७ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

रसुवा भन्सारद्वारा भन्सार जाँचपास सुरु

पहिलो दिन ५५ लाख राजस्व संक्लन

रसुवागढी नाका। तस्बिर: हिमनाथ/नागरिक

रसुवा भन्सार कार्यालयले आइतबारदेखि भन्सार जाँचपास सुरु गरेको छ। कार्यालयले पहिलो दिन ५५ लाख राजस्व संकलन गरेको छ। विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण गएको माघ १५ गतेदेखि बन्द भएको नाका गएको सोमबारदेखि पुनः सञ्चालनमा आएको थियो।  

नाकासम्म व्यापारी आउन कठिन भएको, कताको कामदार कता राख्ने भन्ने विषयमा विवाद, मेसहरूले पहिलेको भाडा उपलब्ध नगराएको र रसुवाका व्यवसायीले सिन्डिकेट लगाएको भन्ने आरोप लागेपछि जाँचपासमा ढिलाइ भएको हो।

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले आइतबारदेखि जाँचपास सुरु भएको बताए। नाकामा दैनिक चारवटा चिनियाँ सवारीले सामग्री आयात गरिरहेका छन्। आएका सामग्री नेपाली कन्टेनरले भन्सार यार्डसम्म ल्याउने गरेका छन्।

अहिले चीनबाट रेडिमेड, इलेक्ट्रोनिक्स सामग्री, जुत्ताचप्पल, घरेलु उद्योगका सामग्री आइरहेको छ। चिनियाँ पक्षले मितेरी पुलसम्म सामग्री ल्याएर झार्ने र त्यहाँबाट चिनियाँ गाडी फर्किएपछि मात्र नेपाली सवारी त्यहाँ जान पाउने व्यवस्था मिलाइएको छ।  

चिनियाँ गाडीबाट आएको सामग्री चिनियाँ कामदारले झारेर फर्कने छन्। मितेरी पुलमा सामग्री लोड–अनलोड गर्न व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) सेट लगाएका कामदार रहने छन्। चिनियाँ पक्षले एउटा गाडीमा ल्याएको सामग्री नेपाली दुईवटा कन्टेनरमा राख्ने व्यवस्था मिलाइएको छ। नेपाली पक्षले क्वारेन्टिनमा राखिएका १५ जना चालक र १६ कामदारलाई त्यहाँ पठाएको छ।  

नाका खोलेसँगै नेपाली तथा चिनियाँ पक्षले स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राखेका छन्। कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै गएको माघ १५ गतेदेखि नाका बन्द भएको थियो। चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ।

प्रकाशित: ३० असार २०७७ ०३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App