंगो मासिक भाडा तिर्नुपर्ने सर्त नै उनीहरुका लागि अहिले टाउको दुखाई बनेको छ । सानो आकारमा व्यावसाय संचालन गरेपनि आम्दानीबिनाको महंगो भाडादरले सकस पारेको उनीहरुको भनाई छ । सानो आकारमा व्यवसाय चलाउनलाई बचाउन नसक्ने हो भने अरुलाई पनि समस्या पर्ने केही व्यवसायीको भनाई छ । ‘साना होटल वा व्यवसायीलाई बचाउन सकिएन भने ठूला व्यवसायी पनि बच्दैनन,’ अग्रज पर्यटन व्यवसायी गणेशबहादुर भट्टराई भन्छन, ‘साना व्यवसायीलाई पलायन हुन नदिनका लागि सरकारको पहल चाहिन्छ । त्यसबाहेक हामी व्यवसायीले पनि पहल गर्नुपर्छ ।’

पोखरा सबैखाले पाहुनाका लागि उपयुक्त छ भन्ने सन्देश दिनका लागि सानादेखि ठूला आकारका व्यवसायी बाच्नुपर्ने उनले बताए । ‘पोखरामा सबै धनाढ्य पाहुना आउने होईनन्, कम खर्च गर्ने पाहुनाका लागि पनि यहाँ ठाउँ हुनुपर्छ,’ अग्रज व्यवसायी भट्टराइले भने, ‘सबै अटाउने ठाउँ हुनुपर्छ । होटल मात्र नभई रेस्टुरेन्टदेखि गार्मेेन्ट, ट्रेकिङ, इम्ब्रोइडरीका साना व्यवसायी पनि बाच्नुपर्छ ।’ अहिले बन्द भएका होटल अवस्था सहज भएर नयाँ व्यवस्थापनमा चल्न समय लाग्ने उनले बताए । ‘सधैंका लागि बन्द भएजस्तै भयो । अहिले भाडामा चलेका थिए, तर, अब भाडामा लिन चाहने नयाँ लगानीकर्ता आउनुपर्छ । नयाँ लगानीकर्ता पनि तत्कालै आउने सम्भावना छैन,’ उनले भने, ‘संचालक बाहिरिएका ती होटल अब कहिले खुल्छन भनेर भन्न सकिन्न ।’

पश्चिमाञ्चल होटल संघका अनुसार भाडामा लिएर चलाएका करिब ७० वटा होटलका संचालक अहिले व्यवसायबाट बाहिरिइसकेका छन् । यो क्रम अझै जारी रहेको संघको भनाई छ । संघका अध्यक्ष विकल तुलाचनका अनुसार लेकसाइडमा कम्तिमा मासिक ५० हजारदेखि तीनलाख रुपैयाँसम्म भाडा तिरेर व्यवसायीले मध्यमस्तरका होटल चलाएका थिए । तर अहिले ती व्यवसायी बढी मारमा परेको उनले बताए । ‘२०–३० कोठाका होटल भाडामा लिएर चलाएका थिए । अहिले आम्दानी शुन्य छ, तर, मासिक भाडाको बोझ भने घटेको छैन,’ उनले भने, ‘त्यही भएर व्यवसायीले बिचैमा होटल छाडेका छन् ।’ मध्यमस्तरका ती होटल अब तत्काल खुल्ने अवस्था नरहेको उनले बताए ।  

‘अहिले व्यापार छाडेका व्यवसायी पनि पर्ख र हेरको अवस्थामा छन् । सहज हुँदाको अवस्थामा पाहुना आउन थालेपछि मात्र केही व्यवसायी पर्यटनमा फर्किन सक्छन,’ उनले भने, ‘आधाजति व्यवासायी फर्किन सक्ने सम्भावना छ । तर, एकवर्ष ती होटल चल्ने अवस्था रहन्न ।’ भूकम्प र नाकाबन्दीको समेत मार खेपेका व्यवसायी अहिले भने निकै अप्ठेरोमा परेपछि व्यवसायबाट हात झिकेको उनले बताए । ‘मासिक भाडा पनि साह्रै नै महंगो छ । यो अवस्थामा आम्दानीबिनाको व्यवासाय चालु राख्नु निकै नै चूनौतीपूर्ण हो,’ उनले भने, ‘हामीले नै घरमूलिलाई भाडा मिनाहा गर्न अनुरोध गर्‍यौ । केही मनकारी घरमूलि तयार पनि भए । तर, महंगो भाडादरका कारण सबैले छुट दिन चाहेनन् ।’

प्रकाशित: ११ श्रावण २०७७ ११:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App