१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

माछापुच्छ्रे को बजेट ६२ करोड ६७ लाख

कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि करिब ६३ करोडको बजेट प्रस्तुत गरेको छ । माछापुच्छ्रे गाउँपालिकाको छैटौं गाउँसभामा बुधबार उपाध्यक्ष कृष्णकुमारी पौडेल दवाडीले ६२ करोड ६७ लाख ६९ हजार दुई सय ८० रुपैयाँको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट अघिल्लो वर्षको बजेट भन्दा झन्डै आठ करोड ६७ लाखले कम हो । चालु आर्थिक वर्षका लागि माछापुच्छ्रे गाउँपालिकाले ७१ करोड ६७ लाख ६९ हजार दुई सय ९० रुपैयाँको संसोधित व्यय अनुमान गरेको छ ।

अनुमानित बजेट मध्ये माछापुच्छ्रे गाउँपालिकाले पुँजीगततर्फ ५५।०२ प्रतिशत अर्थात ३४ करोड ४८ लाख ५९ हजार दुई सय ९० र चालुतर्फ ४४।९८ प्रतिशत अर्थात २८ करोड १९ लाख २० हजार चार सय विनियोजन गरिएको छ । माछापुच्छ्रे गाउँपालिकाले पुँजीगतर्फको बजेटमध्ये पूर्वाधारतर्फ २३ करोड ५४ लाख ७२ हजार, सामाजिक विकासतर्फ चार करोड ७० लाख ४६ हजार आठ सय, आर्थिक विकासतर्फ तीन करोड पाँच लाख ८० हजार, वातावरण संरक्षण तथा विपद व्यवस्थापनतर्फ दुई करोड १५ लाख ५० हजार र सुशासन, संस्थागत विकास तथा सेवा प्रवाहका लागि एक करोड दुई लाख विनियोजन गरिएको छ ।

अनुमानित बजेट मध्ये आन्तरिक स्रोतबाट तीन करोड २६ लाख २० हजार, संघीय सरकारको वित्तिय समानीकरण अनुदानतर्फ नौ करोड ४० लाख, संघीय सरकारको राजस्व बाँडफाँडबाट आठ करोड ६८ लाख ८४ हजार, संघीय सरकारको ससर्त अनुदान २२ करोड ९९ लाख, विशेष अनुदानबाट एक करोड ३३ लाख, समपुरक अनुदानतर्फ चार करोड ६५ लाख प्राप्त हुने जनाइएको छ ।

यसैगरी प्रदेश सरकारको वित्तिय समानीकरणतर्फ एक करोड २१ लाख ६७ हजार, राजस्व बाँडफाँडबाट ३३ लाख ९८ हजार, समपूरक अनुदानतर्फ एक करोड ५० लाख, ससर्त अनुदानतर्फ ३० लाख, सामाजिक सुरक्षातर्फ ११ करोड ८१ लाख प्राप्त हुने उल्लेख छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा खर्च हुन नसकी मौज्दात रहने नौ करोडपनि बजेट पूर्तिका लागि जोडिएको छ ।

माछापुच्छ्रे गाउँपालिकाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारसँगै संकटग्रस्त अर्थतन्त्रलाई चलायमान र गतिशील बनाउन लागि एक करोड ५० लाख विनियोजन गरेको छ । स्वास्थ्यसँगै गाउँपालिकाले पूर्वाधारमा बढी जोड दिएको छ । पूर्वाधार निर्माणमा सडक निर्माण, मर्मत सम्भारदेखि सिंचाई, एक घर एक धारा खानेपानी योजना, गाउँपालिका भवन, वडा कार्यालय भवनदेखि आमा समूहको भवन निर्माणसम्म, खेलकुद मैदानदेखि विद्यालय कक्षा कोठा भवन निर्माणसम्मलाई समेटिएको छ ।

गाउँपालिकाले मासु र दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने, गाउँपालिकाको रणनीति चक्रपथ निर्माण, लैंगिक हिंसा, जातिय छुवाछुत, कुरिती र कुसंस्कारलाई पूर्ण रुपमा निशेध गर्ने नीति अवलम्वन गर्ने जनाएको छ । साथै उसले ‘उपाध्यक्षसँग गर्भवती महिला’ कार्यक्रम सञ्चालन गर्ने, १५ शैयाको अस्पताल निर्माण गर्ने, सरकारबाट तलव, भत्ता र सेवा सुविधा लिने जनप्रतिनिधि, शिक्षक, कर्मचारीहरुका छोराछोरीलाई सामुदायिक विद्यालयमा अध्ययन गर्न उत्प्रेरित गर्ने नीतिपनि अवलम्वन गर्ने गाउँपालिका अध्यक्ष कर्णबहादुर गुरुङले बताए ।

प्रकाशित: १० असार २०७७ १२:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App