२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यटक सवारीको अर्बौ लगानी जाेखिममा

सार्वजनिक सवारी खुल्दा हामीले पनि यात्रु बोक्न पाउनुपर्छ: व्यवसायी

पोखरा राष्ट्रबैंक चोकस्थित बसपार्कमा ठड्याइएका पर्यटक बस। फाइल तस्बिर: नागरिक

पोखराको यात्री बस प्रालिले पछिल्लो डेढ वर्ष अवधिमा सुविधासम्पन्न पाँचवटा सवारी भित्र्याउँदा तीनकरोड रुपैयाँ लगानी ग-यो। दुईठुला आकारका सुविधासम्पन्न बस त कोरोना भाइरस संक्रमणका कारण आन्तरिक लकडाउन सुरु हुनु केही दिन अघिमात्र भित्र्याइएको थियो। जसोतसो पोखरा भित्रिएका ती बसले अहिलेसम्म एकपटक पनि यात्रु बोक्न पाएका छैनन्। लकडाउनपछि ती सबै सवारी ग्यारेजमा थन्किएका छन्।  

यात्रीबस प्रालिको यो उदाहरण मात्र हो, पर्यटक सवारी (हरियो नम्बर प्लेट) का लागि यहाँका व्यवसायीले गरेको ठूलो लगानी अहिले अलपत्र छ। सरकारले सार्वजनिक सवारी सञ्चालन गर्न दिने तयारी गरिरहँदा यी पर्यटक सवारीको अवस्था के हुने भन्नेमा अझै स्पष्ट पारेको छैन। तर, पर्यटन व्यवसायी भने सार्वजनिक सवारी खुल्दाको अवस्थामा आफूहरुका सवारी पनि निर्वाध रुपमा स्वास्थ्यको मापदण्ड पालना गरेर गुड्न पाउनुपर्ने बताउँछन्। अरु यातायात व्यवसायीलाई झैं आफूहरुलाई पनि कोरोनाका कारण मार परेको उनीहरुको भनाइ छ। आन्तरिक यात्रुलाई निर्वाध ओसारपसार गर्न दिनुपर्ने उनीहरुको भनाइ छ।

‘सार्वजनिक सवारी सञ्चालन गर्न दिँदाको दिन पर्यटक सवारीले पनि यात्रु बोक्न पाउनुपर्छ,’ यात्री बसका अध्यक्ष सोमबहादुर थापाले भने, ‘सरकारले तोकिदिएको स्वास्थ्य प्रोटोकल पूरा गर्न व्यवसायी तयार छन्। तर, यात्रु बोक्न पाउनुपर्छ।’ अहिले पनि बेलाबेला साना आकारका पर्यटक सवारीले स्थानीय प्रशासनको अनुमतिमा गुडिरहे पनि सार्वजनिक यातायात सञ्चालन गर्न दिँदा सबै व्यवसायीले गाडी चलाउन पाउनुपर्ने उनले बताए।  

‘ठूलो आकारको लगानी पर्यटक सवारीमा छ। ती गाडी थन्किएका छन्, पर्यटक आउने दिन कुर्दा वर्ष बित्न सक्छ,’ उनले भने, ‘राज्यको सुरक्षा मापदण्ड पूरा गरेर यी सवारी पनि सञ्चालन गर्न दिनुपर्छ। हिजो पर्यटक सवारीले धेरै आन्तरिक यात्रुको मन जितेको अवस्थामा अब सार्वजनिक सवारी खुलाउँदा पर्यटक गाडी पनि गुड्न दिनुपर्छ।’ सुरक्षित र सरसफाइका विषयमा अब्बल रहेकाले पनि आन्तरिक यात्रुको पहिलो रोजाइमा पर्यटक सवारी पर्दै आएको उनले बताए। ‘सार्वजनिक सवारीका रुपमा चलाउन नदिने हो भने पर्यटक सवारीको लगानी खेर जान सक्छ,’ उनले भने, ‘यात्रुको चाहना बमोजिम सवारी चलाउन पाउनुपर्छ।’  

सार्वजनिक सवारी सञ्चालन भए पनि एकै समूहमा रहेका यात्रुले भिन्दै गाडी नै रिजर्भ गरेर हिँडडुल गर्ने अवस्था आउने भएकाले पनि पर्यटक सवारी सञ्चालन गर्न दिनुपर्ने उनले बताए। ‘सार्वजनिक सवारीमा जोखिम ठानेर कुनै परिवारले अब पर्यटक जिप रिजर्भ गरेर आउजाउ गर्न चाहेमा अवरोध हुनु भएन,’ उनले भने, ‘यस्तै अवस्था ठूला बसमा पनि लागु हुन्छ। एकै समूहमा २०–२५ जना यात्रु रहेछन् भने उनीहरुले भिन्दै पर्यटक बस रिजर्भ गर्न सक्छन्। त्यो बेला पर्यटक बसले पनि यात्रु बोक्न पाउनुपर्छ।’

पर्यटक बस सञ्चालन गर्दै आएका व्यवसायीको छाता संस्था नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस (नाट्टा)का पूर्वअध्यक्ष केदारनाथ शर्माले पनि सरकारले पर्यटन व्यवसायीलाई पनि सवारीको प्रोटोकल तोकिदिएर गाडी गुडाउन दिनुपर्ने बताए। ‘हामीले पनि व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ। अधिक आन्तरिक यात्रुले रुचाएको पर्यटक सवारीमा मापदण्डअनुसार यात्रु बोक्न पाउनुपर्छ,’ शर्माले भने, ‘पर्यटनको पनि ठूलो लगानी सवारीमा छ। बिस्तारै पर्यटनलाई उकास्न जरुरी छ। त्यसका लागि गतिविधि बढाउँदै जानुपर्छ।’ पर्यटक सवारीलाई चल्न नदिने हो भने सवारीमा गरेको लगानी डुब्ने जोखिम रहेको उनले बताए।  

नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए), गण्डकी अध्यक्ष बोबरजंग गुरुङका अनुसार अहिले संघमा करिब ६ सय गाडी आवद्ध छन्। यी साना आकारका सवारी मात्र हुन्। कार, जिप, भ्यान, माइक्रोबसदेखि कोस्टर (मिनिबस) सम्मका सवारी यिनमा छन्। सुविधासम्पन्न सवारीको रुपमा चलाउने भएकाले व्यवसायीले कम्तिमा ३५ लाखदेखि डेढ करोड रुपैयाँसम्म एउटै गाडीमा लगानी गरेको उनले बताए। कम्तिमा ३५ लाखको कारदेखि अधिकतम डेढकरोड रुपैयाँ (कोस्टर, ल्यान्डक्रुजर)का गाडी अहिले कामविहीन भएर थन्किएका छन्। साना आकारका सवारी मात्र डेढ अर्ब लगानी रहेको उनले बताए।

‘हाम्रा गाडीमा पनि खिया लागिसकेको छ। पर्यटक नआएसम्म चल्ने अवस्था रहन्न,’ गुरुङले भने, ‘तर, अब सार्वजनिक सवारी सञ्चालन गर्न दिँदाको दिन यी गाडी पनि निर्वाध चल्न पाउनुपर्छ।’ यात्रु खोज्ने काम व्यवसायीको भए पनि कतैबाट अवरोध आउन नहुने उनले बताए। ‘पर्यटक सवारीलाई सार्वजनिक सवारीको रुपमा मान्न अरु यातायात व्यवसायी तयार छैनन्। तर, आन्तरिक यात्रुको रोजाइ पर्यटक सवारीमा छ,’ उनले भने, ‘त्यसैले पर्यटक सवारीलाई पनि निर्वाध चल्ने वातावरण सरकारले बनाइदिनुपर्छ।’ पैसा तिर्नसक्ने मान्छेले रिजर्भ गरेर होस् वा दैनिक पोखरा–काठमाडौं–पोखरा रुटमा चल्ने पर्यटक बसमा यात्रा गर्न पाउनुपर्ने अध्यक्ष गुरुङले बताए।

नाट्टा पोखराका अध्यक्ष सञ्जयकान्त सिग्देलमा अनुसार नाट्टामा तीन सय ६१ गाडी आवद्ध छन्। ती मध्ये एक सय २८ ठूला आकारका बस हुन्। ती बस पोखरादेखि काठमाडौं, चितवन, लुम्बिनीसम्म दैनिक सञ्चालन हुँदै आएका थिए। नाट्टाले सवारीमा मात्र करिब दुई अर्ब ६५ करोड लगानी रहेको बताएको छ। ‘ठूलो लगानी पर्यटक सवारीमा छ। अहिले परिस्थिति अनुकूल नहुँदा यी सवारी थन्किएका छन्,’ अध्यक्ष सिग्देलले भने, ‘तर, सार्वजनिक सवारी सञ्चालन गर्न सरकारले अनुमति दिँदा हाम्रा बस पनि पोखरा–काठमाडौं रुटमा यात्रु बोकेर अउजाउ गर्न पाउनुपर्छ।’  

यसअघि बेलाबेला पर्यटक बाहक सवारीमा आन्तरिक यात्रुलाई यात्रा गर्न अवरोध हुने गरेको थियो। अवरोधका बाबजुद पनि पोखरा–काठमाडौं र पोखरा–चितवन रुटमा आन्तरिक यात्रु बोकेर नियमित रुपमा पर्यटक बस गुडिरहेका थिए। सिजनका बेला पोखरा–काठमाडौं रुटमा एकतर्फी दुई दर्जन बढी बस गुड्दै आएका थिए। अधिक आन्तरिक यात्रुले पर्यटक बस रुचाउने गरेका थिए।  

‘हामी सरकारले तोकेको स्वास्थ्यको प्रोटोकल मान्न तयार छौं। तर, हाम्रा पर्यटक बसले पनि अरुले झै यात्रु बोक्न पाउनुपर्छ,’ सिग्देलले भने, ‘हाम्रा सवारी पनि सार्वजनिक यातायात सरह हुन्। यात्रुले टिकट काटेर यात्रा गर्न पाउनुपर्छ। बरु बढी सुविधा हाम्रा सवारीमा छन्।’ अधिक आन्तरिक यात्रुले पर्यटक बस रुचाएको अवस्थामा अब पनि प्रोटोकल तोकिदिएर सञ्चालन गर्न दिनुपर्ने उनले बताए। ‘हामी त झन क्षमताभन्दा बढी यात्रु पनि बोक्दैनौ, जहाँ पायो त्यहाँ पनि रोक्दैनौं। त्यसैले बढी सुरक्षित पनि छन्,’ उनले भने, ‘अब पनि यात्रुले पर्यटक बस पक्कै खोज्नेछन्। सरकारले सबैलाई बाच्ने वातावरण बनाइदिनुपर्छ।’ पोखरामा सबैगरी १५ सय पर्यटक सवारी छन्। नाट्टा र एनटिभिएमा आवद्ध बाहेक पनि सवारी छन्।

प्रकाशित: २ श्रावण २०७७ ०३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App