९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

योजना बन्यो, तर सडक बनेन

बुटवल–पाल्पा सडक खण्ड

वर्षायाम सुरु भएपछि सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडकखण्ड कतिबेला अवरुद्ध हुन्छ भन्ने केही थाहाँ हुँदैन। विशेष गरि सिद्धबाबा क्षेत्रको पहिरोले यो सडकमा यात्रा गर्नेलाई पिरोल्छ। असार लागेसँगै सिद्धबाबा क्षेत्रमा गएको पहिरोले पटक पटक सडक अवरुद्ध हुने गरेको छ।

यो वर्ष कोरोना महामारीका कारण लकडाउन भएकाले सार्वजनिक सवारी साधन चलेका छैनन्। तर, सडक अवरुद्ध हुँदा मालवाहक, निजि तथा अत्यावश्याक एवं बिरामी बोकेका सवारी साधन पहिरोका कारण बीचबाटोमे रोकिएका छन्। गएको एक सातादेखि बुटवल–पाल्पा सडक खण्डमा निरन्तर पहिरो गएपछि सडक ठप्प भएको छ।  

असार २९ गते सिद्धबाबा क्षेत्रको तिनाउ गाउँपालिका पैठेडाँडामा ठूलो पहिरो खस्यो। यो पहिरो हटाउन तीन दिन लाग्यो। स–सना अन्य पहिरोले पनि सडक बेलाबेलामा अवरुद्ध हुनेक्रम जारी थियो। त्यहि क्रममा शनिबार पुन ः बुटवल–पाल्पा सडकमा अर्को ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको छ।  

तानसेन–८, गौडेपुलमा ठूलो ढुंगासहितको पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। सडकको ‘बेस’लाई नै पहिरोले बगाएकाले पूर्ण रूपमा पहिरो हटाउन समय लागेको प्रहरीको भनाइ छ। सडक अवरुद्ध मात्रै होइन बेलाबेलामा पहिरोले सडक नै पुर्दा मानवीय क्षती समेत हुने गरेको छ।  पहिरोमा परेर मृत्यु  हुने यात्रु प्रत्येक वर्ष थपिँदै गएको प्रहरी तथ्यांकले देखाएका छ।  

सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध हुने मात्रै होइन, पहिरोमा परेर मृत्यु हुने यात्रुको संख्या प्रत्येक वर्ष थपिँदै गएको प्रहरी तथ्यांकले देखाएका छ।  

यो सडक मर्मत गरेर राम्रो बनाउनका लागि संघीय र प्रदेश सरकार दुवैले प्राथमिकतामा राखेका छन्। योजना र बजेटको पनि व्यवस्था गरिएको छ। तर सडकको अवस्थामा भने कुनै सुधार आएको छैन। यो सडक ‘मृत्यु मार्ग’को रूपमा परिचय बदल्न थालेको स्थानीयको भनाइ छ। प्रदेश ५ सरकारले सिद्धबाबाको पहिरोबाट जोगाउन वैकल्पिक मार्गका लागि भनेर बजेट विनियोजन गर्न थालेको तीन वर्ष भएको छ। आर्थिक बर्ष २०७५÷०७६ र २०७६÷०७७ मा १०÷१० करोड बजेट विनियोजन गरेर निर्माणको काम थालेको हो। बुटवल धागो कारखाना, चरंगे झुम्सा सडकलाई बाइपास सडकका रूपमा विस्तार गर्ने योजना प्रदेश सरकारको छ।  

तर, सिद्धबाबा क्षेत्रमा पहिरोले सडक अवरुद्ध गरेपछि सवारी गुड्न सकेका छैनन्। यो आर्थिक वर्षमा पनि वैकल्पिक सडक खुल्ने कुनै टुंगो छैन। गत वर्षमा विनियोजन भएको बजेटकै काम हुन नसकेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता इञ्जिनियर भिमार्जुन पाण्डेले बताए। उनले यो वर्षमा ५ वटा कल्वर्ट र २ वटा पक्की पुल निर्माण गर्नुका साथै २३ किलोमिटर ग्राभेल निर्माणको काम गर्ने बताए।

प्रदेश सरकारले बुटवल धागो कारखाना चरंगे हुँदै झुम्सासम्मको करिब २३ किलोमिटर सडकलाई सिद्धबाबाको वैकल्पिक मार्गका रूपमा अघि सारेको हो। सुरुकै वर्षमा वैकल्पिक मार्ग बन्ने बताइए पनि त्यो भने कार्यान्वयन हुन सकेको छैन ।

सुरुङमार्गको चर्चा धेरै, काम अनिश्चित  

संघीय सरकारले सिद्धबाबा पहिरोलाई मध्यनजर गरि सुरुङमार्ग निर्माण गर्ने तयारी गरेको छ। प्रत्येक वर्षको प्राथमिकता सूचीमा सुरुङ मार्ग निर्माण गर्ने गरि बजेट छुट्याउने गरिएको छ। यो वर्ष सुरुङ मार्ग निर्माणका लागि ३३ करोड बजेट विनियोजन भएको मन्त्रालयका प्रवक्ता पाण्डेले जानकारी दिए। अर्थमन्त्रालयले यो सुरुङ मार्गका लागि आवश्यक बजेट दिने गरि स्विकृत समेत गरेको उनले बताए।  

नेपाल सरकासँग स्विसले सुरुङ मार्गको डिजाइन गरेर गत वर्ष भौतीक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको सडक विभागलाई सिद्धबाबाको सुरुङ मार्ग डिजाइन हस्तान्तरण गरेको थियो। डिजाइनमा करिब ७ अर्बको लागत अनुमान गरिएको छ।  

गुणस्तर अनुसन्धान विकास केन्द्रका निर्देशक इञ्जिनियर शिव नेपालले सुरुङमार्ग आफूहरूका लागि नयाँ काम भएकाले यसको ठेक्का दिनका लागि मापदण्ड र थप अध्ययन आवश्यक भएकाले तत्तकाले निर्माण सुरु गर्न नसक्ने बताए। उनले प्रक्रिया सुरु भएको बताउँदै निर्माणको चरणमा भने यो वर्ष प्रवेश गर्न सकिने बताए। पुनः डिजाइन गर्दा यसको लागत करिब साँढे ८ अर्ब पुग्ने उनको भनाइ छ।  

बुटवलदेखि पाल्पासम्म १.२ किलोमिटर मात्रै सुरुङमार्ग बनाइने छ। यसका साथै पहिरोग्रस्त ९ सय मिटरमा भने रकसेट (ढुंगा खस्ने) प्रविधि जडान र सुरक्षाको निर्माण गर्ने डिजाइन स्विसले बनाएको छ। सिद्धबाबाको चट्टाने पहिरोको विकल्पबारे सडक विभागले विभिन्न चरणमा काम गर्ने बताए पनि त्यो चर्चामा मात्रै हुने गरेको स्थानीयले बताएका छन्।  साविक लुम्बिनी, गण्डकी र धौलागिरी अञ्चलको प्रवेशद्वार मानिने सिद्धार्थ राजमार्ग निकै व्यस्त रहने गर्छ।

प्रकाशित: ५ श्रावण २०७७ ०३:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App