‘एक वडा एक महिला कृषि सहकारी’ स्थापनाको काम सुरु गरेको खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले कृषि सहकारीमा आवद्ध महिलाका लागि सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि तालिम सुरु गरेको छ ।
कृषि सहकारीमार्फत महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ हरेक वडामा महिला कृषि सहकारी स्थापनामा जुटेको नगरपालिकाले हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी कृषि महिला सहकारी संस्थामा आवद्ध महिलालाई सहभागी गराएर सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि सम्बन्धी चार दिने अभिमुखीकरण सुरु गरेको हो । सहकारी व्यवस्थापन र क्षमता अभिवृद्धि सम्वन्धी अभिमुखीकरण तालिम शुक्रबार नगरपालिकाका उपमेयर बिमला राईले उद्घाटन गरेकी हुन् ।
महादेवस्थानका महिलाले कृषि सहकारी दर्ता गरिसकेपछि सहकारी सञ्चालन तथा व्यवस्थापन, संस्थागत विकास, क्षमता बिकास, आयआर्जन, बचत तथा लेखा व्यवस्थापन सम्वन्धी क्षमता अभिवृद्धिका लागि अभिमुखीकरण तालिमको आयोजना गरिएको हो । हालसम्म ९ लाख बचत गरिसकेको सो सहकारीले ६ लाख लगानी गरिसकेको छ । सहकारीमा महादेवस्थानका १६५ महिला आवद्ध छन् । हलेसी कृषि महिला सहकारी संस्थाले भवन निर्माणका लागि जग्गा समेत जुटाइसकेको जनाएको छ । सो सहकारीको भवन निर्माणको काम चालु आर्थिक वर्षबाटै हुने उपमेयर राईले बताईन् ।
तरकारी खेती, फूल खेती, सिन्के धुप उत्पादन, व्यापार व्यवसाय लगायतका उद्यम सञ्चालन गर्न प्रोत्साहित गर्ने र उद्यम सम्वन्धी कामबाट आएको आम्दानीलाई बचत गर्दै महिलालाई आर्थिकरुपमा आत्मनिर्भर बनाउनका लागि नगरपालिकाले चालु आर्थिक वर्ष २०७६/०७७ बाट वडा–वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाएको हो । हालसम्म हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार र हलेसी तुवाचुङ नगरपालिका–६ मंगलटारमा पनि महिला कृषि सहकारी दर्ता भइसकेको छ । ११ वडा रहेको नगरपालिकामा क्रमशः हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवा, हलेसी तुवाचुङ नगरपालिका–४ बडहरे, हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले लगायतका वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइसकिएको छ ।
आवश्यक परे सहकारी स्थापनाका लागि नगरपालिकाकातर्फबाट बीउ पुँजी पनि उपलव्ध गराइने उपमेयर राईले बताईन् । ‘महिलालाई संगठिन गर्दै व्यापार व्यवसायमा संलग्न गराउने र त्यसबाट आउने आम्दानीलाई बचत गर्दै उत्पादनमुलक ठाउँमा खर्च गर्ने वानीको बिकास गर्ने हाम्रो लक्ष्य हो,’ उपमेयर राईले भनिन्, ‘यसबाट नगरपालिकाका महिला आर्थिकरुपमा आत्मनिर्भर बन्ने अपेक्षा गरिएको छ ।’
‘एक सहकारी एक उत्पादन’ निती अन्तरगत च्यास्मीटारका महिलालाई व्यापार व्यवसाय, बहडरेका महिलालाई सिन्के धुप उत्पादन, हलेसीका महिलालाई फूल, तरकारी र ढाका बुनाई सम्वन्धी व्यवसायमा संलग्न गराउने नगरपालिकाको तयारी छ । विभिन्न वडाका महिलाले उत्पादन गरेको थोकवस्तु बिक्री वितरणका लागि कोसेसी घर वा संकलन केन्द्र सञ्चालन गरिने उपमेयर राईले बताईन् । व्यवसाय सञ्चालनका लागि महिलालाई सम्बन्धित व्यवसायका विषयमा सीपमुलक तालिमको व्यवस्था गरिएको छ । नगरपालिकाको निती अनुशार नै वडा–वडामा महिला कृषि सहकारी स्थापनाको काम अघि बढाइएको हो ।
प्रकाशित: ३० जेष्ठ २०७७ १६:४१ शुक्रबार