१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

तीन महिनासम्म राजस्व संकलन शुन्य

रसुवागढी नाका । तस्बिर : हिमनाथ/नागरिक

विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण रसुवागढी नाका गएको माघ १५ गतेदेखि बन्द छ । त्यसयता नाकामा कारोबार भएको छैन । नाका खोल्नका लागि व्यापारी तथा व्यवसायी पहल थालेका छन् । तर नाका कहिलेबाट खुल्छ भन्ने अझै निश्चित भएको छैन ।  

रसुवा भन्सार कार्यालयका अनुसार चैत यता राजस्व संकलन शुन्य छ । फागुन महिनामा थोरै राजस्व संकलन गरेको भएपनि त्यसयता राजस्व संकलन भएको छैन । फागुन अन्तिमसम्ममा कार्यालयले वार्षिक लक्ष्यको ८५ प्रतिशत राजस्व उठाएको थियो ।  

कार्यालयले जेठ अन्तिमसम्ममा ८ अर्ब ८८ करोड राजस्व उठाउने लक्ष्य राखेको थियो । तर कार्यालयले हालसम्म ७ अर्ब ९८ करोड ४७ लाख मात्र राजस्व असुली गरेको छ । यो पनि चैत अगाडि नै उठेको हो । माघ महिना भन्दा अगाडि राजस्व संकलन भएअनुसार नाकामा नियमित कारोबार भइरहेको भए अहिलेसम्म वार्षिक लक्ष्य पूरा भइसक्ने देखिन्छ ।  

रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत पुण्यबिक्रम खड्काले अबको केही दिनमा नाका खुल्ने सम्भावना रहेको बताए । यो वर्ष ९ अर्ब ३५ करोड ७८ लाख ३३ हजार रुपयाँ राजस्व उठाउने लक्ष्य राखेको छ । गत आर्थिक वर्षमा ९ अर्ब ५० करोड ६२ लाख ६२ हजार रुपयाँ राजस्व संकलन गर्ने वार्षिक लक्ष्य राखिएकोमा १० अर्ब ६० करोड २४ लाख १९ हजार रुपयाँ राजस्व संकलन भएको थियो ।  

आर्थिक वर्ष २०७२÷७३ मा २ अर्ब ४ करोड ४६ लाख ८७ हजार ७ सय ४४, आर्थिक वर्ष २०७३/७४ मा २ अर्ब ९२ करोड १८ लाख २ हजार, आथिर्क वर्ष २०७४÷७५ मा ४ अर्ब ५९ करोड २३ लाख १९ हजार राजस्व उठेको कार्यालयको तथ्यांक छ ।  

चीनबाट रेडिमेट, इलेक्ट्रोनिक, जलविद्युत् आयोजनाका सामग्री, फलफूल र टेलिकमका सामग्री आयात हुँदै आएको छ । त्यसैगरी नेपालबाट बाँसको मुडा, काठको टेबल, अम्रिसोको कुचो लगायतको सामग्री चीनतर्फ निर्यात हुने गरेको छ ।  

२०७१ सालदेखि औपचारिक रुपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए । विश्वव्यापी फैलिएको कोरोना भाइरसको जोखिमलाई न्यूनीकरण गर्न गएको माघ १५ गतेदेखि नाका पूर्ण रूपमा बन्द गरिएको छ ।

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेपछि सीमामा व्यापारी, व्यवसायी र सवारीको चाप बढ्दै गएको थियो । रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ ।

गएको फागुन अन्तिमसम्म केरुङमा बसिरहेका तथा केरुङको व्यवसाय सञ्चालन गर्ने व्यक्ति जाने तथा आउने गरेका थिए ।

प्रकाशित: ३ असार २०७७ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App