१६ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

थाल कुच्चियो, सलह भागेन

बिहीबार सलहले म्याग्दीमा नष्ट गरेका मकै। तस्बिर: हरिकृष्ण/नागरिक

बेनी नगरपालिका–६, थाकनपोखरीकी गुना रिजालले बिहीबार बिहानै खेतबारीमा आएको सलह धपाउन पाँचवटा थाल लिएर गइन्। पहिलोपटक सलह देखेकी रिजालले थाल ठटाउँदा भाग्ने सुनेपछि बिहानभरी खेतबारीमा थाल ठटाउँदासमेत सलह नभागेपछि निराश भएर फर्किइन्।  

जिल्लाकै मंगला गाउँपालिका–२, तल्ला डडुवाकी तुलकुमारी सुवेदीले सलहले भित्र्याउन लागेको मकैबारी सखाप पारेपछि आगो बालेर धुवाँ फैलाउँदै चर्को ध्वनी निकाल्ने गरी थाललगायत स्थानीय विधि प्रयोग गरे पनि सलहले मकै छाडेन्। मकैबारीमा प्रवेश गरेको सलह धपाउँदा सुवेदीले तीनवटा स्टिलको थाल प्रयोग गर्न नमिल्ने भयो भने टिनसमेत छियाछिया भयो।  

कृषि ज्ञान केन्द्र र स्थानीय तहले किसानलाई सलह देखेमा धुँवा लगाउने, ध्वनी जस्तो थाल, टिन, ड्रम तथा बाइक र गाडीको हर्न प्रयोग गर्न भन्दै प्रचारप्रसार गरे पनि प्रभावकारी नभएको गुनासो गरेका छन्। ‘थाल कुच्चिने गरी ध्वनी निकाल्दासमेत सहल खेतबारीमै छ, धेरैको थाल कुच्चिएको छ,’ बेनपा–६ थाकनपोखरीका बिमल रिजालले भने। उनले सलहले मकैंको घोगा लाग्दै गरेका मकैका बोट रित्तो बनाएको बताए।  

उनका अनुसार खेतबारीमा बसेपछि सलह धपाउनै समस्या भएको बताए। मकैको पातबाट सुरु गरेको सलहले बोट रित्तो हुदाँसम्म खाने गरेको उनले बताए। ध्वनीले सलह नभागेपछि किसानले विषादी माग गरेका छन्। ‘चर्को आवाज निकाल्दासमेत सहलले टेरेन्, ‘अब विषादी नै छर्किनुपर्छ,’ बेनपा–४, का रामप्रसाद पौडेलले भने। उनका अनुसार पश्चिमतर्फबाट करोडौंको संख्यामा थपिँदै गरेको बताउँदै विज्ञसहितको टोलीको मागसमेत गरेका छन्।  

म्याग्दीको पश्चिम क्षेत्रबाट पूर्वतर्फ गइरहेको सलहलाई स्थानीयले धपाउनै नसक्ने अवस्था भएपछि खेतबारीबाटै फर्किन थालेका छन्। सबैभन्दा धेरै पश्चिम क्षेत्रको बालीमा असर गरेको  छ। तीन दिनदेखि लगातार किसान खेतबारीमा सलह धपाउन थाले पनि स्थानीय सरकारले सहयोगमा चासो नदेखाएको गुनासोसमेत गरेका छन्। हालसम्म बेनी नगरपालिकाको वडा नं ४, ५ र ६ मा धेरै क्षति पुगेको छ भने मंगला गाउँपालिका वडा नं १ र २ वडामा क्षति देखिएको छ।

फट्यांग्रोजस्तो देखिने सलह किरा कृषि बाली नष्ट गर्दै आएको अहिलेसम्मकै सबैभन्दा खतरनाक किरा भएकाले म्याग्दीमा भित्रिँदै गरेको क्षेत्रको पहिचान गर्न नसक्दा पश्चिम क्षेत्रमा लगातार संख्या बढिरहेको छ। एउटै मकैमा एक सयवटासम्म बसेर नष्ट गरेको किसानको भनाइ छ। जिल्लाभरका किसानले सलहले ध्वनीलाई नटेरेको बताउँदै नियन्त्रणका लागि नयाँ विधि आवश्यक रहेको बताएका छन्।  

सलह किरा दिनभर बाली खाने र साँझ परेपछि एकै ठाउँमा जम्मा भएर बस्ने  भएकाले बासस्थानको खोजी गरी नष्ट गर्ने योजना बनाइएको छ। आकासै ढाक्नेगरी आएको सलहले तरकारी, मकैबाली र भर्खर रोपेको धानमा क्षति पु¥याएपछि किसान निराश भएका छन्। लामो समय फौजी किराको मारमा परेका किसान अहिले सहलको प्रकोपका कारण समस्यामा परेका छन्। यता कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख गोविन्दराज कोइरालाले जिल्लाभित्र ठूलो संख्यामा सलह देखिए पनि सामान्य क्षतिको खबर आएको बताए।

‘क्षतिको पूर्ण विवरण आएको छैन, ‘ठूलो क्षति पुगेजस्तो लाग्दैन,’ कोइरालाले भने। स्थानीय तहसमेत सहल आतंकबारे बेखबर छन्। सहलको आतंकबाट खेतबारीमा बाली सखाप भइरहेको अवस्थामा स्थानीय तहले प्रभावकारी नियन्त्रणको विधिबारे जानकारी नै गराएको छैन। यसैबीच तत्काल सलह नियन्त्रणको प्रभावकारी विधि प्रयोग नगरे आगामी दिनमा अन्न उत्पादनमा भारी गिरावट आउने कृषकको भनाइ छ।

प्रकाशित: २ श्रावण २०७७ ०३:५५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App