४ वैशाख २०८१ मंगलबार
अर्थ

प्रदेश ५ बजेट : स्थानीय तहको प्राथमिकतामा स्वास्थ्य, कृषि, पर्यटन र रोजगारी

प्रदेश  ५ का स्थानीय तहले आगामी आर्थिक बर्षमा कोभिड –१९ को महामारीबाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने लक्ष्यसहित नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन् । स्थानीय तहले आवश्यक स्वास्थ्य सुरक्षाको व्यवस्था र दीर्घकालीन रुपमा स्वास्थ्य क्षेत्रको भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट सार्वजनिक गरेका छन् ।      

यससँगै अधिकांशले कोभिड–१९ कै कारण वैदेशिक रोजगारी गुमाएर स्वदेश फर्किएका र स्वदेशमा समेत रोजगारी गुमाएका नागरिकलाई स्थानीयस्तरमै रोजगारी सिर्जनाका लागि व्यावसायिक कृषि, स्थानीयस्तरमा हुने भौतिक पूर्वाधारका काम र व्यावसायिक क्षेत्रमा अवसरका लागि कार्यक्रम सार्वजनिक गरेका छन् ।      

नेपालगन्जबाट व्यावसायिक करमा छुट 

औद्योगिक नगरीको केन्द्रका रुपमा विकास हुँदै गएको बाँकेको एक मात्र उपमहानगर नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷७८ का लागि  एक अर्ब ४७ करोड ९६ लाख ५४ हजार ७६० को बजेट प्रस्तुत गरेको छ । नगर प्रमुख डा धवलशमशेर राणाको अध्यक्षतामा बसेको नगरसभामा उपप्रमुख उमा थापा मगरले चालु खर्चतर्पm  २४ करोड तीन लाख, पुँजीगत खर्चतर्फ एक अर्ब २० करोड र वित्तीय व्यवस्थातर्पm  तीन करोड १० लाखको बजेट प्रस्तुत गरेका छन् ।    

बजेटमा आन्तरिक राजस्वको दायरा बढाई आन्तरिक स्रोत वृद्धि गर्ने कार्यक्रमलाई अभियानकै रुपमा लिई कार्यान्वयन गर्न अपरिहार्य रहेकामा जोड दिइएको छ । यसैगरी कोभिड—१९ पछिको लकडाउनका कारण सबैभन्दा बढी प्रभावित होटल, रेष्टुरेन्ट, क्यासिनो, ब्युटीपार्लरलगायत व्यवसायलाई करमा छुट दिइने उल्लेख छ । कोरोना महामारीकै कारण स्वदेश फर्केका युवाका लागि रोजगारी सिर्जना गरी आर्थिक रुपमा आत्मनिर्भर बनाउन उनीहरुले चाहेको व्यवसायमा लाग्ने करमा २५ प्रतिशत छुट दिइने प्रस्ताव गरिएको उपप्रमुख मगरले बताए ।

यसैगरी, बाँकेको नरैनापुर गाउँपालिकाले रु ५५ करोडको बजेट ल्याएको छ । चौथो गाउँसभा बैठकमा गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले आर्थिक वर्ष ७७÷७८ का लागि रु ५५ करोड २८ लाख २३ हजार ३६० को बजेट प्रस्तुत गरेका छन् ।

जिल्लाका कोहलपुर नगरपालिका तथा खजुरा, जानकी, बैजनाथ, राप्तीसोनारी, डुडुवा गाउँपालिकाले पनि बजेट प्रस्तुत गरेका छन् । ती सबै स्थानीय तहले कोरोना महामारी नियन्त्रण, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योग, पूर्वाधार र रोजगारीलाई बजेटको प्राथमिकतामा राखेका छन् । छलफलपछि बजेट पारित गरिने जनाइएको छ ।      

