२० आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

अर्को जिल्लामा गाडी चल्न नदिइएकोमा यातायात व्यवसायी असन्तुष्ट

सुनसरी र मोरङमा भने प्रशासनले गाडी चल्न दिइने

धरानको भानुचोकस्थित बसपार्क । तस्बिर : रोहित राई

सरकारले मंगलबार मध्यरातीबाटै लकडाउन अन्त्य भएको बताए पनि एक जिल्लाबाट अर्कोमा जान नदिइएकोमा प्रदेश १ का यातायात व्यवसायीहरुले असन्तुष्टी जनाएका छन् । सरकारले लकडाउन अन्त्य भने पनि भदौ १ गतेदेखि मात्र लामो दुरी र अन्तरजिल्ला सवारीसाधन चल्न दिन निर्णय अपरिपक्क भएको व्यवसायीहरुको टिप्पणी छ । जिल्लाभित्र मात्र सवारी चल्दा व्यवसायीसँगै यात्रुहरुले दुःख पाइरहेका छन् ।

 नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रदेश १ संयोजक सरोज श्रेष्ठले सरकारले मंगलबार राती १२ बजेपछि लकडाउन अन्त्य भएको भनेपनि यातायातका साधनहरु जिल्लाबाहिर जान नपाउदा सर्वसाधारण र जनता भ्रमित भएको बताए । ‘कि त सरकारले साउन ३२ गतेमात्र लकडाउन अन्त्य भएको भन्नुपथ्र्यो, र भदौ १ गतेदेखि खुला गर्नुपथ्र्यो,’उनले भने,‘मंगलबार रातीदेखि लकडाउन अन्त्य भयो भन्ने तर एउटा जिल्लाबाट अर्को जिल्लामा गाडी जान नपाउने हुँदा यात्रुहरुले पनि दुःख पाए ।’

अहिले धरानबाट मोरङ वा झापा जान चाहने यात्रुहरुले बीच बाटोबाट उत्रिएर अर्को गाडी चढ्नुपर्ने बाध्यता छ । ‘धरानबाट विराटनगर जाने गाडी दुहबीबाट तल जान नपाउने, धनकुटा हिडेको गाडी भेडेटारमा रोकिनुपर्ने हो भने लकडाउन कसरी खुल्यो ?’संयोजक श्रेष्ठ भन्छन् । यस्तै, पुर्वको झापाबाट आएको गाडी पनि मोरङसँगको सिमाना उर्लाबारीमा नै रोकिने गरेको व्यवसायीहरुको भनाई छ । ‘जनता र व्यवसायी भ्रममा परे, लकडाउन खुल्यो भनियो तर सवारी साधन जिल्लाभित्र मात्र रहेछ,’उनले भने,‘यसरी त व्यवसायीहरुले फेरि आफ्नो गाडी ग्यारेजमा लगेर थन्काउनुपर्ने अवस्था भयो ।’

संयुक्त बस व्यवसायी संघ, भोजपुरका अध्यक्ष गोपाल तामाङले पनि अर्को जिल्ला गाडी चल्न नदिदा यात्रुहरुले धेरै समस्या भोगिरहेको बताए । भोजपुरबाट तराई झर्ने गाडी लेगुवा घाटसम्म मात्र जाने र त्यहाँबाट धनकुटा पुगेर यात्रुहरुले अर्को गाडी चढेर सुनसरीको सिमानासम्म जानुपर्ने बाध्यता भएको उनले बताए । ‘हिजो हाम्रो एउटा गाडी लेगुवा घाट पार गरेछ, र फर्कदा ९ जना यात्रु लिएर आउदा सबैलाई बीच बाटोमा नै क्वारेन्टिनमा राखिदिएको छ,’उनले भने ।

मोरङ र सुनसरी दुई जिल्लामा चल्न दिइने
प्रदेश १ मा सुनसरी र मोरङ जिल्लाभित्र गाडी भने सवारीसाधन चल्न दिइने भएको छ । यी दुवै जिल्ला एकअर्कामा अन्तरसम्बन्धित भएको कारणले व्यवहारिकतालाई मध्यनजर गदै दुई जिल्लामा गाडी चल्न दिइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोखरेलले बताए । ‘यो दुई जिल्ला इन्टरकनेक्सन छ, त्यसैले व्यवहारिक हिसाबले हेरेर चल्न दिने भनेको हो,’प्रजिअ पोखरेलले भने ।

उनका अनुसार यातायात व्यवसायी र केही सांसदहरुले पनि झापा, मोरङ र सुनसरीबीच यातायात आवागमन खुला गर्न माग गरिरहेका छन् । तर, सरकारले यस्तो निर्णय नगरेको कारण तत्काल सम्भव नभएको पनि पोखरेलले बताए । ‘हामीलाई माथिबाट त्यस्तो केही निर्देशन आएको छैन, सुनसरी र मोरङमा चल्न दिने पनि हामीले व्यवहारिकता हेरेर भनेको हो,’उनले भने ।

पहाडीरुटमा पास लिएर जादै गाडी
धरानबाट पहाडीरुटको सानो गाडीहरुले यात्रु ५ वा ६ जना भएपछि पास लिएर जाने गरेका छन् । अहिले संखुवासभा र भोजपुर जिल्लामा जाने गाडीहरुले झण्डै दोब्बर झाडा लिएर चलिरहेका छन् । ‘सानो गाडीहरुले ५, ६ जना यात्रु लिएर गइरहेका छन्,’एक ट्राफिक प्रहरीले भने,‘५,६ जना यात्रु पुग्यो भने ईलाका प्रशासन कार्यालयबाट पास लिएर पहाडी जिल्लामा लगिरहेका छन् ।’ धरानबाट भोजपुर र संखुवासभाकोलागि मात्र साना गाडीहरुले यात्रु लगिरहेका छन् ।

प्रकाशित: ७ श्रावण २०७७ १३:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App