१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बाटो बनाउँदै पैसा बुझ्दै

कोरोनाबाट जनतामा परेको समस्या समाधान गर्न जुनिचाँदे गाउँपालिकाले काम गरेर जीविकोपार्जन गर्न विभिन्न योजना बनाएर रोजगारी दिएको छ। समय अपुग भएकैले ठूला आयोजना निर्माण गर्न मुस्किल पर्ने भएपछि गाउँपालिकाले १४ साना योजना बनाएर स्थानीयवासीलाई काम दिइ रोजगारी उपलब्ध गराएको हो।  

गाउँपालिकाको वडा नं १ देखि ६ सम्म स्थानीयवासीले काम गर्ने गरी  छनोट  भएका योजनामा काम शुरु भएको प्रमुख प्रशासकीय अधिकृत सर्वदल शाहीले जानकारी दिए। काम गरेवापत दैनिक गाउँपालिकाले ५०० रुपैयाँ दिने गरेको छ। गाउँपालिकाको वडा नं १ बडकुलेमा तैयाबाट एक्लेसल्लाहसम्मको घोडेटो बाटो निर्माण जारी छ। सो बाटोमा दुई लाख ४३ हजार रुपैयाँ विनियोजन भई ६८ जनाले काम गरिरहेका छन्। वडा नं १ मै चाँखाबाट चिसापानीसम्मको घोडेटो बाटो निर्माणका लागि एक लाख ९६ हजार रुपैयाँमा ५५ जनाले रोजगारी पाएका छन्। बिराखोलाबाट भगवती प्रावि घोडेटो बाटो निर्माणका लागि दुई लाख १४ हजार ५०० रुपैयाँ रकममा ६० युवाले रोजगारी पाएका छन्।

वडा नं २ को आलिचौर ओडारबाट जर्पासम्मको घोडेटो बाटो निर्माणमा दुई लाख ७५ हजार रुपैयाँमा ५८ जनाले काम गरिरहेका छन्। वडा नं २ कै जन्तरेबाट मौगानसम्म घोडेटो बाटो बनाउन एक लाख ५० हजार रुपैयाँ रकम विनियोजन भई ४२ युवायुवती काममा खटिएका छन्। वडा नं २ कै भैरव माविबाट फावरवयाँसम्मको एक लाख ४६ हजार ५०० रुपैयाँमा घोडेटो बाटो बनाउन ४१ जनाले रोजगारी पाएका छन्।

त्यस्तै वडा नं ४ को जापाबाट गुमाउरो बाटोसम्म घोडेटो बाटो निर्माण जारी छ। सो बाटोमा एक लाख ७२ रुपैयाँमा दिने गरी ४८ जनालाई  परिचालन गरिएको छ। जुनिचाँदे–४ मा मालिका प्रावि फिल्ड बनाउन एक लाख ५० हजार रुपैयाँ विनियोजन गरी ४२ जनाले काम गरिरहेका छन्।

 खुदबाट खालटाकुरासम्मको घोडेटो बाटो निर्माण गर्न ४३ युवायुवती परिचालित छन्। सो बाटोका लागि एक लाख ५३ हजार रुपैयाँ विनियोजन गरिएको छ। जुनिचाँदे–५ स्थित जिउलाबाट बाइपाटासम्म घाडेटो बाटो बनाउन पाँच लाख ६५ हजार विनियोजन भई १५८ जनाले रोगगारी पाएका छन्।  वडा नं ५ कै हाँकुबाट गर्खाकोटसम्मको घोडेटो बाटो बनाउन चार लाख १८ हजार रुपैयाँ विनियोजन भई ११७ जनाले रोजगारी पाएका छन्। मानिमाला–रियाना–नारे–मौका इप्रका घोडेटो बाटो जुनिचाँदे–५ मा निर्माण गर्न ८६ युवा परिचालन गरिएको छ। त्यसको लागि तीन लाख ७० हजार रुपैयाँ रकम विनियोजन भएको छ।

 वडा नं ६ को कसारेखोलाबाट तुम्ला सिगारसम्म घोडेटो बाटो निर्माण गर्न दुई लाख ७९ हजार रुपैयाँ रकममा ७८ जनाले काम गरिरहेको गाउँपालिकाले जनाएको छ। वडा नं ६ को चौताराबाट फेदीसम्मको घोडेटो बाटो बनाउन दुई लाख ३० हजार रुपैयाँमा ५६ स्थानीयवासीले रोजगारी पाएको गाउँपालिकाका निमित्त अध्यक्ष शिवा आचार्य (बस्नेत) ले बताए। गाउँका बेरोजगारलाई रोजगारी दिन यो कार्य गरिएको उनले बताए। क्वारेन्टिनमा बसेर घर फर्केका, विदेशबाट कामविहीन भएर घर फर्केकालाई यस्ता काममा सहभागी गराएको आचार्यले बताए।

प्रकाशित: ३१ जेष्ठ २०७७ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App