सिद्धार्थनगर पूर्वाधार, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित      

 शाक्यमुनि गौतम बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार रहेको रुपन्देहीको सिद्धार्थनगरले आगामी आर्थिक वर्षमा पूर्वाधार विकास, पर्यटन, स्वास्थ्य, शिक्षा र कृषिमा केन्द्रित बजेट सार्वजनिक गरेको छ । नगर उपप्रमुख उमा काफ्लेले बुधबारको नगरसभामा कुल  ९५ करोड नौ लाख ६६ हजार बराबरको बजेट सार्वजनिक गरे । उनले कुल बजेटको चालुतर्फ ५८ प्रतिशत र पुँजीगततर्फ ४२ प्रतिशत खर्च प्रस्ताव गरेका छन् । उक्त रकम चालु आर्थिक वर्षको बजेटभन्दा  २३ करोड ९८ लाखले कम हो ।      

नगर प्रमुख हरिप्रसाद अधिकारीको अध्यक्षतामा सम्पन्न नगरसभामा उपप्रमुख काफ्लेले आन्तरिक आयस्रोत  १६ करोड, राजस्व बाँडफाँटबाट  १३ करोड ७४ लाख ७७ हजार, लागत सहभागिताबाट  २० लाख, संघ, प्रदेश र दातृनिकायबाट रु ५८ करोड ६ लाख १५ हजार प्राप्त हुने बताए ।

पाल्पाको बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड      

स्थानीय तहले आर्थिक वर्ष २०७७।०७८ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । नगर तथा गाउँसभाबाट पारित बजेटमा स्वास्थ्य, शिक्षा, कृषि उत्पादनप्रति जोड दिइएको छ ।      

तानसेन नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७।०७८ का लागि रु एक अर्ब १२ करोड ८९ लाख ६० हजार बराबरको बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । यो रकम चालु वर्षको तुलनामा रु ७७ लाखले बढी हो । नगर प्रमुख अशोककुमार शाहीले सातौँ नगरसभामा पूँजीगततर्फ रु ४६ करोड १४ लाख ३५ हजार (कुल बजेटको ४१ प्रतिशत) र चालुतर्फ रु ६६ करोड ७५ लाख २५ हजार रुपियाँ (कुल बजेटको ५९ प्रतिशत) बजेट रहेको बताए ।

यस्तै रिब्दीकोट गाउँपालिकाले आर्थिक वर्ष २०७७।७८ का लागि रु ४९ करोड ८३ लाखको बजेट विनियोजन गरेको छ । गाउँपालिकाले कृषिमा रु तीन करोड ८७ लाख ५० हजार, शिक्षामा  १५ करोड ९१ लाख, स्वास्थ्यमा  पाँच करोड, ६३ लाख, सडक तथा पूर्वाधार विकासमा  पाँच करोड ३० लाख बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष नारायण जिसीले बताए  

बगनासकाली गाउँपालिकाको सातौंँ गाउँसभाले आगामी आर्थिक वर्षका लागि ४५ करोड चार लाख ६६ हजार २७४ को बजेट विनियोजन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुन्दर श्रेष्ठले बताए । आगामी वर्षका लागि आर्थिक विकास क्षेत्रमा  एक करोड १३ लाख, सामाजिक विकासमा  तीन करोड १६ लाख र पूर्वाधार निर्माणमा ६ करोड ६० लाख बजेट गाउँसभाबाट विनियोजन भएको श्रेष्ठले बताए ।

यस्तै रुपन्देहीको सीमासँग जोडिएको तिनाउ गाउँपालिकाले आगामी आवका लागि ५० करोड ९९ लाख ७७ हजार बराबरको बजेट विनियोजन गरेको छ । गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीले आगामी वर्ष पूर्वाधार निर्माणका क्षेत्र प्राथमिकतामा रहेको जानकारी दिए ।

