coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पर्यापर्यटन प्रवद्र्धनका लागि ताप्लेजुङका बिभिन्न स्थानमा बन्यो पदमार्ग र पार्क

देउराली भित्री सामुदायिक वन क्षेत्रमा बनाईएको ढुङ्गा सोलिङसहितको पदमार्ग । यो पदमार्ग जरिबुटे पर्यटकिय क्षेत्र तथा हाङ्देवाको बुङ्कुलुङबाट पाथीभराको देउराली क्षेत्र आउन–जान समेत प्रयोग हुन्छ । तस्बिर : खगेन्द्र/नागरिक

पर्यापर्यटन प्रवद्र्धनका लागि डिभिजन वन कार्यालयको सहयोगमा ताप्लेजुङका बिभिन्न स्थानमा पदमार्ग निर्माण तथा दर्शनीय स्थलहरुको विकास गरिएको छ । फुङ्लिङ नगरपालिकाको वडा नं ९ हाङ्देवास्थित देउराली भित्री सामुदायिक वन उपभोक्ता समूहको क्षेत्राधिकार भित्र पर्ने जरिबुटे क्षेत्रलाई पिकनिक स्थलको रुपमा प्रर्वद्धन गर्न पदमार्ग निर्माण तथा त्यस क्षेत्रमा रहेको पोखरीको व्यवस्थापन गरिएको छ ।  

प्रदेश सरकारमार्फत डिभिजन वन कार्यालयको ९ लाख ५० हजार तथा उपभोक्ता समूहको १ लाख ९० हजार जनश्रमदान गरी कूल ११ लाख ४० हजार रुपैयाँको लगानीमा पदमार्ग निर्माण तथा पोखरी संरक्षण तथा व्यवस्थापन कार्य सम्पन्न भएको वन उपभोक्ता समूहका सचिव पासाङ्रीता शेर्पाले जानकारी दिए । प्राकृतिक रुपले सौन्दर्यपूर्ण रहेका सो क्षेत्रलाई पिकनिक स्थलको रुपमा विकास गर्न सके वन उपभोक्ता समूहको आन्तरिक आय समेतमा बृद्धि हुने योजना सहित यो कार्यक्रम अघि बढाईएको डिभिजन वन प्रमुख वीरेन्द्र शाहले जानकारी दिए । 

सामुदायिक वन समूहको आन्तरिक आम्दानीमा बृद्धि गर्दै उपभोक्ता समूहका सदस्यहरुलाई लाभ पुग्ने दृष्टीले पर्यापर्यटन प्रवद्र्धन कार्यक्रम अघि सारिएको उनले बताए । यहिँ कार्यक्रम अन्र्तगत पाथीभरा याङ्वरक गाउँपालिकाको वडा नं २ थेचम्बुबाट वडा नं ३ तिरिङ्गेको धाप पोखरी क्षेत्रमा जाने १ हजार २ सय ५३ मिटर पदमार्ग निर्माण गरिएको छ ।

यो कार्यक्रम अन्र्तगत निर्माण भएको सबै पदमार्ग सोलिङ सहितको छ । प्राकृतिक रुपले धनी र सुबिधाले सम्पन्न बन्दै गएको धाप पोखरी क्षेत्र पिकनिक र घुमिफरका लागि मनोरम स्थलको रुपमा चिनिन्छ । पाथीभरा याङ्वरक गाउँपालिकाको केन्द्र थेचम्बुबाट तिरिङ्गे निस्कने सजिलो बाटो समेत त्यहिँ भएकोले दोहोरो फाईदालाई हेरेर लगानी गरिएको डिभिजन वन प्रमुख शाहले बताए । सिन्चेकु सामुदायिक वन उपभोक्ता समूहले उपभोक्ता समूहको १ लाख ९० हजार रुपैयाँ बराबरको जनश्रमदान सहित ११ लाख ४० हजार रुपैयाँको लगानीमा सो पदमार्ग बनाएको उपभोक्ता समिति अध्यक्ष बीरेन्द्र पौडेलले बताए । 

पिकनिक तथा भ्रमण स्थलको रुपमा विकास गरिएको धाप पोखरी क्षेत्रमै गिद्धे पहरा,धाप पोखरी पार्क तथा सानो पाथीभरा मन्दिर स्थल निर्माण गरिएको छ । धाप पोखरीबाट निकै अग्लो स्थानमा रहेको गिद्धे पहराको माथिल्लो भागबाट पाथीभरा, कुम्भकर्ण सहित वरिपरीका दृश्यहरु सजिलै नियाल्न सकिने भएकोले यो क्षेत्रमा घेरावारा तथा बिश्रामस्थल सहितका संरचना विकास गरिएको निर्माण उपभोक्ता समिति अध्यक्ष खड्गबहादुर पौडेलले बताए ।  

उपभोक्ता समूहको १ लाख ९० हजार रुपैयाँ बराबरको जनश्रमदानसहित ११ लाख ४० हजार रुपैंयाको लगानीमा सयपत्री पोखरी सामुदायिक वन उपभोक्ता समूहले निर्माण गरेको त्यहाँ सानो पाथीभरा मन्दिर,एउटा प्वालबाट पाथीभरा याङ्वरक गाउँपालिका र आसपासका क्षेत्र हेर्न सकिने पानको पात आकारको प्वाल (जसलाई स्थानीयले ‘लब होल’ भन्छन्) र गिद्धे पहरा घेराबारा तथा बिश्रामस्थल निमास्ण गरिएको छ ।‘निकै सुन्दर र आकर्षक स्थलको रुपमा विकास गर्न लगानी भएको रहेछ’निमार्ण भएका संरचनाको स्थलगत अवलोकन पछि जिल्ला वन क्षेत्र समन्वय समितिका संयोजक एवम् जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले भने ।

प्रकाशित: १५ असार २०७७ १६:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App