१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

कर्जाको सावाँ र ब्याजको ताकेता नगर्न होटल संघको आग्रह

पोखराको मुख्य बजार क्षेत्रमा बिस्तारै चलहपहल बढ्दै गए पनि पर्यटकीय क्षेत्र भने सुस्ताइरहेको छ। खुकुलो लकडाउनमै व्यस्त बजारका व्यापारिक पसल खुल्दै सहज हुँदै गएका छन्। पर्यटकीय क्षेत्र बौरिन अझै समय लाग्ने छ। कोभिड १९ को महामारी छ। दैनिक सयौंको सख्या कोरोना संक्रमित थपिँदै गएका छन्। पर्यटन क्षेत्र ठप्पप्रायः छ। ठप्पै रहेको अवस्थामा समेत पश्चिमाञ्चल होटल संघ पोखराले कर्जाको सावाँ र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ।

पर्यटन तथा होटल क्षेत्रलाई असार मसान्तको कारण देखाउँदै बैंक तथा वित्तीय क्षेत्रबाट सावाँ तथा ब्याज भुक्तानीका लागि गरिएको ताकेताले व्यापारीलाई तनावमा पु¥याएको संघले जनाएको छ। संघका अध्यक्ष विकल तुलाचनले यो विषम परिस्थितिमा व्यवसायीले कर्जा भुक्तानी गर्ने स्थिति रहेको उल्लेख गरे। ‘विद्यमान समयमा कर्जा भुक्तानका लागि बैंक तथा वित्तीय क्षेत्रबाट ताकेता तथा मानसिक दवाव दिँदा असहज परिस्थिति उत्पन्न हुने छ। असहज परिस्थितिको भागिदार बैंक तथा वित्तीय संस्था नै हुनुपर्छ,’ उनको भनाइ थियो।  

सरकारले विभिन्न क्षेत्र सञ्चालनका लागि लकडाउन खुकुलो बनाएको छ। तर त्यसमा अझै होटल व्यवसाय परेको छैन। होटल व्यवसाय बन्द अवस्थामा छन्। बन्दकै समयमा बैंक तथा वित्तीय संस्थाले कर्जाको सावाँ तथा ब्याज भुक्तानी गर्न असमर्थ रहेको संघले उल्लेख गरेको छ। ‘यस्तो अवस्थामा पनि होटल तथा पर्यटन व्यवसायीलाई कर्जाको सावाँ तथा ब्याज भुक्तानीको निम्ति ताकेता वा जोडवल नगरिदिन सम्पूर्ण बैंक तथा वित्तीय संस्थालाई संघमार्फत आग्रह गर्छौं,’ उनको भनाइ छ।  

संघले पुनर्कर्जाको कार्यविधि जारी गर्न नेपाल राष्ट्रबैंकले ढिलाइ गरेको प्रति गनुासो गरेको छ। पुनर्कर्जाको कार्यविधि र मौद्रिक नीति असार मसान्तभित्रै जारी गर्नुपर्ने भन्दै साउनमा जारी गर्ने तयारी गरेकामा संघले असन्तुष्टि जनाएको छ। घोषणा गरिएको लकडाउनकै कारण पर्यटन तथा होटल क्षेत्र विगत साढे तीन महिनादेखि पूर्णरुपमा ठप्प छन्। कारोबार शून्य रहेको छ।  

सरकारले नेपाल भ्रमण वर्ष २०२० घोषणा गरेसँगै पर्यटन व्यवसायी उत्साहित भएका थिए। तर विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को संक्रमणका कारण सबै क्षेत्रमा असर पु¥याएको छ। भ्रमण वर्षलाई लक्षित गर्दै पर्यटन तथा होटल व्यवसायमा लगानी गरिएको र कोभिड–१९ संक्रमणले व्यवसायी मारमा परेको भन्दै बैंक तथा वित्तीय संस्थाहरुले सहयोगी भूमिका खेल्नुपर्नेमा संघका अध्यक्ष तुलाचनले जोड दिए। उनले पर्यटनमध्ये होटल उद्योगमा खर्बौं लगानी रहेको र हजारौं श्रमिकले यस क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा रोजगारी पाएको बताए। श्रमिकसँग निर्भर परिवार तथा होटल उद्योगबाट निर्भर अन्य व्यवसायको समेत भविष्य अन्योल बनेको छ।  

संघीय सरकारद्वारा बजेटमा कोभिड–१९ प्रभावित उद्योग व्यवसायको पुनर्जागरण एवं पुनः उत्थान गर्न विशेष आर्थिक राहत प्याकेज घोषणा गर्नुपर्ने आवाज उठाइरहेका छन्। सरकारले एक खर्बको पुनर्कर्जा कोष स्थापना गरी कर्जा उपलब्ध गराउने घोषणा गरेकामा स्वागत गर्दै छिटो कार्यान्वयन गर्नतर्फ संघले जोड दिएको छ। 

प्रकाशित: २४ असार २०७७ ०३:३६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App