रामपुरको प्राथमिकतामा कृषि र स्वास्थ्य  

पाल्पाको रामपुर नगरपालिकाले बुधबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, स्थानीय उत्पादन, उद्योग, व्यवसाय विस्तारलाई जोड दिएको छ । उक्त नगरपालिकाले एक वडा एक उत्पादन, एक घर एक रोजगार, नागरिकको जीवनस्तर उकास्न कृषि तथा पशुपक्षी उत्पादनमा जोड, बाँझो जमीनमा तरकारी खेती, दूध मासु र अण्डा उत्पादन बृद्धि गरी कृषकलाई प्रोत्साहनमूलक कार्यक्रम ल्याएको नगर प्रमुख रमणबहादुर थापाले बताए । रोजगारीका निम्ति विदेश जाने युवालाई गाउँमै कृषि रोजगारी सिर्जना गराउने र कृषि उत्पादनको बजारीकरण गर्ने जिम्मा नगरपालिकाले लिनेछ ।      

पर्यटकीय क्षेत्र विकास गर्न नगरका वडा नं ७ को बाहुनडाँडा र १० को मगरेमा व्यावसायिक प्याराग्लाइडिङ उडान, कालीगण्डकीमा निजी क्षेत्रको सहकार्यमा जलयात्रा सञ्चालन, राम्चेवन सीताकुण्ड क्षेत्रमा पदयात्रा सञ्चालन जस्ता पर्यटकीय तथा धार्मिक क्षेत्र विकासका कार्यक्रम समेटिएको छ । यस्तै माथागढी गाउँपालिकाको सातौंँ गाउँसभाले कृषितर्फ सामुदायिक बीउ बैंक तथा कृषि उपज भण्डारका लागि शीतभण्डार निर्माण, व्यावसायिक कृषिबाट कृषकलाई आत्मनिर्भर बनाउने, नश्ल सुधार जस्ता कार्यक्रम समेटिएको बजेट ल्याएको छ । रम्भा र निस्दी गाउँपालिकाले पनि नागरिकको आयस्तर वृद्धि गर्न कृषि उत्पादनमूलक कार्यक्रममा जोड दिएका छन् ।      

महाराजगन्ज समृद्ध नगर, खुशी नगरवासी      

 समृद्ध नगर, खुशी नगरवासीको आकाङ्क्षा पूरा गर्न महामारीका कारण समग्र अर्थतन्त्र र सामाजिक, आर्थिक अवस्थामा परेको प्रतिकूलतासँग जुध्ने आधारसहित  महाराजगन्ज नगरपालिकाकाले नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ ।    नगर प्रमुख अब्दुल कलामले नगरवासीको जीवन रक्षा र पालिकाको आर्थिक सामाजिक विकासका लागि नीति तथा कार्यक्रममा विशेष जोड दिइएको बताए ।

ऐरावतीको नीति र बजेट पारित      

प्युठानको ऐरावती गाउँपालिकाले आर्थिक वर्ष ०७७÷०७८ का लागि सातौं गाउँसभामार्फत पेश गरेको रु ५१ करोड ८२ लाख ७० हजार बजेट सभाले सर्वसम्मत रुपले पारित गरेको छ । यही असार ५ गते नीति तथा कार्यक्रमसँगै पेश गरिएको बजेट बुधबार सर्वसम्मत रुपमा पारित भएको हो ।      

सभाले कृषि, शिक्षा, स्वास्थ्य, भवन तथा सडक पूर्वाधार, खानेपानीलगायतलाई प्रमुख प्राथमिकतामा राखी बजेट विनियोजन गरेको उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए ।     

 बर्दियाको मधुवन नगरपालिकाले आर्थिक वर्ष २०७७।०७८ का लागि करीब रु ७४ करोड ७२ लाखको बजेट सार्वजनिक गरेको छ । नगरपालिकाको छैटौँ नगरसभामा बुधबार नगरप्रमुख गणेशबहादुर क्षेत्रीले सार्वजनिक गर्नुभएको बजेटमा चालुतर्फ  नौ करोड, पुँजीगततर्फ  २१ करोड १९ लाख २२ हजार ५९२ र वित्त व्यवस्थापनतर्फ  पाँच लाख विनियोजन गरिएको छ ।     नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रममा कृषि, पर्यटन र उद्योगमा जोड दिएको छ ।     

प्रकाशित: ११ असार २०७७ ०५:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App